ए डिभिजन लिग : एउटा क्लबले ५ जना विदेशी खेलाडी राख्न पाउने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ए डिभिजन लिग : एउटा क्लबले ५ जना विदेशी खेलाडी राख्न पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएसँगै अब एउटा क्लबले ५ जनासम्म विदेशी खेलाडी राख्न पाउने भएका छन् ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरूले बजारमा खेलाडी अभाव भएको देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेसँगै विदेशी खेलाडीको कोटा थप गरी ५ पुर्‍याइएको हो । यो सहमतिपछि अब खेलको सुरुआती ११ मा ४ जना विदेशी खेलाडी खेल्न पाउनेछन् भने १ जना बेन्चमा बस्नुपर्नेछ ।

ए डिभिजनका अधिकांश क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने मागलगायत सहिद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए । उनले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताए । उनले टिममा एक जना एसियाली र एक जना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको पनि बताए । उनले एक खेलमा ४ विदेशी खेलाडीहरू खेल्न पाउने प्रावधान ल्याएको बताए ।

उनले भने, ‘पहिला क्लब र एन्फाको सहमतिमा ४ जना विदेशी खेलाडी राख्न पाउने भन्ने थियो तर पछिल्लो समय खेलाडीहरू विदेश गइरहेको र नेपालमा क्लब लिग खेल्ने खेलाडीहरूको अभाव भएको भन्दै क्लबहरूले एन्फासँग विदेशी खेलाडीको कोटमा बढाउनुपर्ने माग गर्नुभएको थियो ।’

राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लबहरूले सामुहिक रुपमा विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लबले आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए ।

शहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुआती ११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ । एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदै छ । लिग डबल राउन्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौं चरणसम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित : माघ २६, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

वैज्ञानिक राउत योजना आयोगको सदस्यमा नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — च्याउ वैज्ञानिक डा. जयकान्त राउत राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

राउतले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन् । डाक्टर राउतले ललितपुरको फुल्चोकीबाट संसारकै लागि नयाँ प्रजातिको च्याउ पत्ता लगाएका थिए ।

उनले नास्टको फेकल्टी अफ साइन्सको बायोलोजिकल रिसर्च युनिटमा रहेर नेपालमा पाइने ढुसीलाई एकीकृत गरेर जानकारी दिने उद्देश्यले पहिलो पटक ढुसीकाे डेटाबेस निर्माणको काम गरेका थिए । नास्टमा रहँदा उनले उक्त डेटाबेस ७० प्रतिशत काम सम्पन्न गरेका थिए ।

नास्टमा वरिष्ठ वैज्ञानिक अधिकृतबाट राजीनामा दिएर डाक्टर राउत राजनीतिमा होमिएका थिए ।गत प्रतिनिधिसभा चुनावमा उनले जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । राउतले १९ हजार ९९६ मत ल्याउँदै समाजवादी पार्टीका नबलकिशोर साहसँग पराजित भएका थिए ।

जनमत पार्टीका अध्यक्ष सीके राउतका आफ्नै दाजु जयकान्त राउतले योजनामा हुँदा आफूले विज्ञान, प्रविधि र कृषि क्षेत्रको विषय उठान गर्ने प्रतिक्रिया दिएका छन् ।

सरकारले राष्ट्रिय योजना आयोगमा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूलाई ल्याएर नियुक्ति गर्ने गर्छ । आयोगमा विभिन्न क्षेत्रबाट ६ जना सदस्यलाई प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित : माघ २६, २०७९ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×