भारतीय ट्याक्सी रोकिएपछि मैत्री बसमा अवरोध- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय ट्याक्सी रोकिएपछि मैत्री बसमा अवरोध

स्थानीय प्रशासनले मनपरी ढंगले चलिरहेका भारतीय नम्बरका ट्याक्सीमा रोक लगाएको छ
भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरदेखि भारतको राजधानी दिल्ली र देहरादुनसम्म चल्ने नेपाल–भारत मैत्री बस सञ्चालनमा भारतीय ट्याक्सी व्यवसायीले अवरोध गरेका छन् । उनीहरूले नेपाल–भारत सीमानजिकै शारदा ब्यारेजमा नेपाली नम्बरका बस रोकेर बिहीबार अवरोध गरे ।

हरेक दिन साँझ महेन्द्रनगरबाट दिल्ली र देहरादूनका लागि नेपाली र भारतीय नम्बरका बसहरू छुट्ने गर्छन् । बिहीबार नेपाली नम्बरका बसहरू झन्डै चार घण्टा शारदा ब्यारेजमै रोकिएका थिए । अबेर रातीमात्रै बसहरू गन्तव्यतिर लागेका थिए ।

स्थानीय प्रशासनले मनपरी ढंगले चलिरहेका भारतीय नम्बरका ट्याक्सीहरूमा रोक लगाएपछि तिनै ट्याक्सी व्यवसायीले मैत्री बसमा अवरोध गरेका हुन् । प्रशासनले चैत १ देखि सुविधाको भरमा मनपरी ढंगले चलिरहेका ट्याक्सीमा रोक लगाएको हो । ‘भारतीय नम्बरका ट्याक्सीमा रोक लगाएपछि उनीहरूले बसमा अवरोध गरेका हुन्,’ महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले भने, ‘छलफलपछि केही सहज भएको छ, अव रोकिदैन होला ।’ ट्याक्सीको विषयमा केही गलत बुझाइका कारण मैत्री बस रोकिएको उनले बताए ।

भारतीय नम्बरका ट्याक्सीहरू सीमा क्षेत्रको नजिकको बजारसम्म सुविधाको भरमा चल्न पाउछन् । भारतीय नागरिक बोकेर भन्सार काटेर जुनसुकै ठाउमा पनि पुग्न सक्छन् । तर नेपाली नागरिक बोकेर सुदूरपश्चिम मात्रै नभई देशभरि नै चलिरहेकाले यसलाई नियन्त्रण गर्न खोजिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।

भारतीय ट्याक्सी व्यवसायीहरूले निर्वाध रूपमा ट्याक्सीहरू नेपालमा चल्न पाउनुपर्ने माग राखेका थिए । तर नेपालबाट मैत्री बसबाहेक अन्य सवारी साधनहरू व्यावसायिक रुपमा भारततर्फ चल्न पाउँदैनन् । ‘मनपरी ढंगले चलिरहेका भारतीय

ट्याक्सीलाई नियन्त्रण गरिएको हो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘उनीहरूले मैत्री बस रोकेको सुनिएको छ, तर आधिकारिक रूपमा जानकारी आएको छैन ।’

अहिले महेन्द्रनगरबाट भारतको राजधानी दिल्ली र उत्तराखण्डको राजधानी देहरादूनसम्म नियमित रूपमा मैत्री बस सेवा सञ्चालनमा छ । रोजगारीका लागि भारत जाने नेपाली कामदारहरूलाई यसले निकै सहज भएको छ । दैनिक ६ वटा नेपाली र ६ वटा भारतीय बसहरू महेन्द्रनगरबाट दिल्ली र देहरादूनका लागि जाने गरेका छन् । महेन्द्रनगरदेखि दिल्लीसम्म दिवा सेवा पनि सञ्चालनमा छ ।

नेपाल र भारतबीच मैत्री बस सेवा सञ्चालन गर्ने सहमतिपछि सन् २०१५ देखि महेन्द्रनगरबाट मैत्री बस सेवा सञ्चालन हुँदै आएको छ । भारतको उत्तर प्रदेश परिवहन र उत्तराखण्ड परिवहनसंँग सम्झौता गरेर मैत्री सेवा सञ्चालन भइरहेको महाकाली यातायात प्रालिका अध्यक्ष पन्तले बताए । कोरोना संक्रमणका बेला दुई वर्ष रोकिएको उक्त सेवा गतवर्षदेखि पुनः सञ्चालन भएको हो ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

मैदा उद्योग चल्न कठिन

मोहन बुडाऐर

धनगढी — भारतले गहुँ निर्यातमा बन्देज लगाउँदा मारमा परेका नेपाली मैदा उद्योगीले नेपाल सरकारसंँग २ लाख मेट्रिक टन गहुँ आयातका लागि पहल गर्न माग गरेका छन् । फागुनमा भारतले नेपाल सरकारको पहलमा ‘परिणात्मक बन्देज’ मा ५० हजार मेट्रिक टन निर्यात खोलेको थियो ।

कैलाली धनगढीका मैदा उद्योगी तथा कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज अग्रवालले अघिल्लो महिना सरकारको पहलमा भारतबाट नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ आयातले उपभोक्ताले मैदालगायतका बस्तु थोरै भए पनि सस्तोमा पाएको बताए ।

उक्त गहुँ नेपालका सबै ४० वटा मैदा उद्योगलाई कोटा निर्धारण गरी आयात गर्ने स्विकृति दिएको थियो । सरकारले अघिल्लो वर्ष उद्योगले उत्पादन गरेको मैदाको ७ प्रतिशतका दरले सबैलाई पुने गरी कोटा निर्धारणको आयात स्वीकृति दिएको थियो । जसमध्ये १३ वटा उद्योगले कोटा निर्धारण गर्दा समयमा आयात गर्ने निवेदन भर्न छुटेर ७ प्रतिशत पनि आयात गर्न पाएका थिएनन् ।

कैलालीका तीन वटामध्ये गोदावरी फ्लोर मिलको कोटा निर्धारण गहुँ आयात गर्न छुटेको थियो । कोटा निर्धारणमा कैलालीको आरपी फलोर मिल र भागेश्वरले भने अघिल्लो वर्ष उत्पादन भएको मैदाको ७ प्रतिशतका गहुँ आयात गर्ने स्वीकृति पाएको थियो । भागेश्वरले ३ हजार र आरपीले २० हजार क्विन्टल गहुँ मात्रै भारतबाट आयात गर्न पाएको थियो ।

‘परिणात्मक बन्देज’ मा गरिने गहुँको आयात नेपाली मैदा उद्योगका लागि दीर्घकालीन समाधान नभएर छोटो अबधिमा पाउने राहत भएको अग्रवालको भनाइ छ । व्यवसायी अग्रवालले नेपाली ४० वटा मैदा उद्योगका लागि ८ देखि १० लाख मेट्रिक टन गहुँ आयात हुनुपर्ने बताए । उनका अनुसार गहुँको आन्तरिक उत्पादनले ४/५ महिना मात्रै नेपाली मैदा उद्योगलाई धान्ने सक्छ । उनले आइतबारसम्म औपचारिक रूपमा नेपाल मैदा उद्योग व्यवसायी संघले निर्णय गरेर सरकारसंँग गहुँ आपूर्तिका लागि भारत सरकारसंँग पहल गर्न माग राख्न जान लागेको समेत बताए ।

सुदूरपश्चिम उद्योग वाणिज्य संघका अध्यक्ष एंव भागेश्वर फ्लोर मिलका प्रबन्धनिर्देशक शंकर बोगटीले भारत निर्भर नेपालका मैदा मिलका लागि सरकारले भारतबाट आयात गर्न पाउने गरि पहल नगर्दासम्म समस्या स्थायी रुपमा समाधान नहुने बताएका छन् । ‘परिणात्मक बन्देज’ मा भारतको गहुँ निर्यात फुकुवाले मैदा उद्योग मार मै पर्ने छन्,’ बोगटीले भने, ‘आन्तरिक उत्पादन बढ्नु जरुरी छ ।’

उनले आन्तरिक गहुँ उत्पादन बजारमा आउने बेला भएकोले पनि अहिले तत्काल मैदा, सुजी र आटाको आपूर्तिमा समस्या नआउने बताए । तर आन्तरिक गहुँ उत्पादन ५ महिना पनि नपुग्ने भएकोले सरकारले गहुँको आयातमा गृहकार्य गरेर भारत सरकारसँंग वार्षिक निर्यात कोटा माग्नुपर्ने जनाए । बेगटीले नेपाली मैदा उद्योग ‘परिणात्मक बन्देजमा गहुँको आयातले नेपाली उद्योग नचल्ने बताए । भारतबाट गहुँ आयात फुकुवा नगरे नेपाली उद्योग कुनै दिन पनि बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×