३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भलमन्सा छान्ने तयारीमा थारु समुदाय

मोहन बुडाऐर

धनगढी — तराईका धर्तीपुत्र दाबी गर्ने थारु समुदायले १ माघलाई नयाँ वर्ष अर्थात् माघी पर्वकारुपमा मनाउँछन् । माघी नजिकिँदा थारु समुदायमा बेग्लै रौनक छ । उनीहरुले यही दिन घरको किसनुवा र गाउँको भलमन्सा /बडघर (मुखिया) समेत छनोट गर्दछन् ।

भलमन्सा छान्ने तयारीमा थारु समुदाय

माघी पर्व यसकारण पनि उनीहरुका लागि महत्वपूर्ण छ । माघीमा उनीहरु घर-घरमा मिठो परिकार बनाउने, नयाँ तथा परपरागत पहिरनका साथ परिवारका सदस्यमा खुसी साँटासाँट र नृत्य गर्ने गर्दछन् । यस दिन घरमा मिठो खाना खाएर आफ्नो पहिरनमा गाउँको भलमन्साको पटाङ्गिनीमा जम्मा हुने र परम्परागत सखिया नाच लगायत नाचहरु नाच्ने गर्दछन् ।

त्यही दिन आधिकारिक रुपमा भलमन्साको नयाँ छनौट वा पुरानैलाई अनमोदन गर्ने काम समेत हुन्छ । थारु परिवारमा घरको घरमुली अर्थात् किसनुवा पनि त्यही दिन छान्ने चलन छ । थारु परिवारमा जेष्ठ नागरिकका अधारमा मात्रै घरभुली ठहर्दैन । जसले घर परिवारलाई मिलाएर लैजान सक्छ त्यसैलाई घरमुली छान्ने चलन छ ।

माघीकै दिन गाउँको भलमन्सा छनौट गर्नु पर्ने भएकाले अहिले थारु गाउँमा भलमन्साको पजनी सुरु भएको छ । ‘भलमन्साले बर्ष दिनमा गरेका राम्रो नराम्रो कामको मुल्यांकन गरेर गाउँले बीच कुरा चल्न थालेको छ,’ भजनी थापापुरका शकर कठरियाले भने,‘ माघीको दिनसम्ममा भमलन्साको पक्ष/बिपक्षमा कस्तो जनमत बन्छ, त्यसको अधारमा पुनः अनमोदन हुने/नहुने कुरा निश्चित हुन्छ ।'

उनीहरुले भलमन्साले बर्ष दिनसम्म गाउँका मान्छेमा समान न्याय र व्यवहार प्रकट गरेको भन्ने निष्कर्ष आए पुरानै भलमन्सालाई निरन्तरता दिने गर्दछन् । 'सकेसम्म सर्वसम्मत रुपमा भलमन्सा चुन्ने हो, यदि सर्वसम्मत भएन भने चुनावी प्रक्रियाबाट समेत भलमन्सा चुन्ने चलन छ,' उनले कठरियाले भने ।

तर चुनाव गर्नुपर्ने स्थिति बन्यो भने त्यसकालागि भने केही दिन ढिला हुन्छ । 'सर्वसम्मत भए माघीमै टुंगिन्छ । नभए माघभरि पजनी नै चल्छ । र महिनाको अन्त्यमा मात्रै भलमन्सा घोषणा हुन्छ,' उनले भने ।

भजनी-४, कटानपुरका हेरुलाल डगौराले भने आफूहरुको गाउँमा भलमान्सा चुन्न गएको पाँच वर्षदेखि निरन्तर चुनाव हुँदै आएको बताए । ‘गाउँमा गाउँले बीच भलमन्साका बिषयमा पजनी सुरु भइसकेको छ,’ डगौराले भने, ‘माघीको दिन गाउँलेले अहिलेकै वा नयाँ चाहियो भन्ने छन् । सायद चुनाव होला जस्तो छ ।’

धनगढी जाईका प्रभात चौधरीले भलमन्सा छनौट गर्ने विधि पुर्ण लोकतान्त्रिक रहेको बताए । उनका अनुसार अहिले ससंदमा निर्णायक रुपमा प्रस्तुत एजेन्डालाई जसरी बहुमत ध्वनि मतले पास गर्दा हुन्छ वा हुदैन भन्ने चलन छ ।

अहिले केही थारु बस्तीमा मतदानको प्रक्रियाबाट पनि भलमन्सा वा बडघर निर्वाचित गर्न सुरु भएको हेरुलालले बताए । गएको बर्ष कटानपुर थारु गाउँमा मात्रै नभएर, भजनीको महादेउली , पल्टुपुर र थापापुरमा पनि चुनाव भएको बताए ।

उनले पछिल्लो समयमा थारु समाजमा पुरुष मात्रै भलमन्सा हुने प्रचलन पनि हट्दै गएको बताए । गएको बर्ष महादेउलीमा सुमित्रा चौधरी भलमन्साको चुनावमा उम्मेदवार भएकी थिइन् । तर थोरै मतले पुरुष उम्मेदवार लेखराम चौधरी भलमन्सामा विजयी भएका थिए ।

भलमन्साका सहियोगीका लागि चार जना चिराकी र गुरुवा हुन्छन् । ‘चिराकी’को मुख्य काम भलमन्साको उर्दी र सूचनालाई सबैको घर– घर पुर्‍याउने हो । ‘गुरुवा’ धामी झाँक्री , औषधि मुलो, बैद्यमध्येका व्यक्ति छानिने गर्दछन् ।

प्रकाशित : पुस २१, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?