१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

सल्यानको त्रिवेणीमा आगलागीबाट आमाछोरीको मृत्यु

शनिबार बिहान आमाछोरी मृत अवस्थामा भेटिएको र सुतिरहेको कोठामा आगलागी भएको देखिएपछि प्रहरीले घटना शंकास्पद भन्दै थप अनुसन्धान गरिरहेको छ ।
विप्लव मर्हजन

सल्यान — सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ धामी ढुंगास्थित एउटा घरमा आगलगाी हुँदा एक महिला र उनकी छोरीको मृत्यु भएको छ ।

सल्यानको त्रिवेणीमा आगलागीबाट आमाछोरीको मृत्यु

स्थानीय सुकबहादुर थापाको टिनले छाएको एकतले घरमा आगलागी हुँदा सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागी शुक्रबार राति नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शनिबार बिहान आमछोरी नै मृत अवस्थामा भेटिएपछि प्रहरीलाई स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

छिमेकीहरूले भने शुक्रबार राति घरमा आगलागी भएको जानकारी नभएको बताएका छन् । घरमा आगोको मुस्लो नदेखिएको उनीहरूको भनाइ छ । सुतिरहेको कोठामा आमाछोरी मृत अवस्थामा देखिएको प्रहरीले जनाएको छ । बिहान आमाछोरी मृत अवस्थामा भेटिएको र सुतिरहेको कोठामा आगलागी भएको देखिएपछि प्रहरीले घटना शंकास्पद भन्दै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीयहरूका अनुसार रेवतीका श्रीमान भारतमा रहेकाले घरमा भने आमाछोरी मात्रै थिए । यद्यपि घटनाबारे थप आशंका रहेको भन्दै छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

सदरमुकाम खलंगादेखि २५ किलोमिटरभन्दा टाढाको उक्त गाउँमा अहिले प्रहरी टोली पुगेको छ भने मृतक दुबैलाई शनिबार दिउँसो पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ । साथै आगलागीबाट धनमालको क्षतिबारे पनि यकिन भइसकेको छैन ।

प्रकाशित : भाद्र ३०, २०८० १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?