कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सीमामा कोरोना संक्रमणको जोखिम

महाकाली प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण बन्द
अर्जुन शाह, भवानी भट्ट

धनगढी,कञ्चनपुर — भारतमा कोरोना संक्रमण बढेसँगै त्यहाँबाट घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ । पछिल्लो एक सातादेखि नाकामा दिनहुँ संक्रमण देखिन थालेको हो । भारतमा कोरोना संक्रमण बढ्न थालेपछि सीमावर्ती नेपाली क्षेत्रमा पनि जोखिम बढेको छ ।

सीमामा कोरोना संक्रमणको जोखिम

चैते दसैं र सुदूरपश्चिमको प्रमुख चाड नयाँ वर्षको ‘बिशु पर्व’ का लागि भारत पसेकाहरूको घर फर्कने क्रम केही दिनयता बढेको छ । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका भएर दिनहुँ ३/४ सयको संख्यामा नेपाली कामदार घर फर्किरहेका छन् । तर सीमानाकामा प्रभावकारी कोरोना परीक्षणको व्यवस्था नहुँदा संक्रमणको जोखिम बढेको हो ।

सीमा नाकाहरूमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरूमा संक्रमण देखिएको छ । कैलालीको गौरीफन्टा सीमा नाकामै ५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार ४२६ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । कैलाली र कञ्चनपुरमा गरी दुई जना सक्रिय संक्रमित छन् ।

सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरूमा नियमित रूपमा कोरोना परीक्षणको कार्य भइरहेको छ । सीमा नाकाहरूमा दैनिक रूपमा संक्रमित पुष्टि हुने गरेको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । पछिल्लो समयमा संक्रमण दर बढ्दै गएको छ ।

सुदूरपश्चिमेलीहरूको बिषु पर्व पनि नजिकिँदै गएकाले भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रूपमा स्वदेश फर्किनेको क्रम पनि बढेको छ । त्यससँगै संक्रमणदर पनि वृद्धि भएको जोशीको भनाइ छ ।

भारतका विभिन्न सहरहरूमा संक्रमण बढेकाले सीमा नाकामा परीक्षणमा जोड दिइएको जोशी बताउँछन् । उनले खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीले बताए ।

कञ्चनपुरको गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार चैत ९ मा लामो समयपछि भारतको मुम्बईबाट आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि बुधबारसम्म ६ जनामा संक्रमण देखिएको छ । आइतबार दुई जनामा र सोमबार एक जनामा संक्रमण देखिएको थियो ।

बुधबार हेल्थ डेस्ककै एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको हेल्थ डेस्ककी इन्चार्ज प्रीति बोहराले बताइन् । उनका अनुसार बुधबार भारतबाट आएका २५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । उनीहरूमा भने संक्रमण देखिएन । अहिले भारतबाट घर फर्किने नेपालीको संख्या दैनिक ३ सयको हाराहारीमा छ । नयाँ वर्ष बिशु मनाउनका लागि पनि घर फर्किनेको चाप बढ्दै गएको छ ।

भारतको उत्तर प्रदेश, दिल्ली र मुम्बईलगायत क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । उक्त क्षेत्रबाट घर फर्किने नेपालीहरूमा पनि फाट्टफुट्ट रूपमा संक्रमण देखिइरहेको बोहराले बताइन् । नाकामा संक्रमण देखिएका व्यक्तिलाई सोझै घर पठाउँदासमेत जोखिम बढेको छ । उनीहरू सार्वजनिक यातायातबाट घर जाने गरेका छन् ।

केही दिनयता पूर्णागिरि मेलाका कारण गड्डाचौकीसँगै ब्रहृमदेव नाकामा दर्शनार्थीको घुइँचो छ । एकै दिन १५/२० हजारको संख्यामा दर्शनार्थी आउने गरेका छन् । यसले समेत संक्रमणको जोखिम बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

नाकामा एन्टिजेन परीक्षण भइरहे पनि स्वास्थ्य संस्थाहरूमा भने परीक्षण हुन सकेको छैन । स्थानीय तहहरूमा एन्टिजेन किटको अभाव र आवश्यक तयारीका कारण परीक्षण हुन नसकेको हो । ‘पालिकाहरूसँग कीट पनि छैन, बिरामी पनि आएका छैनन्,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले भने, ‘संक्रमण बढ्न थालेपछि हामीले पनि तयारी थालेका छौं ।’

संक्रमण कम भए पनि अस्तव्यस्त भएको परीक्षण तथा आइसोलेसनका विषयमा पनि छलफल भइरहेको भट्टले बताए । उनले स्थानीय तहका स्वास्थ्य शाखाहरूमा पनि यसबारे जानकारी गराइएको सुनाए ।

महाकाली प्रादेशिक अस्पतालमा लामो समयदेखि पीसीआर परीक्षण बन्द छ । अहिले बिरामी नआएकाले परीक्षण नभइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए । ‘अहिले भाइरलका बिरामी आइरहेका छन्,’ उनले भने, ‘शंकास्पद बिरामी आए एन्टिजेन परीक्षण गरिनेछ ।’

जनशक्ति अभाव र आवश्यक केमिकलको अभावका कारण तत्काल पीसीआर ल्याब सञ्चालन गर्न नसकिने डा. भट्टले बताए । उनले संक्रमण बढी देखिएमा ल्याब पनि सञ्चालन गरिने बताए ।

प्रकाशित : चैत्र १७, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?