कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

हटेन छाउपडी, गाउँ पुगेकी शिक्षिकाले नै पाइनन् कुप्रथाविरुद्ध साथ  

सुदूरपश्चिम प्रदेश राजधानी रहेको जिल्लाभित्र अझै छाउपडी चलन
मोहन बुडाऐर

धनगढी — शिक्षा सेवा आयोग पास भएर उनलाई यस्तो गाउँमा खटिएर जान मन थियो जहाँ समाज परिवर्तनका लागि उदार होस् । शिक्षा र शिक्षकको सम्मान होस् । तर खटिएर पढाउन पुगेकफ गाउँ उनले अपेक्षा गरेभन्दा छुट्टै अनुभव भयो । भर्खरै मोहन्याल अधारभूत विद्यालय मोहन्याल-६ बादेगौजा पदस्थापना भएकी शिक्षिका विमलाकुमारी विष्ट महिनाबारीमा छाउगोठमा बस्नु परेको पीडा सुनाउँछिन् ।

हटेन छाउपडी, गाउँ पुगेकी शिक्षिकाले नै पाइनन् कुप्रथाविरुद्ध साथ  

गत वैशाख ११ मा विद्यालयमा हाजिर भएकी विष्टलाई गाउँलेले स्वागत हार्दिकता साथ गरे । बस्ने घरको कोठा उपलब्ध गराए । तर महिनावारीका लागि भने छुट्टै कटेरो देख्दा उनी जिल्ल परिन् ।

‘पहिलो दिनको स्कुलको छुट्टीपछि घरमा पुग्दा घरबेटी दिदीले कोठाभन्दा पहिला महिनावारीमा बस्ने छाउगोठ देखाइहालिन्,' मत झस्किएँ,'उनले भनिन्, ‘बाख्राको खोरभन्दा सानो गोठमा महिनावारीका ७ रात काटनुपर्ने कुराले म झन डराएँ ।'

आफू छाउगोठमा बस्न नसक्ने भन्दै उनले महिनावारी नमान्ने गाउँको अरु कसैको घर खोजीदिन आग्रह गरिन् । ‘तर गाउँका सबैले महिनावारीलाई बार्ने गरेका रहेछन्,’ उनले भनिन्, ‘नयाँ गाउँ र समुदायमा रहेको छाउपडी कुप्रथाको विरोध म कसको घरमा बसेर गर्ने र ? जीवनमा पहिलोपल्ट महिनावारीका ७ दिन छाउगोठ स्वीकार्नु मेरो बाध्यता भयो ।’

उनले अनुभव सुनाउँदै भनिन्, ‘जागिर छाडेर जान सकिदैनथ्यो, छाउपडी मान्दिन भनेर अर्को छुट्टै डेरा लिएर बस्ने ठाउँ पनि थिएन ।’ कहिल्यै नमान्ने महिनावारीलाई निकै कडा नियमका साथ बार्नु परेको उनले बताइन् । गाउँमा महिनावारी भएका बेला महिला तथा किशोरीले पानी नाउला/धारा छुनसम्म पाउँदैनथे । गाईगोरुले पिउने नाउलाको पानीले नुहाउने, लुगाधुने गर्नुपर्छ । गाउँमा पानीको अभाव पनि उत्तिकै थियो । देउता र झाक्री रिसाउँछन् भनेर महिनावारी भएका बेला ती महिलालाई गाउँको बाटो समेत प्रयोग गर्न दिदैनथे । मूलबाटो छाडेर अर्को साइडमा हिँड्नु पर्थ्यो ।

उनले बादेगौजामा सर्पको बिगबिगी भएको ठाउँ पनि भएको बताइन् । यहाँ वर्षमा ६/७ जनालाई सर्पले टोक्छ । समयमा उपचार नपाएर केहीको ज्यान पनि गएको छ । छाउगोठमा काल भएर सर्प नै बढी बस्थे । आफूलाई भने तीनवटा महिनावारी बार्दा उक्त गाउँमा भगवानले बचाइदिएको उनले बताइन् ।

मोहन्याल गाउँपालिकाको विकट बस्ती हो । ‘सर्पको टोकेमा वा अन्य अकस्मात बिरामीको उपचारका लागि ७ घण्टा पैदल यात्रा गरेर मात्रै तराई झर्न सकिन्छ,’ उनले भनिन्,‘त्यसैले छाउगोठमा बस्दा विषालु सर्पले डसेमा बाँच्न मुस्किल रहेछ ।’

शिक्षा सेवा आयोगको परीक्षा पास भएर दुर्गम गाउँको स्कुलमा पढाउन जान पाउँदा सुरुमा उनमा छुट्टै खुसी र रहर थिए । ‘विकासले पछाडि परेको बस्ती भए पनि सुदूरपश्चिमको राजधानी रहेको कैलाली जिल्लाको समाज त्यति पछाडि होला भन्ने सोचेकी थिइनँ,’ उनले भनिन्, ‘अझै समाज कति पछाडि रहेछ पहिलोपल्ट देख्ने अवसर मिल्यो ।’ समाजको पछौटेपन देखेर उनले उक्त गाउँबाट सरुवा खोजिन् ।

उक्त स्कुलकी प्रधानाध्यापक प्रतीक्षा थापामगरले पनि सात वर्षदेखि छाउगोठमा बस्दै आएको बताइन् । ‘मेरो आफ्नो घरमा महिनावारी मान्ने चलन छैन,’ उनले भनिन्, ‘यहाँ पढाउन आएपछि छाउगोठमा बस्न सुरु गरेकी छु ।’ छाउपडी प्रथा नमान्न गरेको आग्रह गाउँमा कसैले नस्वीकारेको उनले बताइन् । उनका अनुसार गाउँका महिला, किशोरी सबै महिनावारी हुँदा छाउगोठमा बस्दै आएका छन् ।

छाउपडी प्रथाबारे बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर घर्तीमगरले देउता रिसाउने भएकाले मान्नुपरेको बताए । ‘घरपरिवारले ३ देखि ५ दिन महिनावारी मान्छन्‚’ उनले भने,‘बाहिरको समाजको महिलालाई सात दिन छाउगोठमा बस्नु पर्छ ।’

आफ्नो गाउँमा मात्रै छाउगोठ नभएर मोहन्याल गाउँबस्तीका सबैजसो घरमा रहेको उनले बताए । ‘मोहन्यालका ७ वटै वडाका सवै बस्तीमा पुग्नुहोस् त,’ उनले भने,‘सबैको घरमा छाउगोठ पाउनुहुन्छ ।’ कहिलेकाही सर्पको टोकाइमा महिला मर्ने, छाउगोठमा आगो लाग्ने जस्ता दुर्घटना पनि हुने उनले बताए ।

कैलालीको चुरे र मोहन्यालका दुर्गम गाउँपालिकामा मात्रै नभएर तराईका अन्य स्थानीय तहमा बस्ने बस्तीमा समेत छाउगोठ भेटिने गरेको वृहस्पति रिसर्च सेन्टरका वीरेन्द्र बम बताउँछन् । समाज बाहिरबाट आधुनिक देखिए पनि धेरै परिवारमा कुप्रथा हट्न अझै बाँकी भएको उनी मान्छन् । ‘धनगढी बजार बाहिरका उपमहानगरकै केही वडाका घरमा समेत छाउगोठ छन्,’ उनले भने, ‘कैलालीमा छाउपडी प्रथा उन्मुलन भएको छैन ।’

सुदूरपश्चिममा छाउगोठ अछाममा मात्रै रहेको बुझ्नु अनुचित भएको तर्क उनको छ । प्रदेशको राजधानी भएको कैलाली जिल्लामा कतिको घरमा छाउगोठमा बस्न चेली बाध्य छन् भन्ने कसैले अध्यायनसमेत नगरेको उनले बताए ।

‘स्थानीय तहले छाउगोठ भत्काउने र यसका विरुद्धको जनचेतना फैलाउने जस्ता कार्यक्रम ल्याएको पनि छैन,’ उनले भने,‘ल्याउनुपर्ने आवश्यकता छ ।’

प्रकाशित : भाद्र १७, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?