अस्ट्रेलियाको रोजगारीमा ४० नेपाली फुटबलर

थोरै फुटबलर विद्यार्थी, केही डिपेन्डेन्टमा र धेरैजसो क्लबहरूले बोलाएपछि टुरिस्ट भिसामा

अस्ट्रेलिया — मध्यरात हुनैलाग्दा एक पटक फुटबल प्रशिक्षक मेघराज केसीले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, ‘नेपालका सबैभन्दा उत्कृष्ट गोलरक्षक एलन न्यौपाने हुन् ।’ यो ठीक तीन वर्षअघिको प्रसंग हो, त्यसको केही समयपछि नै नेपाल र च्यासल युथ क्लबबाट खेल्दै गरेका एलन अस्ट्रेलिया लागेका थिए । 

अस्ट्रेलियाको रोजगारीमा ४० नेपाली फुटबलर

एक दशक नेपाली राष्ट्रिय टोलीको गोलपोस्टमा किरण चेम्जोङको दबदबा छ, जसका कारण अन्य राम्रा गोलरक्षकले पनि विरलै मौका पाएका छन् । नेपाली टोलीको बेन्च राम्रैसँग तताएका एलन एकाएक विदेशिएका थिए । उनीसहित विकेश कुथुले नेपाली टोलीको पहिलो रोजाइको गोलरक्षक बन्न किरणसँग ठूलो प्रतिस्पर्धा गरेका थिए ।

मार्च दोस्रो साता उनै एलनसँग मेलबर्नमा भेट्ने अवसर जुर्‍यो । डेरेबिन इन्टरनेसनल स्पोर्टस् सेन्टरमा यती एफसीले आयोजना गरेको १२ औं कँडेल कन्सेल्टेन्सी कप फुटबल प्रतियोगितामा । पछिल्लो समय नेपालबाट आएका राष्ट्रियस्तरका ४० भन्दा बढी खेलाडी नेपाली समुदायका क्लबबीच भइरहेको यो प्रतियोगितामा खेलिरहेका थिए । नेपाली खेलाडी मेलबर्नको उक्त प्रतियोगिता खेल्ने क्रममा जम्मा हुँदा पहिलो पटक राष्ट्रिय टोली सम्हाल्न कुनै विदेशी प्रशिक्षक आउँदा तीन दर्जनभन्दा बढी खेलाडी बन्द प्रशिक्षणमा डाकिएजस्तै माहोल झल्कन्थ्यो ।

नेपाली फुटबल संरचना

गोर्खा नेप्लिज कम्युनिटी (जीएनसी) ले अस्ट्रेलियन–नेप्लिज फुटबल एसोसिएसन (एन्फा) सँग मिलेर नेपालीका क्लब र खेलाडीबीच लिग सञ्चालन गर्दै आएको छ । सिड्नीमा अहिले जारी जीएनसी लिग २४ औं संस्करण हो । यसमा हालै नेपालबाट आएका धेरै खेलाडीले खेलिरहेका छन् ।

जीएनसी लिगको प्रिमियरमा १२ र माइनरमा १० टिम छन् । प्रिमियरको पुछारका ३ टिम रेलिगेसनमा पर्नेछन् भने माइनरको शीर्ष तीन टोली प्रिमियरमा उक्लने छ । १२ साता लिगका खेलहरू भएपछि सेमिफाइनल र फाइनल हुनेछ । त्यस्तै भेट्रान लिगमा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । अस्ट्रेलिया एन्फामा एक हजार जनाजति १० डलर शुल्क तिरेर सदस्यता लिएका खेलाडी र पदाधिकारी छन् । सिड्नीको चेस्टर हिलस्थित नर्थ फोर्डको दुई मैदानमा प्रत्येक आइतबार बिहानदेखि बेलुकासम्म सबै टोलीले आ–आफ्नो लिग खेल खेल्छन् । शुक्रबार क्याम्प्सीको टास्कर पार्कमा साँझ ६ बजेपछि बेनी एफसीको प्रशिक्षण चलिरहेको थियो । आइतबार डाँफे एफसीमाथि ३–२ को विजय हात पार्दै बेनीले शीर्षस्थानको फेवा एफसीमाथि दबाब बनाइरहेको थियो । शुक्रबार र शनिबार प्रशिक्षण गर्ने, आइतबार लिग खेल्ने र बाँकी ५ दिन रोजगारी गर्ने यहाँको दैनिकीजस्तै छ ।

अस्ट्रेलियाको सिड्नीस्थित टस्कर पार्कमा फुटबल अभ्यास गर्दै नेपाली खेलाडी (माथि) र बेनी एफसीका अध्यक्ष सुशन श्रेष्ठका साथमा खेलाडीहरू सुमन अर्याल, विशाल राई, अभिषेक रिजाल र हेमन गुरुङ । तस्बिर : कान्तिपुर

लिगमा खेल्ने खेलाडी अस्ट्रेलियन एन्फामा दर्ता हुनुपर्ने प्रावधान छ । नेपालको राष्ट्रिय टोली र ‘ए’ डिभिजन खेलिसकेका खेलाडीको हकमा एउटा टोलीबाट मैदानमा ३ जनामात्र खेलाउन पाउँछन् । क्लबले त्योभन्दा बढी पनि दर्ता गर्न पाउने प्रावधान राखेको छ । अस्ट्रेलियामा आएर ३ वर्ष खेलिसकेका नेपाली खेलाडीले भने जीएनसी लिगमा सोझै खेल्न पाउने नियम छ । लिगमा प्रतिस्पर्धा गरिरहेको बेनी एफसीमा अभिषेक रिजाल, विशाल राई, रञ्जन विष्ट, नितिन थापा, हेमन गुरुङ, सुमन अर्याल लगायतका खेलाडी छन् ।

बेनीले ल्याएको अस्ट्रेलिया आउने पछिल्ला दुई नेपाली राष्ट्रिय टोलीका फुटबलर सुजल श्रेष्ठ र रजिन धिमाल हुन् । टोलीमा पर्याप्त खेलाडी भएपछि बेनीले सुजल र रजिनलाई तीन खेलका लागि लोनमा ग्रानभिल राइनोजमा पठाएको छ । मेलबर्नमा यती एफसी, युनाइटेड एफसी र रोयल वेस्टर्न गरी मुख्य ३ क्लब र अन्य ७ जम्दै गरेका टिम छन् । तर, नेपाली समुदायबीचको लिग छैन । पहिला मेलबर्नमा पनि जीएनसी लिग हुन्थ्यो । त्यो बन्द भएको ४ वर्ष भयो । मेलबर्नका नेपाली क्लबहरू चाइनिज लिग खेल्छन् । मेलबर्न चाइनिज सकर एसोसिएसनले गर्ने चाइनिज लिगमा यती, युनाइटेड, हिमालयन टाइगर, हिमालयन एफसी, रोयल एफसी, क्रेगिभन एफसी, इस्टर्न वारियरले खेल्छन् । ‘मेलबर्नमा आएका नेपाली खेलाडीहरू ७–८ जना चाइनिज लिग खेल्दैन, उनीहरू अस्ट्रेलियाको ए लिग खेल्छन् । खेलाडीले आफ्नो पारिश्रमिक तोकेर खेल्छन्,’ यती एफसीका उपाध्यक्ष सज्जन शर्माले भने, ‘हामीले त्यही भएर प्रान्तीय लिगका लागि प्रयास गरिरहेका छौं ।’

मेलबर्नको प्रान्तीय लिगमा एलन न्यौपाने, आशिष लामा, सुमन लामा, दिनेश राजवंशी, अभियान प्रधान, सुलभ मास्के, सन्तोष तामाङ, दर्शन गुरुङ, शिव गुरुङले खेलिरहेका छन् । रोयल वेस्टर्नले गत वर्षदेखि एक्सपर्ट कप सुरु गरेको थियो । अहिले दोस्रो संस्करण आयोजना गर्ने क्रममा छ । रोयल एफसीले यसै वर्षदेखि रोयल कप सुरु गरेको छ । यी दुवै प्रतियोगिता मेलबर्न भित्रका हुन् ।

पहिला यती र युनाइटेडबीच घमासान प्रतिस्पर्धा हुन्थ्यो । अहिले रोयल वेस्टर्नले एकैपटक १० जना नेपालको ‘ए’ डिभिजन खेलिसकेको खेलाडी ल्याएर मेलबर्नमा आफूलाई बलियो देखाउन खोजिरहेको छ । पहिलादेखि नै बलियो टोली यती एफसीले सन् २०१३ मा पोखरा गएर आहा गोल्डकप खेलेको थियो । एउटा समुदायमा केन्द्रित लिग भएकाले नेपालबाट खेलाडी ल्याएर केही हुँदैन भन्नेमा केही क्लब देखिन्छन् ।

यती च्याम्पियनसिपको नामले चिनिने कँडेल कन्सल्टेन्सी कप दुई दिन चलेको थियो । यती र फेवा एफसीले फाइनलसम्म पुग्दा शनिबार र आइतबार ३–३ खेल खेलेका थिए । प्रत्येक खेल ३० मिनेटको हुन्छ । निर्धारित समयमा कुनै खेल नभए ३–३ को पेनाल्टी सुटआउट हुन्छ । त्यसमा कुनै टुंगो नलागे सडनडेथ सुरु हुन्छ ।

दक्षिण अस्ट्रेलियामा एक दशकदेखि हरेक वर्ष दसैं कप आयोजना गर्दै आएको छ एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी) ले । यहाँको राज्यस्तरको तेस्रो डिभिजन खेल्ने यस क्लबमा अहिलेसम्म आधिकारिक रूपमा कुनै नेपाली राष्ट्रिय खेलाडी भित्रिनसकेको भए पनि यसले दक्षिण अस्ट्रेलियामा नेपाली फुटबललाई राम्रैसँग चिनाइरहेको छ । अर्कोतिर यस क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताले अन्य राज्यमा रहेका नेपाली टिमलाई प्रतियोगिताका लागि अवसर सिर्जना गर्ने गरेको छ ।

जे गर्दै छन् खेलाडी

सञ्चारमाध्यमका खबर हेरेर मात्र नेपाली राष्ट्रिय टोलीका फुटबलर अस्ट्रेलिया आउन लागेको आफूहरूले थाहा पाउन लागेको यहाँका नेपाली फुटबल पदाधिकारी बताउँछन् । ‘अस्ट्रेलियामा भइरहेको नेपाली समुदायको फुटबल लिग वा अन्य प्रतियोगिता नै खेल्न आएको भन्ने स्पष्ट छैन,’ अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन (एन्फा) का अध्यक्ष विजेन बटाजु र महासचिव विजय राउत एकै स्वरमा भन्छन् ।

‘निश्चय पनि धेरैले अवसर हेरेर आफ्नो जीवन सुरक्षित बनाउन आएका हुन्छन् । त्यो राम्रो पनि हो । खेलाडीलाई यहाँ राम्रो प्लेटफर्म छ, राम्रो र अनुशासित खेल्नेले मौका पाइरहेका छन्,’ बटाजुले भने, ‘नेपाली खेलाडी समुदायभन्दा माथि गएर खेल्नुपर्छ भनेर हामीले सिड्नी एभरेस्ट एफसी बनाएका छौं । छनोट गरेर एस लिग खेल्न पठाउने गरेका छौं ।’

एस लिग यहाँको प्रान्तीय स्पर्धा हो । अस्ट्रेलियाको फुटबल संरचनाको ‘ए’ लिगभन्दा तीन डिभिजन तल छ एस लिग । नेपाली खेलाडीलाई यसैमा खेल्न गाह्रो परिरहेको महासचिव राउत बताउँछन् । ‘नेपाली यहाँ आएपछि फुटबलमात्र खेल्दैनन्, काम पनि गर्नै पर्‍यो । त्योबाहेक २०–३० घण्टा पढेर खेल्न जान गाह्रै छ । फुटबलमै मात्र केन्द्रित हुन यहाँ हामीलाई सम्भव छैन,’ राउतले भने, ‘हेमन गुरुङले यो स्तरमा खेलेका छन्, तर विदेशी कोटामा खेल्नुपर्ने भएकाले उनलाई पनि गाह्रो भयो ।’

नेपाल छाडेर आएका फुटबरलाई आफूहरूले सकारात्मक हिसाबमा लिने बटाजु बताउँछन् । नेपाली राष्ट्रिय टोलीले चाहेको अवस्थामा खेलाडी गएर खेलिदिएमा दुवै पक्षका लागि ‘वीन वीन’ स्थिति बन्ने यहाँका फुटबल पदाधिकारीहरूको बुझाइ छ । तर, त्यो सम्भावना कम छ । सहिद स्मारक लिग, नेपाल सुपर लिग (एनएसएल) नियमित नभएपछि खेलाडीको आम्दानीको स्रोत ठप्प हुँदा नेपाली खेलाडी विदेशिने क्रम बाक्लिँदो छ । अस्ट्रेलियामा मात्र ४० भन्दा बढी नेपाली फुटबलर आइसकेका छन्, त्यसमा धेरै सिड्नीमा छन् ।

अस्ट्रेलियामा आएर १७ वर्षको उमेरदेखि खेलिरहेका बबिन पौडेललाई अघिल्लो वर्ष एनएसएलका लागि झापा एफसीले अक्सनमा बोली लगाएको थियो । तर अक्सन भएर पनि एनएसएल नभएपछि उनी नेपालमा गएर आफ्नो प्रदर्शन देखाउने मौकाबाट वञ्चित भए । एनएसल नहुनुको पीडा बबिनलाई भन्दा पनि नेपालमै रहेका खेलाडीलाई बढी छ । त्यसैले धेरैको गन्तव्य अस्ट्रेलियालगायतका देश बनेको छ ।

थोरै फुटबलर मात्र विद्यार्थी भिसामा र केही डिपेन्डेन्टमा आएका छन् । धेरैजसो खेलाडी यहाँको क्लबहरूले बोलाएपछि टुरिस्ट भिसामा आउने गरेका छन् । उनीहरूले त्यसलाई विद्यार्थी भिसामा परिवर्तन गरेर बस्ने गरेका छन् । एकवर्षे अनुमति लिएर आएकाहरूले भिसालाई विद्यार्थी भिसामा परिवर्तन गराए भने काम गरेर पढ्न पाउँछन् ।

‘भिसा लिएर आएपछि हामीले केही बोल्न मिल्दैन । त्यो उसको व्यक्तिगत अधिकार भयो । भिसाकै कारण कुनै पनि व्यक्ति यो देशमा योग्य हुन्छ । ऊ आएर यहाँ बस्न पाउँछ, हामीले उसलाई फर्केर जानु भनेर भन्न पाइँदैन,’ बटाजुले भने, ‘प्राय: एक वर्षको भिसा हुन्छ । त्यो भिसाका कारण तीन महिना बस्न पाउने अधिकार उसँग हुन्छ र तीन महिनापछि फेरि फर्केर आउन पाउँछ । सरकारले सोही भिसाका कारण बस्नका लागि स्वागत छ भनेको हुन्छ ।’ अवैध हिसाबमा खेलाडीहरू यहाँ बसेको कमै होलान् भन्ने आकलन अस्ट्रेलिया एन्फाको छ । खेलाडी किन पलायन भइरहेछन् भन्ने कारण नेपालले खोज्नुपर्ने महासचिव राउत बताउँछन् ।

रोजगारी नभएको, खेल्न नपाउने पीडा रहेको अनुभव खेलाडीहरूले यहाँका पदाधिकारीसँग साटेका छन् । अस्ट्रेलिया एन्फाका पूर्वअध्यक्ष राजु मानन्धर खेलाडी विदेश आउनु स्वागतयोग्य भए पनि नेपाललाई आवश्यक पर्दा गएर खेल्ने खेलाडीको आवश्यकता मनन गर्नुपर्ने जनाउँछन् । उनले भने, ‘अस्ट्रेलियामा मात्र अहिले नेपालबाट कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्सका धेरै खेलाडी आएका छन् । कलाकारको पनि उस्तै लर्को छ । तर, फुटबल र क्रिकेट लोकप्रिय भएकाले सबैको ध्यान यी दुईमा तानिएको छ ।’

खेलाडी लिन हानाथाप

बटाजु र राउत अस्ट्रेलिया आएको साढे दुई दशक भयो । नेपालीहरू एकआपसमा भेटिन्छन् भन्ने हिसाबमा प्रतियोगिता आयोजना गरिएको उनीहरू तर्क गर्छन् । अहिले क्लब तथा खेलाडीहरू जितमा केन्द्रित रहेको उनीहरूले देखेका छन् । समुदायमा लक्षित यो फुटबल नभएको भए क्यासिनोमा गएर पोकिज खेलेर बिग्रिनुपर्ने डरलाग्दो अवस्था हिजोको दिनमा उनीहरूले धेरै देखेका छन् ।

‘हामी सुरुमा अस्ट्रेलिया आउँदा कोही नेपाली ट्रेन स्टेसनमा ठोक्कियो भने घर गएर पार्टी गर्ने चलन थियो । अहिले कोही नेपाली ठोक्कियो भने भाग्नुपर्ने अवस्था छ । पहिला नेपालीहरूलाई एक आपसमा भेट्न फुटबल मैदानमा जाने चलन थियो,’ राउतले सुनाए, ‘अहिले त क्लब र समर्थकबीचको प्रतिद्वन्द्वितामात्र नभएर राष्ट्रिय टोलीका खेलाडीबीच ठूलो इगो देखिन्छ ।’

अनुशासन नमानेका र मैदानभित्रका धेरै घटनामा नेपाली खेलाडीलाई निलम्बन नै गर्दै आएको छ अस्ट्रेलिया एन्फाले । ‘केही खेलाडीलाई वर्ष दिन निलम्बन गरेर त्यसपछि १ देखि २ हजार डलर धरौटीमा राखेर बल्ल खेल्न दिएका घटना पनि छन्,’ बटाजुले भने, ‘क्लबहरूबीचको चर्को प्रतिस्पर्धाका कारण नै यो स्थिति आएको देखिन्छ ।’ बेनी र सगरमाथा एफसीबीचको लिग खेलमा दुवै टोलीले अनुशासन उल्लंघन गरेका कारण २–२ अंक गुमाएको जीएनसी लिगको वेबसाइटमा उल्लेख छ । ‘यहाँको नेपाली खेलाडीको स्तर धेरै माथि गइसक्यो । सबै क्लबलाई आफूले खेलेको लिग होस् वा नकआउट प्रतियोगिता जित्नुपर्ने भइसक्यो,’ त्यसैले यसको असरहरू पनि देखिएको राउत सुनाउँछन् ।

‘स्थापित क्लब भएकाले जित्नुपर्ने दबाब हुन्छ हामीलाई, यहाँको स्तर पनि उच्च छ, नेपाली समुदायलाई स्तरीय खेल देखाउन हामीले नेपालबाट खेलाडी ल्याएका हौं । ल्याएर व्यवस्थापन गर्नु ठूलो चुनौती हो,’ बेनी एफसीका अध्यक्ष सुशन श्रेष्ठले भने, ‘सुविधा भएन, खेल पनि नियमित भएन भने देशको मायाले मात्र सधैं पुग्दो रहेनछ । हामीलाई पनि यहाँ खेलाडी चाहिएको थियो । आएका खेलाडी खुसी पाएको छु ।’

बाहिरबाट आउनेहरूका लागि नेपाली समुदायबीच खेलिने लिग र प्रतियोगिता ‘पार्क फुटबल’ जस्तो पनि लाग्न सक्छ । हालै ओइरिएका नेपाली खेलाडीका कारण जीएनसी लिगको स्तर बढेको बटाजु र राउत मान्छन् । तर, खेलाडीहरूले खेलेबापत व्यावसायिक पारिश्रमिक पाएको देखिँदैन । क्लबहरूले आफ्ना खेलाडीको कलेज शुल्क तिर्ने गरेको पाइएको बटाजु बताउँछन् । ‘हामी सामुदायिक क्लब चलाइरहेका छौं, व्यावसायिक होइन । पारिश्रमिक दिने गरेका छैनौं । खेलाडीलाई चाहिने अन्य खालको सहयोग गरेका छौं,’ बेनीका अध्यक्ष श्रेष्ठले भने ।

नेपाली फुटबलमा जम्दै गरेका अर्जुन रिजाल १४ वर्षअघि अस्ट्रेलिया आएका हुन् । क्लब नेपाल मेलबर्न सन् २००९ मा एक प्रतियोगिताको फाइनल पुगेपछि उनलाई पनि खेलाइएको थियो । त्यतिबेला समुदायको फुटबल भावनाविपरीत भयो भनेर उनलाई खेलाइएकामा विरोधको आवाज नसुनिएको होइन । त्यसपछि नै एउटा अभिभावक संस्थाको महसुस गरेर अस्ट्रेलिया एन्फाको जन्म भएको बटाजुले सुनाए ।

अर्जुनपछि सुलभ मास्के, अनिल ओझा, जगजित श्रेष्ठ, एकजन तुलाधर, मानसाजन राजभण्डारीले पनि अस्ट्रेलियाको बाटो रोजे । सन् २०१९ मा नेपाली राष्ट्रिय टोलीले क्यानबेरामा आएर अस्ट्रेलियासँग विश्वकप छनोट खेलेको थियो । यसले यहाँ नेपाली समुदायको फुटबलमा लागिपरेकाहरूलाई अझ प्रतिस्पर्धा महसुस गराइदिएको थियो । विश्वकप छनोट खेलेर हेमन गुरुङ नेपाल फर्केर सहिद स्मारक लिगका केही खेल खेलेर पुन: सिड्नी आएका थिए । मेलबर्नमा यती एफसीबाट एलन, सुमन लामा, आशिष लामा, तेज तामाङ, दिनेश राजवंशी, अनिल ओझा, सुलभ मास्के, विमल बस्नेत, युनाइटेडबाट सन्तोष तामाङ, डेबिड शिव गुरुङ, नवीन गुरुङ, दर्शन गुरुङ तथा रोयल वेस्टर्नबाट राजन गुरुङ, अमिर श्रेष्ठ, रुमेश बर्तौला, आकाश बुढामगर, मिक्चेन तामाङ, रोहित कार्की, रवि थिङ खेलिरहेका छन् ।

रोयल वेस्टर्नबाट आएका रेजिन सुब्बा दुई प्रतियोगिता खेलेर नेपाल फर्किएका थिए । उनी अहिले सहिद स्मारक लिगमा खुमलटार एफसीबाट खेलिरहेका छन् । सुलभ, जगजित डिपेन्डेन्ट भिसा र अनिल विद्यार्थी भिसामा आएका थिए । सिड्नीमा बेनीबाहेक फेवाबाट विमल राना, हेमन्त थापामगर, सन्जोग गुरुङ, सेन्ट जर्ज नेप्लिज क्लबबाट सरोज दाहाल र डेविड कुमाल, माछापुच्छ्रे एफसीबाट गौतम श्रेष्ठ र रितिक खड्का तथा वेस्ट युनाइटेड फुटबल क्लबबाट रवि थापामगर खेलिरहेका छन् । १८–२० वर्षकै उमेर भएका खेलाडी आएको खण्डमा उनीहरूलाई नेपालमा गएर खेल्नुपर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिन्छन् अस्ट्रेलिया एन्फाका पदाधिकारीहरू ।

‘खेल नै नभएपछि विकल्प खोजें’

विशाल राई, पूर्वराष्ट्रिय खेलाडी

अस्ट्रेलिया आएर जीवनशैली सोचेजस्तो भइसकेको छैन । खेलेर मात्र नहुने, काम गर्नैपर्ने । यहाँ आउनुअघि काम गर्नुपर्छ भनेर थाहा थियो, तर कहिले नगरेको भएर अप्ठ्यारो हुँदोरहेछ । क्लबकै दाइहरूले काम पनि मिलाइदिनुभएको छ । सातामा ५ दिन काम गर्ने, दुई दिन आराम, प्रशिक्षण गर्ने र फुटबल खेल्ने गरिन्छ । नेपाली क्लबबाट खेलेको पारिश्रमिक आउँदैन । तर, उहाँहरूले सुरुमा आउँदा बस्नखान, काममा लगाइदिन सहयोग गर्नुभएको छ । पकेट खर्च दिनुभएको छ ।

नेपालीहरूको क्लबमा व्यावसायिक संरचना रहेनछ । सिड्नी लिग खेल्दा पैसा आउँछ भनेको छ । म आएको डेढ महिना भयो, धेरै कुरा बुझ्दै छु । एउटा म्याच मात्र खेलेको छु । सम्झौतामा पारिश्रमिक लिने उल्लेख छैन । प्रान्तीय लिगहरूमा पैसा आउने रहेछ, तर हामीले काम गरेर खेल्न अप्ठ्यारो रहेछ । मेलबर्नमा सन्तोष तामाङ, दर्शन गुरुङ, एलन न्यौपानेले प्रान्तीय लिग खेलिरहेका छन् ।

मेरो ब्याचका सुजल श्रेष्ठ, रजिन धिमालले फुटबल छाड्ने बेला पनि भइसकेको थियो । लगभग खेल्न छाडेकै हिसाब र काम गर्ने भनेर हामी यहाँ आएका हौं । सबै उमेर खेलेरै सकिएको र काम त्यति नगरेको भएर अहिले अप्ठ्यारो भएको हो । मछिन्द्र क्लबसँग म पहिलादेखि नै जोडिएको थिएँ । अहिले चलिरहेको लिगका लागि मैले सम्झौता नगरे पनि क्लबले एडभान्समा दिएको थियो । एडभान्स लिएको तीन महिनाको पारिश्रमिक मैले अनिल श्रेष्ठ (क्लब उपाध्यक्ष एवं व्यवस्थापक) दाइलाई फिर्ता दिएर आएँ । नयाँ ठाउँ भएकाले सुरुमा भिज्न अप्ठ्यारो नै हुन्छ भनेका छन् । म सुजल, रजिन र अभिषेक एकै ठाउँमा बसेका छौं ।

१–२ वर्ष अझै खेल्ने नै प्रयास गरिन्छ । फुटबललाई चटक्कै माया मार्न सकिन्न । अब हाम्रो भिसा विद्यार्थी भिसामा परिवर्तन हुँदै छ । त्यसपछि कस्तो काम गर्ने भन्ने पनि टुंगो लाग्नेछ । केही खेलाडी डिपेन्डेन्ट भिसामा पनि आएका छन् । नेपाल धेरै मिस भइरहेको छ । तीनदेशीय प्रतियोगिता पनि भयो, लिग पनि भइरहेको छ । चित्त बुझाएर बसेको छु ।

लिग नभएको डेढ वर्ष जस्तो भएपछि मैले अस्ट्रेलिया आउने निर्णय गरेको हो । लिग र एनएसएल चाँडो गर्नुपर्‍यो भनेर हामी खेलाडीहरू मिलेर एन्फामा पनि धेरै पटक गयौं । लिग र एनएसएल हुने घोषणा गरेर सरेको सर्‍यै भयो । एनएसएलमा धनगढी एफसीमा लगातार दोस्रो वर्ष मार्की खेलाडीका रूपमा थिएँ, तर अक्सन भयो एनएसएल भएन ।

खेल नै नहुने भएपछि त्यसको विकल्प खोज्दा अस्ट्रेलिया सम्भावना देखियो । नेपालमा लिग नभएपछि दार्जिलिङ, सिक्किमतिर ‘खेप’ खेल्न गएका थियौं । म त्यहाँ घाइते भएपछि ६–७ महिना त्यत्तिकै बस्नुपर्‍यो । अब अप्रेसन गर्नुपर्ने भयो भने त करिअर नै सकिन्छ जस्तो लागेपछि अस्ट्रेलियाको सोच बनाएको हो ।

विवाहको १३ महिना भयो, चोट लागेर ७ महिना जस्तो झापा अर्जुनधारा घरमा बसें । त्यसरी बस्दा मनमा अनेक कुरा खेल्दोरहेछ । घरबाट केही काम गर्नुपर्छ भनेर दबाब पनि आउन लाग्यो । बच्चा पनि हुन लागिसक्यो । आफ्नो परिवारका लागि सोचेर मैले एउटा निर्णय गर्ने बेला भइसकेको थियो । सन् २०१५ देखि मैले राष्ट्रिय टोलीबाट खेल्दै आएको छु, यसअघि यस्तो सोच कहिले आएको थिएन । २०१६ मा भारतमा भारतलाई नै हराएर दक्षिण एसियाली खेलकुदमा फुटबलको स्वर्ण जितेको क्षणमा मेरा मनमा रहिरहनेछ ।

प्रकाशित : चैत्र २६, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?