नेपाल टी-२०

पारिश्रमिक, फिक्सिङले विवादै विवाद

खेल मिलेमतोको अनुसन्धान गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
विनोद पाण्डे

काठमाडौँ — खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको, आयोजकमध्ये एक बेखबर भएको र बेटिङका कारणले विवादै विवादमा मुछिएको नेपाल टी–२० लिग क्रिकेटमा मंगलबारको खेल जसोतसो भए पनि यसको आगामी बाटो अझै अनिश्चित देखिन्छ । 


नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोटर््सलाई साझेदार बनाउँदै गरेको टी–२० लिगका ६ टोलीमध्ये धेरैले अहिलेसम्म कुनै पारिश्रमिक पाउन नसकेको पृष्ठभूमिमा अघिल्लो दिन एक आयोजक पक्ष सम्पर्कबाहिर रहँदा प्रतियोगितालाई लिएर अन्योल बढेको थियो । ३४ मध्ये २० खेल भइसकेको अवस्थामा सेभेन थ्री स्पोर्टस सर्म्पकबाहिर रहेको थियो । काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच मंगलबार हुने खेलमा आफ्नो केही मुद्दा रहेको भनी दुवै टोलीले टसअघिको टिम लिस्ट लिन मानेनन् । क्यान पदाधिकारी र दुई टोलीका खेलाडीबीच लामो छलफल भएपछि प्रतियोगिता सुचारु गरिएको हो । त्यतिखेर ९–९ ओभरको खेलमात्र सम्भव भयो । खेलाडीको हाउभाउ मैदानबाहिरकै घटनामा केन्द्रित देखिन्थ्यो । उनीहरू खुलेर खेल्न सकेका थिएनन् ।

क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौताअनुसार प्रतियोगिता सुरु हुने अघिल्लो दिनसम्म खेलाडीले ५० प्रतिशत रकम पाइसक्नुपर्ने थियो । विदेशी खेलाडीहरू धमाधम प्रतियोगिता छाडेर फर्किरहेको अवस्थामा नेपाल टी–२० लिगमा खेलिरहेका खेलाडीहरू भने अन्योलमा देखिन्थे । क्यान आफैं पनि सेभेन थ्री स्पोर्ट्सले दिने दस्तुर नदिएकाले विकल्प खोजिरहेको थियो । सेभेन थ्रीले नेपाल टी–२० लिगका लागि क्यानलाई ८ वर्षको ३३ करोड रुपैयाँ दस्तुर तिर्नुपर्ने गरी सम्झौता गरेको थियो, जसमा पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ प्रतियोगिता सुरु हुने एक दिनअघि क्यानको खातामा जम्मा भइसक्नुपर्ने हो । तर, क्यानले अहिलेसम्म सेभेन थ्री स्पोर्ट्सबाट १ करोड २० लाख रुपैयाँमात्र पाएको छ ।

आफ्नो कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर सेभेन थ्री स्पोर्ट्स तथा यसका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक क्यानको सम्पर्कबाहिर रहे पनि नेपाल क्रिकेट संघको सर्वोच्च निकायलाई सम्झौताअनुसार एउटा बुँदाले प्रतियोगिता जारी राख्न बाध्य बनाएको देखिन्छ । प्रतियोगिताको ७५ प्रतिशतभन्दा माथि खेल सम्पन्न भइसकेको अवस्थामा थप खेल हुन नसकेमा त्यसको आर्थिक भार बहन सेभेन थ्री स्पोर्टसले लिनुपर्ने र त्यो भन्दा कम खेल भएमा क्यान जबाफदेहिता हुनुपर्ने बुँदा रहेको छ । जसका कारण खेल सुचारु गर्ने बाध्यतामा खेलाडीको पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धतासहित क्यानले खेललाई निरन्तरता दिएको देखिन्छ ।

सोमबार नै भारत लागिसकेका आहलुवालिया सम्पर्कमा आएको क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् । ‘प्रक्रिया अगाडि बढिसकेको छ, टिमहरू खेलाडीको पारिश्रमिक दिन तयार देखिन्छन् । १–२ दिनमै यो मुद्दा सल्टिन्छ होला,’ अध्यक्ष चन्दले भने । आहलुवालियाले भारतमा रकम व्यवस्थापन गरिरहेको जनाएकाले क्यानको दस्तुर पनि आउने अपेक्षा चन्दको छ ।

गृहको निर्देशन

गृह मन्त्रालयले पारिश्रमिक नदिई आयोजकको एउटा पक्ष फरार भएको, बेटिङको जालोलाई लिएर उक्त विषयमा विस्तृत जानकारी गराउन युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लाई पत्र पठाएको छ । विदेशी खेलाडीको अझै श्रम स्वीकृतिप्राप्त नभइसकेको अवस्थामा पनि खेलिरहेकाले गृह मन्त्रालयले सबै पक्षबाट स्पष्टीकरण खोजेको हो ।

गृहले खेल मिलेमतोको अनुसन्धान गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले अनुसन्धान सुरु गरेको छ । सीबीआईका प्रमुख प्रहरी अत्तिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले भने, ‘म्याच फिक्सिङ र लाइभ बेटिङका विषयमा हामीले अनुसन्धान गरिरहेका छौं । सार्वजनिक सञ्चारमाध्यम र अन्य पक्षले गरेको उजुरीका आधारमा हामीले अनुसन्धान सुरु गरेका हौं ।’ नेपाली टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सेनाले खुला रूपमा नै ‘स्पट बेटिङ’ भएको दाबी गर्दै आफू कमेन्ट्री टोलीबाट अलग भएको जनाएका छन् । काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको खुलासा गरेका थिए । ‘हाम्रो टिमका एकजना खेलाडीलाई सट्टेबाजले प्रस्ताव राखेको थियो । नियमअनुसार नै हामीले त्यो एन्टी करप्सन युनिट (एसीयू) लाई रिपोर्ट गरेका थियौं,’ ज्ञानेन्द्रले भने ।

अर्का पूर्वकप्तान पारस खड्काले नेपाल टी–२० लिगको वैधानिकतामा प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरू पार गर्दै राम्रो स्वरुप लिनेक्रम जारी थियो । यो अनवरत यात्रा र उतारचढावकै बीच नेपाल टी–२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ । खेलाडीहरूको वर्षौंदेखिको लगाव, खेलप्रेमीहरूको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरूको विश्वासलाई यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्‍याएको छ । यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस् ।’

खेलाडीको बिचल्ली

फिक्सिङका विवादका कारण आफूहरू अलिक गाह्रो भइरहेको नेपाली टोलीका कप्तान रोहित पौडेलले जनाए । ‘क्यानले आश्वासन दिएपछि आज हामीले खेल्ने निर्णय गरेका हौं । आज वा भोलिसम्म हाम्रो पुरै पारिश्रमिक दिने कुरा भएको छ,’ विराटनगरको कप्तान पनि रहेका रोहितले भने, ‘खेल्न भनेर आउँदा विवादहरू हुँदा, पारिश्रमिक दिन ढिलो गर्दा खेलाडीलाई खेल्न अप्ठ्यारो हुन्छ । यो विवाद चाँडै समाधान हुन्छ भन्ने मलाई विश्वास छ, त्यसपछि हामी राम्रो खेल्ने छौं ।’

विराटनगरका जिम्बावे खेलाडी सिकन्दर राजा, जनकपुरका भारतीय प्रशिक्षक उमेश पटवाल यसअघि नै प्रतियोगिता छाडेर घर फर्किइसकेका छन् । काठमाडौंका जिम्बावेका अलराउन्डर रायन बर्ल पनि अघिल्लो दिन फर्किएका छन् भने अफगानिस्तानका अजमतुल्लाह ओमारजाई पनि घर फर्किने भइसकेका छन् । पारिश्रमिक र स्पट फिक्सिङ काण्डले विदेशी खेलाडी तथा प्रशिक्षक नेपाल टी–२० लिगबाट अलग भइरहेको देखिन्छ ।

काठमाडौं टिमकै इंग्लिस खेलाडी एलेक्स ब्लेकले आजसम्म कुनै पारिश्रमिक नपाएकामा निराशा थिए । ‘हामीले अहिलेसम्म केही पाएका छैनौं, मलाई थाहा छैन के भइरहेको छ । निश्चय पनि अहिलेको स्थिति राम्रो छैन । हामी क्रिसमसको समयमा आफ्नो परिवार छाडेर यहाँ खेल्न आएका हौं । त्यसैले ठूलो चिन्ता छ । तर हाम्रो काम नै खेल्नु हो, खेल्छौं,’ ब्लेकले भने, ‘व्यक्तिगत रूपमा टिमका मालिकहरूसँग हाम्रो सम्पर्क छैन । मलाई लाग्दैन अरु केही टिमको पनि छ । त्यसैले के स्थिति छ भनेर भन्न सकिन्न ।’

धेरै टोलीका टिम मालिकहरूको स्पष्ट पहिचान नभएकाले समस्या थपिएको रोहितले जनाए । ‘क्यानलाई मैले पारिश्रमिकको विषयमा केही अघि मेल लेखेको थिएँ, जवाफमा मौखिक आश्वासन दिनुभएको छ, आशा छ चाडैं हामीले पारिश्रमिक पाउने छौं,’ उनले भने, ‘मालिकहरूसँग सञ्चार सम्बन्ध नभएर पनि यो समस्या आएजस्तो अनुभव भइरहेको छ । मालिकहरूसँग ग्याप भएको कारण यो विवाद आएजस्तो लाग्छ । मालिकहरूले जिम्मेवारी लिएजस्तो मलाई लाग्दैन, त्यसैले अहिलेको स्थितिमा बोर्ड नै जिम्मेवार हुनुपर्छ जस्तो लाग्छ ।’

विदेशी खेलाडीहरू खेल्न नमानिरहेको र उनीहरू घर फर्किन चाहिरहेको जनाउँदै ज्ञानेन्द्रले नेपाली र विदेशी खेलाडीले पाउनुपर्ने पारिश्रमिक नपाएमा जिम्मेवारी कसले नेतृत्व लिने भन्दै प्रश्न गरे । ‘टिमका लागि गरिएको सम्झौता र वाचाहरू पूरा हुनुपर्छ । सबै टिमको समस्या उस्तै छ, क्रंकिट कुरा बाहिर आउनुपर्‍यो । यो सबै कुराको सम्बोधन हुनुपर्छ । हाम्रो सम्पर्कमा जो आउनुपर्ने थियो, उहाँहरू आउनुभएको छैन, हाम्रो चिन्ता यसैमा थियो,’ उनले भने, ‘खाली खेलाडीलाई मात्र इमेजका लागि अगाडि राख्नु उचित हुन्छ जस्तो मलाई लाग्दैन । सुरुदेखि नै यो प्रतियोगितामा जो–जो जिम्मेवार हुनुहुन्छ, जुन प्रतिबद्धताहरू जनाइएको थियो त्यो पूरा हुनुपर्छ भन्ने हो ।’

दिनप्रतिदिन यो विषयमा सम्बोधन गर्न ढिलाइ भरहेकाले अवस्था झन जटिल हुने उनको बुझाइ छ । टिम व्यवस्थापनलाई लिएर उनले भने, ‘हामीले मालिकहरूलाई मिस गरिरहेका छौं, हामीले उहाँहरूलाई देखेका छैनौं । यसअघिका प्राइभेट लिगहरूमा समस्या नभएका होइनन् । पारिश्रमिक दिन केही ढिलाइ हुन्थ्यो । पछि त्यसलाई सम्बोधन गर्ने गरेका थियौं । तर अहिले सबैभन्दा ठूलो प्रतियोगितामा जिम्मेवार पक्ष नै देखिँदैन ।’

प्रकाशित : पुस २०, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

रातो मत्स्येन्द्रनाथको मूर्ति प्रतिस्थापन विवाद

नहटाए कीर्तिपुर जाने परम्परा रोक्ने चेतावनी
कान्तिपुर संवाददाता

काठमाडौँ — सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति बनाएर कीर्तिपुरमा प्रतिस्थापना गरेको भन्दै ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले विरोध जनाएका छन् । मत्स्येन्द्रनाथका पुजारीहरूले मंगलबार कीर्तिपुरमा प्रतिस्थापना गरिएको मूर्ति तत्काल नहटाएमा मत्स्येन्द्रनाथको जात्राका क्रममा कीर्तिपुरको ‘याकः मिसा’ (अविवाहित महिला) लाई फूलप्रसाद चढाउन जाने परम्परा बन्द गर्ने चेतावनी दिएका छन् ।

उनीहरूले विरोधस्वरूप संस्कृति मन्त्रालय, पुरातत्त्व विभाग, केन्द्रीय गुठी संस्थान, ललितपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलबार ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र राष्ट्रपति, प्रधानमन्त्री कार्यालयमा पनि बुझाउने पानेजु संघले जनाएको छ ।

कीर्तिपुरको सुखि गछेँ समाजले मंसिर १६ मा कीर्तिपुर–२ मा स्थापना गरिएको प्रतिमाका लागि काठमाडौं महानगरपालिकाले १७ लाख ७५ हजार रुपैयाँ दिएको छ । गछेँ समाज ‘याकः मिसा’ को आधिकारिक संस्था हो । ‘याकः मिसा’ कर्कोटक नागको भेषधारी कन्याका रूपमा पुजिन्छ । जसले नेपालमा १२ वर्षसम्म अनिकाल परेका बेला वृष्टि गराउन भारत असमको कामरूपकामक्ष पर्वतबाट मत्स्येन्द्रनाथ नेपाल ल्याउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापूलाई सहयोग गरेको किंवदन्ती छ ।

३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले शक्तिस्वरूपा कन्या ‘याकः मिसा’ र मत्स्येन्द्रनाथको मूर्ति प्रतिस्थापनाले जनतामा भ्रम सिर्जना भई धार्मिक आस्थामा विचलन आएको बताए । ‘मूर्ति हटाई साबिक अवस्था कायम गर्न माग गर्दछु,’ उनले भने, ‘अटेर गरेमा कीर्तिपुरमा याकः मिसालाई प्रसाद पुर्‍याउन जाने परम्परा बन्द गर्छौं ।’ उनले कीर्तिपुरका ‘प्यांग थां’ वासीले मत्स्येन्द्रनाथलाई पैसाको आडमा ज्वाइँको नाता दिई हक कायम गर्ने दुस्साहस गरेको आरोप लगाए ।

सुखि गछेँ समाजका अध्यक्ष रामकुमारी महर्जनले भने पुरातत्त्व विभाग र पानेजहरूसँग छलफल गरेर मूर्ति प्रतिस्थापन गरेको बताइन् । ‘सुरुमा कीर्तिपुरमा मन्दिर बनाउन लागेको र किंवदन्तीअनुसार त्यसमा मत्स्येन्द्रनाथको मूर्ति राख्नेभन्दा पुजारीहरूले हाँसीखुसी सहमति जनाएका थिए । अहिले आएर विरोध जनाएपछि अचम्ममा परेका छौं,’ उनले भनिन्, ‘पहिल्यै मूर्ति स्थापना गर्न हुँदैन भनेको भए बनाइने नै थिएन । मूर्ति बनाउँदादेखि प्रतिस्थापनको एक महिना बितिसक्दा पनि कहींकतैबाट विरोधमा पत्र प्राप्त भएको छैन ।’ तर, गुठी संस्थानका प्रशासक किरण शाक्यले भने मूर्ति बनाउन र प्रतिस्थापन गर्न संस्थानको स्वीकृति नलिइएको बताए । उनले विवाद देखिएकाले सरोकारवाला सबैलाई बोलाएर छलफल गरेर अगाडि बढ्ने बताए ।

मत्स्येन्द्रनाथलाई जीवित देवताका रूपमा पुजिन्छ । वैशाख कृष्ण त्रियोदशीका दिन बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्रासन, उपनयन, चूडाकर्म, इही (बेल विवाह) र गुफा राख्ने दसकर्म गर्नुपर्छ । महास्नान, कलेवर फेर्ने, रङरोगन गराइन्छ । दसकर्म सकिएपछि मत्स्येन्द्र्रनाथको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई पुल्चोकमा रथारोहण गराई रथ यात्रा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा लगनखेल थटिटोल चार दोबाटोबाट जावलाखेलतर्फ तान्ने साइत जुरेको ४ दिनअघि पानेजुहरू नांगो खुट्टा हिँडेर कीर्तिपुरमा ‘याकः मिसा’ (अविवाहित महिला) लाई फूलप्रसाद चढाउन जाने परम्परा छ । रथ जावलाखेल पुगेको चार दिनपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटोजात्रा गरिन्छ ।

पुरातत्त्व विभागका महानिर्देशक दमोदर गौतम र प्रवक्ता रामबहादुर कुँवरले यसबारेमा कुनै प्रतिक्रिया दिन चाहेनन् । मूर्ति पाटन महाबौद्धमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले हस्तान्तरण गरेपछि त्यहाँबाट कीर्तिपुरमा प्रतिस्थापन गरिएको थियो । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरसँग जोडिएका नगरलाई पनि सांस्कृतिक सहर बनाउने उद्देश्यअनुरूप सहयोग गरेको बताए । ‘विवाद गर्न बजेट विनियोजित गरेको होइन,’ उनले भने, ‘धर्म संस्कृतिले नमिल्ने भए विवाद गरिराख्नु हुँदैन ।’

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले कीर्तिपुर नगरपालिकासँग समन्वय गरेर भए पनि मूर्ति हटाउने दाबी गरे । ‘मूर्ति स्थापनाले अमूर्त सम्पदामा आँच पुग्ने देखिएको छ । मूर्ति स्थापना गरेपछि पुजारीहरू कीर्तिपुर प्रसाद पुर्‍याउन जानुको औचित्य छैन,’ उनले भने ।

प्रकाशित : पुस २०, २०७९ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×