कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने- पर्यटकीय प्रवर्द्धनका लागि विशेष संयन्त्र बनाइन्छ

अर्जुन शाह

खप्तड — प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको प्रवर्द्धनका विशेष संयन्त्र बनाइने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई खप्तड विकास प्रतिष्ठान वा खप्तड विकास कोषको रूपमा विकास गरिने बताएका हुन् । 

खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने- पर्यटकीय प्रवर्द्धनका लागि विशेष संयन्त्र बनाइन्छ

प्रकृतिले दिएको स्वर्गलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले विशिष्ट अतिथिका रुपमा उपस्थित रहेका भारतका प्रशिद्ध योगगुरु बाबा रामदेवसमक्ष खप्तडको विकासका लागि आवश्यक सहयोगको अपिलसमेत गरे ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरुडपुराणमा वर्णन भएको स्वर्गभन्दा पनि खप्तडको सुन्दरता धेरै रहेको बताए । कार्यक्रममा सुदूरपश्चिमका कला र संस्कृतिहरुसमेत प्रस्तुत गरिएका थिए ।

परराष्ट्रमन्त्री एनपी साउदले खप्तडको महत्व विश्वसामु चिनाउन चाहेको बताउँदै यस अन्तर्राष्ट्रिले सम्मेलनले योगदान पुर्‍याउने बताए । पूर्वउपप्रधानमन्त्री भीम रावलले खप्तडको विकास पछाडि परेको सुदूरपश्चिमलाई उठाउने आधार भएको बताए ।

योगगुरु रामदेवले खप्तडको भाग्योदय सुरु भइसकेको बताए । उनले सरकारले खप्तडको विकासका लागि बेग्लै नीति बनाउनुपर्ने सुझाव दिए । ‘खप्तड विश्वमै अध्यात्मिक टुरिजमको केन्द्र बन्न सक्छ,’ रामदेवले भने ‘खप्तडमा अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्ने काम अब मेरो भयो ।’

आर्युवेदाचार्य बालकृष्णले खप्तड ईश्वरीय देन भएको बताए । ‘जीवित रहँदै स्वर्ग हेर्नु छ भने खप्तड घुमे पुग्छ,’ उनले भने, ‘यस क्षेत्रको विकास लागि हामी सम्पूर्ण योगदान गर्न तयार छौं ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ण, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, योगगुरु बाबा रामदेव, आयुर्वेदाचार्य बालकृष्ण, संघीय संसद्‌का सांसदहरु, प्रदेश सरकका मुख्यमन्त्रीसहित मन्त्रीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

प्रदेश सरकारको आयोजना तथा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको व्यवस्थापनमा सुरु भएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र भारतका विभिन्न ठाउँबाट खप्तड अवलोकनकर्ता तथा श्रद्धालुहरुको उपस्थिति छ ।

उद्घाटन सत्रको समापन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले कानुनी जटिलताहरु फुकाएर खप्तडको विकास अघि बढाउनु पर्ने बताए । पहिलो पटक मंगलबार सुरु भएको खप्तड अध्यात्मिक सम्मेलन यही जेठ २५ गतेसम्म चल्ने छ । सम्मेलनको दोस्रो दिन बुधबार 'खप्तडको विकास' सवालमा विज्ञहरु, स्थानीय तहका जनप्रतिनीधि, पूर्वउपप्रधानमन्त्री लगायतको सहभागितामा छलफल र कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको आयोजकले बताएको छ ।तस्बिरहरु : अर्जुन शाह/कान्तिपुर


प्रकाशित : जेष्ठ २३, २०८० १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?