कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णालीमा ‘लगानीको लगन’ कहिले आउँछ ? 

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णालीमा लगानीको लगन कहिले आउँछ ? कर्णालीवासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो ? आइतबार ‘कर्णाली उत्सव : कुडा कर्णालीका’को ‘लगानीको लगन’ सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यही प्रश्न गरे ।

कर्णालीमा ‘लगानीको लगन’ कहिले आउँछ ? 

सत्रका वक्ताहरु थिए, कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन क्षेष्ठ र नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल ।

मन्त्री सिंहले कर्णालीमा पूर्ण रूपमा लगानी मैत्री वातावरण बन्न बाँकी रहेको स्वीकारे । तर कर्णालीमा लगानीको लागि लगन पर्खिराख्न पर्ने अवस्था भने नरहेको बताए । कर्णालीमा पूर्ण रूपमा लगानीमैत्री वातावरण बन्न नसकेको उनले बताए । ‘कर्णालीमा संघीयतापछि जल, जंगल, जमिन उपभोगको यात्रामा छ,’ उनले भने, ‘ठूलो भूगोल र सीमित स्रोत साधनले गर्दा अहिले नै नागरिकले देखिने र महसुस गर्ने गरी लगानीमैत्री वातावरण बन्न नसकेको अवस्था होला । तर पनि साविकको मध्यपश्चिम र आजको ६ वर्षपछिको कर्णाली नागरिकले महसुस गर्न सक्छन् ।’

नीतिगत कुराको कमिका कारणले लगानी गर्ने दाताहरूले लगानी गर्न नसकेको हो कि भन्ने कुरा सरकारको पनि बुझाइ रहेको मन्त्री सिंहले बताए । यो वर्ष वैशाख १९ र २० गते कर्णाली लगानी विकास सम्मेलनको आयोजना गरिएको छ । उनले भने, ‘यसले निजी क्षेत्रले आफ्नो लगानीको सुरक्षा, लगानीमैत्री वातावरण, लगानीयोग्य क्षेत्र पहिचान गर्ने गरी प्रस्ताव तयार गरेर त्यो सम्मेलनमा सहभागी बन्दैछौं । दाताहरूले पनि लगानीको प्रतिफल र सुरक्षाको कुरा ग्यारेन्टी गर्ने गरी सम्मेलनको तय हुँदैछ ।’

व्यवस्था परिवर्तनपछि कर्णालीले विकासको जग बसालेको उनको भनाइ थियो । कर्णाली र भेरि करिडोर सम्पन्न भयो भने विकासको पूर्वाधारको जग पूर्ण हुने विश्वास उनको थियो । त्यसपछि लगानीमैत्री वातावरण सहज बन्न सक्ने उनले बताए । ‘सुन्दरता र आकर्षणको हिसाबले सबैभन्दा महत्त्व राख्ने भूमि कर्णाली रहेको छ,’ उनले भने, ‘कर्णालीमा लगानी गर्न चाहने निजी क्षेत्रको लागि सम्भावना धेरै छन् ।’

सत्रकै अर्का वक्ता नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष क्षेष्ठले पनि लगानीको लागि लगन कुरिराख्न पर्ने अवस्थाचाहिँ नभएको बताए । ‘तर कर्णालीको चुनौती भौतिक पूर्वाधार रहेको छ,’ उनले भने, ‘कर्णालीमा भौतिक चुनौती प्रमुख कारण हो भन्ने मलाई लाग्छ । यहाँ लगानी गर्न खोज्ने उद्योगीले भौतिक चुनौती भोग्नु परेको मैले बुझेको छु ।’ व्यवसायका लागि पूर्वाधार ठूलो आधार भएकोले २०७४ पछि राजनीतिक परिवर्तन भए पनि उद्योग क्षेत्रले आश गरेको कुरा आर्थिक परिवर्तन हुन नसकेको बताए । व्यावसायिक वातावरण बनाउन नसकेको र आर्थिक पाटोलाई प्रश्रय दिन नसकेकोले लगानीको वातावरण बन्न नसकेको उनको भनाइ थियो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले व्यावसायिक वातावरणले नै बैंकहरू आउने बताए । ‘बैंक भनेको पानी हो । जतातिर ओरालो र सम्भावना छ त्यतैतिर बग्छ । यसलाई कुलो बनाएर कर्णालीले ल्याउन सक्नपर्छ । त्यसको लागि व्यवसाय गर्ने वातावरण हुन जरुरी देखिन्छ । व्यवसाय भएपछि बैंकहरू आउँछन्,’ उनले भने ।

कर्णाली उत्सवको दोस्रो दिन समाज, साहित्य र विकासका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

प्रकाशित : फाल्गुन ६, २०८० १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?