दूरी छोट्याउँदै मनाङ- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूरी छोट्याउँदै मनाङ

ए डिभिजन लिगको पाँचौं चरण पूरा हुँदा सातदोबाटो युथ शीर्षस्थानमा
कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रो हाफमा कमल थापा र सयिदजमोल दब्लतजनोभले गोल गरेपछि मनाङ मर्स्याङदी २–१ ले एपीएफलाई हराएर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार शीर्षस्थानमा रहेको सातदोबाटो युवा क्लबसँग एक अंक नजिक पुगेको छ ।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा अग्रता भने सशस्त्र प्रहरी बलको टिमले लिएको थियो । नवीन लामाको क्रसमा अर्मान्ड बेडमले हेडर गोल गरेपछि एपीएफ १–० ले अघि बढेको थियो । तर, सुमित श्रेष्ठको पासमा कमलले ५२ औं मिनेटमा आकर्षक गोल गर्दै मनाङलाई १–१ को अवस्थामा पुर्‍याए । उज्वेकिस्तानी खेलाडी सयिदजमोल दब्लतजनोभले ७२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट गोल गर्दै मनाङलाई तेस्रो जित दिलाएका हुन् ।

मनाङ–एपीएफको खेलसँगै लिगको पाँचौं चरण पूरा भएको छ । यस अवस्थामा सातदोबाटो युवा क्लब १२ अंकसहित शीर्षस्थानमा छ । एक अंक पछाडि छन् मनाङ र चर्च ब्वाइज । यो सिजन अपराजित यात्रा कायम राख्नै टिम यी दुईमात्रै हुन् । दुवैले ३–३ जित र २–२ बराबरी खेलेका छन् । सातदोबाटोले ४ जित र १ हारको नतिजा निकालेको छ । दुई जित, एक बराबर र दुई हारपछि एपीएफले ७ अंक बनाएको छ ।

पुलिसले खाता खोल्यो

खराब लयमा रहेका दुई टिमका भेटमा पुलिस र एनआरटीले दशरथ रंगशालामा १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टिम पाँचौं चरण सकिँदासम्म अझै पहािले जितको प्रतीक्षामै छन् । पुलिसले त यो सिजन पहिलो अंक जोडेको खेल यही हो । टोलीले यसअघि चर्च ब्वाइज, हिमालयन शेर्पा, संकटा र मछिन्द्रसँग हार बेहोरेको थियो ।

सन्जिव विष्टले पुलिसका गोलकिपर संजित श्रेष्ठको गल्तीमा पाएको बल गोलमा परिणत गर्दै ६४ औं मिनेटमा पुलिसलाई अग्रता दिलाएका थिए । तर, प्रताप गुरुङले ७५ औं मिनेटमा पाएको फ्रि–किकमा सिधै गोल गरेपछि पुलिसले खेल १–१ मा टुंग्याउँदै हारको शृंखला टारेको हो । टोलीका प्रशिक्षक चेतन घिमिरेले भने, ‘हामी जितकै लागि खेलेका हौं । एक अंक आयो । खुसी छौं । यसले हौसला मिलेको छ ।’ पुलिसले भेट्रान फरवार्ड जुमनु राई र डिफेन्डर सुमन सुवेदीलाई समेत सब्स्टिच्युटका रूपमा मैदानमा उतारेको थियो । पाँचौं चरणसम्म जित हासिल गर्न नसक्ने टिम एनआरटी र पुलिस नै हुन् । एनआरटी २ र पुलिस १ अंकसहित रेलिगेसन क्षेत्रमा छन् ।

आर्मीको जित

च्यासलमा आयोजित प्रतिस्पर्धामा आर्मीले पछाडि परेको स्थिति उल्टाउँदै शनिबार फ्रेन्ड्समाथि २– को जित रच्यो । रफिक अमिनुले छैटौं मिनेटमा फ्रेन्ड्सलाई अग्रता दिलाए पनि जिलेस्पीजंग कार्कीले २४ औं मिनेटमा आर्मीलाई १–१ मा पुर्‍याएका थिए । चार मिनेटमा इन्ज्युरी समयको अन्त्यतिर डिफेन्डर दीपक गुरुङले निर्णायक गोल गरेपछि आर्मीले दोस्रो जित हात पारेको हो । चौथो चरणमा एपीएफले लगातार १६ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएपछि मैदानमा फर्किएको आर्मी ८ अंकसहित शीर्ष पाँचमा पुगेको छ । ५ खेलमा ४ अंक जोडको फ्रेन्ड्स रेलिगेसन क्षेत्रभन्दा एक स्थानमाथि छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

आठ महिला फुटबलरलाई चन्द्रपुरको सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — रौतहटको चन्द्रपुर नगरपालिकाले शनिबार राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाले शनिबार चन्द्रपुर मेयर कप फुटबल प्रतियोगिताका दौरान राष्ट्रिय टिमबाट खेल्ने आफ्नो नगरका ८ खेलाडीलाई जनही १५ हजारसहित सम्मान गरेको हो । राष्ट्रिय टोलीका रेनुका नगरकोटे, रश्मिकुमारी घिसिङ, समीक्षा घिमिरे, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर, निशा थोकर र मञ्जलीकुमारी योञ्जनलाई सम्मानित भए । नगरपालिकाले खेलाडीहरू नगरपालिकाको सानको रूपमा रहेको भन्दै सम्मान गरेको हो । भदौमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टिमले फाइनलसम्म यात्रा तय गर्दा रौतहटका सात खेलाडीले प्रतिनिधित्व गरेका थिए । टिमको कप्तानसमेत रहेकी रेनुका भने चोटका कारण टिमबाहिर थिइन् ।

महिला फुटबलका लागि उर्वरभूमिको रूपमा रहँदै आएको रौतहटको चन्द्रपुर नगरपालिकाका दर्जनौं खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

प्रकाशित : चैत्र ४, २०७९ २१:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×