कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

शे-फोक्सुण्डो निकुञ्जमा भेटिए दुर्लभ ९० हिउँ चितुवा

मुगु — मुगु र डोल्पा जिल्लामा फैलिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ ९० वटा हिउँ चितुवा भेटिएका छन् । निकुञ्जले सन् २०१९ मा हिउँ चितुवा गणनाको लागि निकुञ्ज र मध्यवर्ती  क्षेत्रमा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरेको थियो । ती क्यामेराबाट प्राप्त रिपोर्टका आधारमा सो क्षेत्रमा ९० वटा हिउँ चितुवा भेटिएका शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले बताए । 

शे-फोक्सुण्डो निकुञ्जमा भेटिए दुर्लभ ९० हिउँ चितुवा

स्वचालित क्यामेरा ट्र्याप जडान गरीएको करिव १ वर्षपछि हिउँ चितुवाको तथ्यांक विश्लेषण गर्ने कार्य सुरु गरीएको निकुञ्जले जनाएको छ । नेपाल सरकार र विश्व वन्यजन्तु कोषले प्रथम पटक सन् २००९ मा साइन सर्भे अर्थात् हिउँ चितुवाको पाइला दिशा पिसाव प्रविधिबाट गणना गर्दा १ सय १० देखि १ सय ३० को अनुमानित तथ्यांक रहेको थियो ।

सन् २०१९ भएको क्यामेरा सर्भेक्षण प्रविधिबाट गरीएको गणनामा भने हिउँ चितुवाको संख्या घटेको देखिएको छ । यस्तो प्रविधिको प्रयोग गरी हिउँ चितुवाको गणना डोल्पामा पहिलो पटक भएको हो । विश्व वन्यजन्तु कोषका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्र जंग हमालले यहाँ यस्तो प्रविधिको उपयोग गरी पहिलो पटक हिउँ चितुवाको गणना गरीएको बताए ।

हिउँ चितुवाको मुख्य आहारा झारल, घोरल नाउर रहेको र सोही झारल घोरल र नाउरको संख्या निकुञ्जमा ४ हजार भन्दा बढी रहेको निकुञ्जले जनाएको छ । निकुञ्जमा जडान गरीएको क्यामेराको कभरेज क्षेत्र ४ हजार ८ सय वर्ग कि. मि. रहेको छ । प्राप्त नजिताले प्रति १ सय वर्ग किलोमिटर दुई–दुई रहेको देखिने गरेको निकुञ्जले जनाएको छ ।

२०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्मा हिउँ चितुवाको घनत्व नेपालकै उच्च रहेको विश्व वन्यजन्तु कोषका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत हमालले जानकारी गराए । अधिकृत हमालका अनुसार निकुञ्ज क्षेत्रको करिव २५ सय देखि ५५ सय मिटर उचाइमा हिउँ चितुवा भेटिने गरेको छ ।

३५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल निकुञ्जले ओगटेको छ । यो निकुञ्ज भित्र मुगुको मुगुम् कार्मारोङ गाउँपालिका सहित डोल्पाका तीन वटा गरी ४ वटा स्थानीय तह पर्छन् । शे–फोक्सुण्डा राष्टिय निकुञ्जमा भ्रमण गर्ने बार्षिक आन्तरिक तथा बाहृय पर्यटकको संख्या करिव ४ हजार रहेको छ । मुगुको रारा भ्रमण गर्ने पर्यटकको संख्या बार्षिक ११ हजार छ ।

ऐतिहासिक शे–गुम्बा र ताल बाट शे–फोक्सुण्डो राष्टिय निकुञ्ज नामाकरण गरीएको छ । डोल्पाको दुनै बजारबाट २ दिन पैदल हिडेर शे-फोक्सुण्डो ताल पुग्न सकिन्छ । निकुञ्जको बार्षिक राजश्व २ करोड बढी रहेको छ । बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनले गर्दा निकुञ्जको बार्षिक राजश्व बढी जम्मा हुने निकुञ्जको भनाइ छ ।

शे–फोक्सुण्डो राष्टिय निकुञ्जमा दुर्लभ हिउँ चितुवा सहित कस्तुरी, झारला नाउर, घोरल, लंगुरबादर, स्याल, फयाउरो बन्यजन्तु र डाँफे, कालिज, चिर कालिज लगायत जीवजन्तु तथा सल्लो उत्तिस देवदार जुनिपर बनस्पति पाइने गरेका छन् ।

प्रकाशित : चैत्र २९, २०८० १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?