कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जैविक मार्गमै पाटे बाघलाई पासो 

अर्जुन शाह

धनगढी — कैलालीको जैविक मार्गभित्रै पासोमा पारेर पाटे बाघ मारिएको छ । जानकी गाउँपालिका-९ मा रहेको अमरावती सामुदायिक वन उपभोक्ता समूहभित्र चोरी शिकारीका लागि थापेको पासोमा परेर बाघ मरेको वनका कर्मचारीहरुले बताएका छन् । 

जैविक मार्गमै पाटे बाघलाई पासो 

वनभित्र शिकारीले थापेको पासोमा परेर पोथी पाटे बाघ मरेको अवस्थामा आइतबार फेला परेको हो । लम्की क्षेत्रको डुडेझारीबाट दक्षिण, कर्णाली नदीबाट करिब एक किमि पश्चिम र कटासे बजार जाने सडकबाट करिब २० मिटरको दूरीमा सडक किनारमा बाघ मृत फेला परेको वनले जनाएको छ ।

पासोमा पारेर बाघ मारिएको ठाउँ परम्परागत रुपमा बाघ लगायत वन्यजन्तुले विचरण र ओहोरदोहर गर्ने कर्णाली जैविक करिडोरको क्षेत्र हो । बसन्ता करिडोर (जैविक मार्ग) सँग जोडिएको यस क्षेत्रलाई पनि सरकारले जैविक करिडोरको प्रस्ताव तथा योजना अघि बढाइसकेको छ ।

भारतको दुधवा नेश्नल पार्क, वसन्ता संरक्षण क्षेत्र, मोहना लालझाडी, बर्दिया राष्ट्रिय निकुञ्जबाट यही जैविक मार्गबाट वन्यजन्तुहरु ओहोरदोहोर गर्ने वन कर्मचारीहरु बताउँछन् ।

पहलमानपुर डिभिजन बन कार्यालयका प्रमुख रामबिचारी ठाकुरले चोरी सिकार गर्नेहरुले कर्णाली संरक्षित क्षेत्रको जैविक करिडोरमा पासोमा पारेर बाघ मारेको बताए । ‘पासोका लागि डोजरको ब्रेक क्लजको तार प्रयोग गरिएको छ,’ ठाकुरले भने ‘दुई–तीन अघि नै पासोमा परेको जस्तो देखिएिको छ । मृत शरीर सड्न थालेका अवस्थामा छ ।’

वन कार्यालयका पहलमानपुरका फरेस्टर रामबहादुर रावलका अनुसार मृत बाघको तौल एक क्वीन्टल भन्दा बढी छ । ‘पुच्छरसम्मको लम्बाइ सात फिट आठ ईन्च, शरिरको लम्बाई ५ फिट र गोलाई तीन फिट सात ईन्च छ,’ उनले भने ‘पोथी बाघ हो । कता बाट आएको हो भन्ने यकिन भएको छैन ।’

बर्दिया राष्ट्रिय निकुञ्जका अधिकृतहरुसहितको टोलीले मृत बाघलाई मुचुल्का बनाएर पहलमानपुर डिभिजन कार्यालयमा ल्याइएका छन् । पोष्टमार्टम गर्ने तयारी गरिएको पहलमानपुर डिभिजन वन कार्यालयका प्रमखु ठाकुरले बताए ।

घटनास्थल पुगेका फरेस्टर रावलका अनुसार उक्त बाघले सुर्किने पासोको गाँठो घाँटी परेपछि ज्यान जोगाउन निकै कोसिस गरेको देखिन्छ । त्यसक्रममा बाघ पाँचदेखि ६ फिटसम्म उफ्रिएको, करिब ५० मिटरजति टाढा घिस्रिएको पाइएको छ ।

घाँटीमा फसेको पासो निकाल्न बाघ निकै छट्पटिएको देखिएको छ । सुर्किने गाठोले घाँटी कस्सिएको थियो । रावलका अनुसार त्यस क्रममा पासो चुडाएर छट्पटिदै अमरावती वनमा लगाइएको काँडेतारमा अल्झिएर थप घाइते भएको देखिन्छ । काँडेतार पनि चुडिएको फरेस्टर रावलले बताए ।

‘मृत अवस्थामा बाघ फेला परेको स्थानका रुखमा माथि-माथिसम्म कोतरेको देखिन्छ,’ रावलले भने ‘सामूदायिक वनमा लगाइएको काँडेतारमा पनि अल्झिएको देखिन्छ ।’

घटनास्थलभन्दा करिब ५ सय मिटर वरिपरि बस्ती पर्छ । अमरावती गाउँ, कटासे गाउँ, बक्लवा सिविर, पाल बजार बस्ती पर्दछन् । स्थानीय बासिन्दाहरुका अनुसार यसअघि बाघ जनकल्याण र ऐश्वर्य सामुदायिक वनमा देखिरहन्थ्यो ।

बाघ मार्न पाइदैन । बाघका अंगहरुको अन्तराष्ट्रिय बजारमा महंगो मूल्य छ । छाला, दात, हाड नंग्रा लगायत बाघको शरीरको हरेक अंग महंगो मूल्यमा बिक्रि हुने गरेको वन कर्मचारी बताउँछन् ।

अमरावती सामूदायिक वन उपभोक्त समूहका सचिव भीमबहादुर रावलले आफ्नो सामूदायिकमा थापिएको पासो नभई सडक पारि हरियाली सामूदायिक वनबाट आएको हुनसक्ने बताए । ‘पासो थापेको ठाउँबाट पासो चुडाएर अघि बढेको जस्तो देखिन्छ । हाम्रो वनमा घेरबारको लागि राखिएको काँडे तारमा पनि अल्झिएको देखिन्छ,’ सचिव रावलले भने ‘बाघ मार्नकै लागि भन्दा पनि अन्य वन्यजन्तुका सिकारका लागि थापिएको पासो हुनुपर्छ ।’

कर्णाली संरक्षित क्षेत्र, त्यो पनि जैविक मार्ग भित्र संरक्षित बाघ पासोमा परेर मारिनु निकै गम्भीर कुरा भएको पहलमानपुर वन डिभिजन वन कार्यालयका प्रमुख ठाकुर बताउँछन् । ‘हामीले यो घट्नालाई गम्भीरतापूर्वक लिएका छौ,’ ठाकुरले भने ‘पासो थाप्ने कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गर्न लागि परेका छौं । संलग्नलाई कानुनी दायरामा ल्याएरै छोड्छौ ।’

कैलालीमा जैविक मार्ग क्षेत्रमा पटकपटक वन्यजन्तुको चोरीसिकार हुने गरेको पुष्टि हुँदै आएको छ । ०७७ फागुनमा पनि कैलालीमा पाटे बाघ मारिएको थियो । अन्तिम पटक मोहन्याल गाउँपालिकाको सालघारीमा देखिएको बाघ त्यसपछि भने कतै नदेखिएपछि मारिएको आशंका गरिएको थियो ।

त्यसअघि माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा पाटे बाघ देखिएको थियो । त्यसैको दोस्रो दिन पुस्तौनीदेखि बाघको बाटो र बाघको सुरक्षित बसोबास क्षेत्रका रुपमा रहेको गौरीगंगा नगरपालिकाको मसुरियाको बढैपुर, अण्डैया जंगलमा देखेका थिए । स्थानीयका अनुसार अण्डैयामा दुई दिन बिताएको बाघ मट्कौनाको जंगल तालबन्द हुँदै सालघारी पुगेको अनुमान गरेका थिए ।

पछि उक्त बाघ मारिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो । प्रहरीले ०७८ असारमा मोहन्याल गाउँपालिका-५ सालघारीका ५२ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुहा नगरपालिका-१ का ३० वर्षीय लोकेश सिजापतीलाई बाघको छालासहित पक्राउ गरेको थियो ।

१० फिट १ इन्च लामो बाघको छालासहित प्रहरीले उनीहरुलाई गौरीगंगा नगरपालिका ७ को सिंहासन सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको थियो । छालासहित पक्राउ परेपछि विगतमा घुम्दै त्यस क्षेत्रमा घुम्दै आएको सोही बाघ मारिएको पुष्टि भएको थियो । राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ अनुसार बाघ मार्नेलाई १५ वर्षसम्म कैद, दुई लाख रुपैयासम्म जरिवाना वा दुबै सजाय हुने ब्यवस्था छ ।

प्रकाशित : माघ १०, २०८० १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?