कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नविता र विनेश एकल च्याम्पियन

काठमाडौँ — विनेश खनियाँ र नविता श्रेष्ठले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको एकलतर्फ उपाधि जितेका छन् । दुवै नेपाल पुलिस क्लबका खेलाडी हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा विनेशले भारतको ग्लोबल टेबलटेनिस एकेडेमीका सन्तोषकुमार रमेशलाई ७–११, ११–५, ११–९, १५–१३, १०–१२, ११–३ को सेटमा पराजित गरे ।

नविता र विनेश एकल च्याम्पियन

वाइल्ड कार्ड भारतका प्रशन्न कुमार र ग्लोबलका भ्रिसिन वभनका तेस्रो भए ।

महिलातर्फ नौपल्टकी राष्ट्रिय च्याम्पियन नविताले कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जनलाई ११–२, ११–३, ११–३, ११–५ को सोझो सेटमा हराइन् । पुलिककी एलिना महर्जन र कान्तिपुरकी दिया देउला तेस्रो भए ।

पुरुष/महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिता विभिन्न ७ इभेन्टमा भएको थियो ।

टिम इभेन्टमा पुरुषतर्प ग्लोबल तथा महिलामा पुलिस क्लबले स्वर्ण जितेका थिए । भेट्रानको पुरुष सिंगल्स ४० वर्षमाथि गल्कोपाखा समाज सेवाका चन्दन शाही र ५५ वर्षमाथि एनसीसीएसका कपुर शर्मा पौडेल च्याम्पियन बने । भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेकी थिइन् । भेट्रानमा विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार प्राप्त गरे ।

विजेतालाई राखेप सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, सम्झनाकी सीईओ रजना जोशी, आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीलगायतले पुरस्कृत गरे ।

सुवाललाई लाइफटाइम

टेबलटेनिसका पूर्वराष्ट्रिय खेलाडी दिगम्बरमान सुवाललाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो । उनी चारपटकका राष्ट्रिय च्याम्पियन हुन् । मिस नेवा सलिना महर्जन पनि सम्मानित भइन् ।

पाँचदिने प्रतियोगितामा २ सय पुरुष र ५६ महिला खेलाडी प्रतिस्पर्धी थिए । सबैभन्दा कम उमेरमा स्ट्याग च्याम्पियन्स एकेडेमीकी ७ वर्षीया प्राज्ना महर्जन प्रतिस्पर्धी रहिन् । बढी उमेरमा ८१ वर्षीया शान्तिदेवी मानन्धर थिइन् ।

प्रकाशित : माघ २१, २०७९ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?