भारतको धौलीगंगा बाँधले महाकाली तटीय क्षेत्रमा बाढीको त्रास
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
दार्चुला — दार्चुलाको सदरमुकामबाट करिब २३ किलोमिटर दूरीमा रहेको भारतको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका कारण महाकाली तटीय क्षेत्रका स्थानीयहरूमाझ हरेक वर्खायाममा बाढीको त्रास हुने गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![भारतको धौलीगंगा बाँधले महाकाली तटीय क्षेत्रमा बाढीको त्रास](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/miscellaneous/mahakali-1072023041216-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
१० वर्षअघि असार महिनाको सुरुमै भारतीय पक्षले उक्त बाँधको ढोका एकैसाथ खोल्दा तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।
धौलीगंगा बाँधकै कारण दार्चुलाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि दार्चुलाको लाली राडम तथा बैतडी, डडेल्धुरा र कञ्चनपुरसम्म बाढीको जोखिम बढाउने गरेको छ । वर्षेनि वर्षात् सुरुसँगै महाकालीको बहाव बढ्दै गएपछि नदी किनारका बस्तीमा बाढी पस्नसक्ने भन्दै स्थानीयहरू चिन्तित छन् । यसपटक पनि जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई महाकालीको बहाव जुनसुकै समयमा बढ्ने सक्ने भन्दै सचेत रहन सूचना सार्वजनिक गरेको छ ।
महाकाली किनारका बस्तीमा बसोबास रहेका स्थानीयलाई प्रत्येक बर्खा भारतले जुनसुकै बेला धौलीगंगाको बाँध खोल्नसक्ने हुँदा बाढीको त्रास बढेको महाकाली नगरपालिका–१ का तारादत्त जोशीले बताए । १० वर्षदेखि हरेक बर्खामा स्थानीयहरूले महाकालीको त्रास खेप्दै आएको जोशी बताउँछन् । ‘नदी किनारमै बस्ती रहेकाले ठूलो बाढी आए कुन बेला बगाएर उठीबास हुने हो भन्ने त्रासमा बाच्नु पर्छ’ उनले भने ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर धौलीगंगाको बाँधबाट जुनसुकै बेला पानी छोड्ने सुनेपछि राति निदाउन नै नसकेको उनले सुनाए । हाल केही दिनदेखिको वर्षासँगै नदीमा पानीको बहाव दिनहुँ बढ्दै गएकोले जति बेला पनि बाँधको ढोका खोलिनसक्ने भारतीय पक्षबाट जिल्ला प्रशासनलाई जानकारी आएको छ ।
नदी किनारमै बसोबास गर्ने स्थानीयहरु दुई/तीन दिनसम्म निरन्तर वर्षा भए बाढीको जोखिम बढ्ने बताउँछन् । तर भरपर्दो वैकल्पिक उपाय पनि नभएकोमा उनीहरूको चिन्ता छ ।
‘बाढीबाट जोगिन अन्य ठाउँमा सर्ने विकल्प छैन । नदी तटीय क्षेत्रमा दर्जनौँ बस्तीहरु छन्,’ महाकाली नगरपालिका–१ श्रीबगरका स्थानीय सुरेन्द्र बहादुर बमले भने, ‘लामो समयदेखि तटबन्ध निर्माण नभएको ठाउँमा जमिन कटानसँगै बाढीको जोखिम बढ्ने देखिन्छ ।’ झरी परेको रात नदी बढेर गाउँ पस्ने चिन्ताले रातभर ननिदाएर जाग्राम बस्ने गरेको उनले भने ।
महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ को सिमानाको बस्ती श्रीबगरमा महाकाली नदीसँगै निजाङगाडको उच्च जोखिममा रहेको छ । दुई वर्ष अगाडि निजाङगाडमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । श्रीबगर बस्तीको पारितर्फ २८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत परियोजनाको कार्यालय रहेको छ । उक्त कार्यालयको सुरक्षाका लागि भारतीय पक्षले महाकाली नदीको बहाव नेपालतर्फ फर्काइ पक्की तटबन्ध बनाएपछि श्रीबगर बस्तीमा बाढीको त्रास अझ बढेको छ । माथिबाट निजाङगाड र तलबाट महाकालीको बहावले कटान गरिरहेको स्थानीय जंगबहादुर बमले बताए ।
‘तटबन्ध निर्माणको ठेक्का लगाइएको ५ वर्ष बितिसक्दा पनि निर्माण नहुँदा महाकालीले वर्षेनि बस्ती आसपास तीव्र कटान गरिरहेको छ,’ उनल भने ।
नदीको सतह बढ्ने बित्तिकै तटीय क्षेत्रमा जमिन कटान गर्ने हुँदा बाढीको उच्च जोखिम भएको ठाउँमा तारजालीकै भए पनि तटबन्ध निर्माण गर्नुपर्ने नदी किनारवासीले माग गर्दै आएका छन् । महाकाली तटीय क्षेत्रमा सदरमुकाम तल धाप, असिकाडा, सकार, काकडा, दत्तु, बेत, जौलजीवि, भोल्यानी, उकु, बाकु, लाली, राडम लगायतका बस्तीहरु कटान भएका छन् । केही ठाउँमा तारजालीको अस्थयी तटबन्ध निर्माण गरिएको छ ।
महाकाली नदी नियन्त्रण आयोजनाले विगत १० वर्षदेखि महाकाली तटीय क्षेत्रमा तटबन्ध निर्माणको काम गर्दै आएको भए पनि अहिलेसम्म धेरै ठाउँहरुमा तटबन्ध बनाउन बाँकी रहेकोले बाढी जोखिम कायमै रहेको छ । आयोजनाले सदरमुकाम क्षेत्रमा पक्की तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको र र श्रीबगड क्षेत्रमा निर्माणाधीन रहेको जनाएको छ ।
त्यस्तै नदी तटीय क्षेत्रको धेरै ठाउँहरुमा अस्थायी तारजाली तटबन्ध निर्माण गरिएको छ । महाकाली तटीय क्षेत्रको ब्यास गाउँपालिका–१ सितापुलदेखि लेकम गाउँपालिका–३ लालीसम्मका विभिन्न ठाउँहरुमा अस्थायी तारजालीको तटबन्ध निर्माणाधीन अवस्थामा छ । नदी तटीय क्षेत्रको जोखिमयुक्त ठाउँहरु पहिचान गरी प्राथमिकताका आधारमा अस्थायी तटबन्ध निर्माणको काम जारी रहेको आयोजनाले जनाएको छ ।
मंगलबार बिहानैबाट बाँधका ढोकाहरु खोलिने
यसैबीच मंगलबार बिहानैबाट भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु १५ घण्टासम्म खोलिने भएका छन् ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोल्न लागिएको जनाएको छ । परियोजनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रमा मंगलबारका दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्मका लागि बाँधका ढोकाहरु खोलिनेछ ।
आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरेको हो । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
प्रकाशित : असार २५, २०८० २०:१३