कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

संख्या बढे पनि हिउँ चितुवा संरक्षणमा चुनौती

मुगु — हिमाली जिल्ला डोल्पामा दुर्लभ हिउँ चितुवाको संख्या नेपालकै उच्च मानिए पनि संरक्षणमा चुनौती देखिएको छ । डिभिजन वन कार्यालयले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डिभिजन वन सामुदायिक क्षेत्रमा ३० वटा दुर्लभ हिउँ चितुवा भेटिएको तथ्यांक सार्वजनिक गरे पनि संरक्षणमा चुनौती देखिएको जनाएको हो ।

संख्या बढे पनि हिउँ चितुवा संरक्षणमा चुनौती

चोरीसिकार, आहारा, डढेलोले बास स्थानमा परेको जोखिम जलवायु परिर्वतनको असर लगायतका कारण हिउँ चितुवा संरक्षणमा मुख्य चुनौती देखिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।

उनका अनुसार हिउँ चितुवाको अति मन पर्ने आहारा र बासस्थान निगालो हो । स्थानीयले आफ्नो प्रयोजनको लागि निगालो प्रयोग गर्न थालेपछि मासिदै जाँदा हिउँ चितुवालाई समस्या हुन सक्ने देखिएको छ ।

‘निगालोको टुसा हिउँ चितुवाको मुख्य आहारा हो,’ उनले भने, ‘निगालो मासिँदै जान थालेपछि हिउँ चितुवालाई आहाराको कमी हुन सक्छ ।’ हिउँ चितुवाको छाला बिक्री गर्न र घरमा सजाएर राख्नको निम्ति चोरी सिकारीको नजरमा रहेको श्रेष्ठले सुनाए ।

‘कतै–कतै ठाउँमा धामीझाँक्रीले समेत हिउँ चितुवाको छाला ओछ्याउन प्रयोग गरेको देखियो । यो अवस्थाले गर्दा पनि हिउँ चितुवा संरक्षणमा समस्या देखिएको छ,’ उनले भने । हिउँ भएको सेरोफोरोमा बस्ने यो जनावर जलवायु परिर्वतनले हिउँ कम पर्न थालेको र हिमाल नांगा हुन थालेपछि जोखिम हुन सक्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

अर्कोतिर जलवायु परिर्वतनले तापक्रम तलमाथि हुँदै जाँन थालेपछि हिउँ चितुवालाई असर पर्न सक्ने अनुमान गरिएको छ । डोल्पा हिउँ चितुवाको प्रमुख अनुसन्धान बन्न सक्ने श्रेष्ठले बताए । जलवायु परिवर्तनले हिउँ चितुवालाई के कस्तो असर पारेको छ भन्ने विषयमा अनुसन्धान जरुरी रहेको उनको भनाई छ ।

नेपाल सरकार र विश्व वन्यजन्तु कोषले पहिलो पटक २००९ मा साइन सर्भे अर्थात हिउँ चितुवाको पाइला दिशा पिसाब प्रबिधिबाट गणना गर्दा १ सय १० देखि १ सय ३० को अनुमान गरिएको थियो । २०१९ मा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरी ट्रयापिङ्ग सर्भेक्षण प्रविधिबाट गणना गरेको थियो । यो प्रविधिको प्रयोग गरी हिउा चितुवाको गणना डोल्पामा पहिलो पटक गरिएको विश्व वन्यजन्तु कोषका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए ।

विश्वभरि हिउँ चितुवाको संख्या ४ हजारदेखि ६ हजार ५ सयको हाराहारीमा रहेको कोषले जनाएको छ । एसियाका १२ देशमा पाइने हिउँ चितुवा जनघनत्वको हिसाबले डोल्पामा पाइएको संख्या उच्च मानिएको डिभिजन वन अधिकृत रावतको भनाइ छ ।

प्रकाशित : वैशाख १०, २०८१ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?