कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेभेन थ्री स्पोर्ट्सद्वारा सम्झौता रद्द

काठमाडौँ — भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल क्रिकेट संघ (क्यान) सँगको नेपाल टी–२० लिगको सम्झौता मंगलबार एकपक्षीय रूपमा खारेज गरेको छ ।

सेभेन थ्री स्पोर्ट्सद्वारा सम्झौता रद्द

सेभेन थ्री स्पोर्टसका निर्देशक जतिन आहलुवालियाले क्यानलाई इमेल गर्दै सम्झौता रद्द भएको जनाएका हुन् । क्यानले आफ्नो अधिनमा रहेर पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसलाई रणनीतिक र व्यावसायिक साझेदार बनाएको थियो । त्यसवापत क्यानले ८ वर्षका लागि ३३ करोड दस्तुर पाउने तोकिएको थियो । पहिलो वर्ष क्यानले ३ करोड ९० लाख पाउने भनिएको थियो । तीन किस्तामा गरी २ करोड २० लाख पठाइसकेको सेभेन थ्री स्पोर्टसको दाबी छ ।

तर ‘लाइभ बेटिङ’, ‘स्पट फिक्सिङ’, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको, राखेपको स्वीकृति नलिई आयोजना गरिएको र खेलाडीको श्रम स्वीकृति नलिई गरिएका कारण प्रतियोगिता विवादले घेरिएको थियो । प्रतियोगिताको पाँचौं दिनमै आहलुवालिया र सेभेन थ्री स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई दिल्ली फरार भएका थिए ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद (राखेप), प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन टोली बनाउँदै प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । स्पट फिक्सिङको ठुलो मुद्दा आएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को इन्ट्रेग्रिटी युनिटको प्रतिनिधि नेपाल आउनु ठिकअघि भारतीय पक्ष गायब भएको थियो । (सीआईबी) ले फिक्सिङ र अनिमयतितामा नेपाली र विदेशी गरी १० जना समावेश रहेको आरोपमा पूर्वखेलाडी महबुब आलम र स्पट फिक्सिङ गरेको आरोपमा मोहम्मद आदिल आलमलाई पक्राउ गरी मुद्दाको प्रक्रिया अगाडि बढाएको थियो ।

सेभेन थ्री स्पोर्ट्सले इमेलमा राष्ट्रिय खेलकुद परिषदबाट क्यानले स्वीकृति लिन नसक्दा सम्झौता रद्द गर्नुपरेको जनाएको छ । आहलुवालियाले लेखेका छन्, ‘सन् २०२२ को फेब्रुअरी २४ मा भएको सम्झौताको दोस्रो संशोधनअनुसार मुख्य विषय राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको स्वीकृति थियो ।’ नयाँ खेलकुद विकास ऐनअनुसार राष्ट्रिय संघहरूले विदेशी कम्पनीसँग सम्झौता गरे स्वीकृति लिनुपर्ने प्रावधान छ ।

आहलुवालियाले राखेपको स्वीकृति नभएकै कारण नेपाल टी–२० लिगमा खेलेका विदेशी खेलाडीले श्रम स्वीकृति लिन नसकेको उल्लेख छन् । ‘क्यानले आजको दिनसम्म पनि हामीलाई राखेपसँग सम्झौता भएको छ भनेर सुनिश्चितता गराएको छैन, जबकि हाम्रो मुख्य सम्झौता नै राखेपसँगको स्वीकृति भन्ने छ,’ आहलुवालियाले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘यी माथिका तथ्यहरूबाट धेरै स्पष्ट छ कि क्यानले जानाजानी गलत रूपमा तथ्यहरू प्रस्तुत गरेको र सेभेन थ्री स्पोर्टसलाई लुकाइरहेको छ । क्यानले नेपालको खेलकुद विकास

ऐनअनुरुप मुख्य सम्झौताको धारा ४४ (२) उल्लंघन गरेकाले मुख्य सम्झौता प्रभावकारी नै भएन । त्यसैले सम्झौता खारेजीको सूचना पठाएका छौं ।’ उनले यी सम्झौता कार्यान्वयन भएमा मात्र आफूहरू फर्किन तयार रहेको जनाएका छन् ।

प्रकाशित : माघ १८, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?