२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

स्याउ किसानलाई बोट काँटछाँटको चटारो

राजबहादुर शाही

मुगु — छायाँनाथ रारा नगरपालिका–४ ताल्च गाउँका हरि रोकायालाई बारीको स्याउ गोडमेल र बोट काँटछाँट गर्ने चटारो छ । बोटको मुना पलाउने र फूल्ने समय हुन थालेपछि रोकायाको पूरै परिवार अग्ला हाँगा तथा किरा लागेका बोट काट्ने, गोडमेल र झारपात सफा गर्ने काममा ब्यस्त छन् ।

स्याउ किसानलाई बोट काँटछाँटको चटारो

अर्का स्याउ किसान बाँचे महताराका परिवार पनि स्याउबारीमै ब्यस्त छन् । घरको अरु काम छोडेर स्याउ काँटछाँट र गोडमेलतिर समय दिएको रोकायाले बताए ।

स्याउ गोडमेल र काँटछाँट मात्र नभएर वरपर जमेको हिउँ ल्याउँदै बोटमा थुपार्ने काम समेत भइरहेको उनको भनाइ छ । ताल्चा, मइतु, झापागार्ड, बाम, कालापात्त, पिना, झयारी, रोवा, सोभा, सोरुकोट, खमालेलगायत लेकाली बस्तीका किसान स्याउ काँटछाँट गोडमेल गर्ने कामतिर खटिएका छन् ।

स्याउको रुख अग्लो भए धेरै नफल्ने काँटछाँट गरेर होचो बनाए राम्रो फल दिने किसानको भनाई छ । आफ्नो बारीका ३ सय बोट स्याउको काँटछाँट गर्ने काम भइरहेको महताराले सुनाए । स्याउका नयाँ बोट रोप्न किसानहरु खाडल खन्न पनि थालेका छन् । २ मिटर गहिरो खाडल खनेर फागुन पहिलो साता स्याउका बिरुवा रोप्न सुरु गर्ने किसानहरु बताउँछन् । बिगतका बर्ष किसानहरु स्याउका बिरुवा लिन जुम्ला, दार्चुला, मनाङ, मुस्ताङ जाने गर्थे भने केही वर्षयता जिल्लाभित्रै बिरुवा उत्पादन हुन थालेपछि सजिलो भएको छ ।

ताल्चा, पिना, बाम, मुन्दुलगायत गाउँका किसानले स्याउ नर्सरी उत्पादन गरी प्रतिबोट २० रुपैयाँमा बिक्री गर्न थालेपछि किसान जिल्ला बाहिर जान छोडेका छन् । कोही स्याउ किसान बोट वरिपरी हरियो चुना लगाउने काममा व्यस्त देखिएका छन् । बोटमा चुना लगाउँदा किरा नलाग्ने स्याउ धेरै फल्ने भएको बजार बाट हरियो चुना किनेर लगाउने गरेका छन् ।

स्याउको बोटमा लगाएको हरियो चुनाले गर्दा स्याउबारी आकर्षित देखिने गरेको छ । विगतका वर्ष कृषि कार्यालयबाट हरियो चुना मागेर स्याउको बोटमा लगाउने गर्थे भने अचेल आफै किनेर लगाउन थालेका छन् । बारीमा फलेको स्याउ किन्न सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायत सहरबाट सहजै ग्राहक आउन थालेपछि किसान अरु बाली छोडेर स्याउ उत्पादनमा जोड दिन थालेका छन् ।

स्याउका विरुवा काँटछाँट नगरे किरा, धमिरा जस्ता लाग्ने तथा अन्य रोगको प्रकोप समेत फैलन सक्ने भएकाले किसानले स्याउका बगैंचामा रहेको बोट अनिवार्य काँटछाँट गर्नुपर्ने कृषि प्राबिधिकको भनाइ छ । जिल्लाका बाम, ताल्चा, मइतु, माथितुम, मुन्दु, खमालेलगायत क्षेत्र स्याउ पकेट क्षेत्र मानिएको छ ।

प्रकाशित : फाल्गुन ३, २०८० १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?