कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

स्वास्थ्यचौकीले भिडियो एक्सरे सेवा सञ्चालन गरेपछि गर्भवतीलाई सजिलो

विप्लव महर्जन

सल्यान — दुई वर्षअघि त्रिवेणी गाउँपालिका ६ सल्लेखोलाकी २३ वर्षीया सर्मिला सुनार पहिलो गर्भ परीक्षणका लागि भिडियो एक्सरे गर्न करिब डेढ घन्टा गाडीमा यात्रा गरेर जिल्ला अस्पताल सल्यान पुगेकी थिइन् । भिडियो एक्सरे गर्नका लागि उनी दुई पटक जिल्ला अस्पताल धाउनु परेको थियो ।

स्वास्थ्यचौकीले भिडियो एक्सरे सेवा सञ्चालन गरेपछि गर्भवतीलाई सजिलो

दोस्रो पटक गर्भवती भएकी उनले भने अहिले लुहाम स्वास्थ्यचौकीमै भिडियो एक्सरे गरेर गर्भ परीक्षण गराउने अवसर पाएकी छन् । आफ्नै घर नजिकैको स्वास्थ्यचौकीमा नि:शुल्क भिडियो एक्सरे गरे गर्भ परीक्षण गराउँदा गाडी भाडा लगायत अन्य गरी उनको दुई हजार मात्र बचेको छैन, समयको पनि बचत भएको छ । बचत समयमा उनले घरको काम मात्र नभई आराम गर्न पाउने भएकी छन् ।

यस्तै बाग्चौर नगरपालिका ७ कोटमौलाकी २५ वर्षीया विमला ओली पनि पहिलो गर्भवती भएको बेला गर्भ परीक्षणका लागि भिडयो एक्सरे गर्न दुई घन्टाभन्दा बढीको यात्रा गरेर जिल्ला अस्पताल आएकी थिइन् । अहिले दोस्रो पटक गर्भवती भएकी उनले यसपटक जिल्ला अस्पताल धाउनु परेन । स्थानीय स्वास्थ्यचौकीमै भिडियो एक्सरे गरेर उनले सहज सेवा लिएकी छन् । विमला भन्छिन्, ‘गर्भ परीक्षणका लागि घरबाटै बिहानै निस्कनु पर्थ्यो । झन्डै दुई घन्टाको गाडीको यात्रापछि जिल्ला अस्पताल पुगिन्थ्यो । लामो समय यात्रा गर्दा जिउ थाकेर हैरान हुन्थ्यो । अस्पताल पुगेपछि लामो समय पालो कुर्नुपर्थ्यो । पैसा खर्च त छँदैछ न समयमा खान पाइन्थ्यो, न आराम गर्न पाइन्छ । घर फर्कँदा समयमै गाडी नपाइँदा बीच बाटैमा बास बस्नु पर्थ्यो, धेरै गाह्रो थियो । अहिले त्यस्तो केही छैन ।’

जिल्लाका १० स्थानीय तहले स्वास्थ्यचौकी मार्फत भिडियो एक्सरे सेवा सञ्चालन गरेपछि गर्भवती महिलालले गाउँकै स्वास्थ्यचौकीमा गर्भ परीक्षणका लागि भिडियो एक्सरे गर्न पाएका छन् । विगतमा भिडियो एक्सरेका लागि जिल्ला अस्पताल तथा जिल्ला बाहिर पनि जान बाध्य भएका गर्भवती महिला गाउँमै सेवा पाउन थालेपछि खुसी भएका छन् । नजिकै सेवा लिन पाउने भएपछि सहज भएको उनीहरूको भनाइ छ ।

विगतमा शिविर संचालन गर्दा प्रभावकारी नभएपछि गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल धाउन नपरोस् भनी पालिकाले स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सञ्चालन गरेका हुन् ।

स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा सुचारु गरेपछि पत्थरी भएका, पेटको समस्या भएका लगायत अन्य बिरामीलाई पनि राहत भएको छ । स्वास्थ्यचौकी माफर्त पहिलो पटक अल्ट्रासाउन्ड सेवा सञ्चालन गरेपछि गर्भ परीक्षणको लागि दाङ तथा जिल्ला अस्पताल सल्यान जानुपर्ने बाध्यताको अन्त्य भएको त्रिवेणी गाउँपालिका ५ लुहामकी पार्वती नेपालीले बताइन् । यसले धेरै राहत भएको उनले बताइन् । उनले भनिन्, ‘बिहानै घरबाट निस्केर जिल्ला अस्पताल जानुपर्थ्यो । १२ बजेपछि मात्र भिडियो एक्सरे हुने भएकाले घण्टौं लाइनमा बस्नु पर्थ्यो । बेलुका घर फर्कन धेरै गाह्रो हुन्थ्यो । भनेको समयमा गाडी नपाइँदा हिँड्नुपर्ने हुन्थ्यो । अहिले कुनै कष्ट उठाउनु परेको छैन ।’

यस्तै बन्गाड कुपिण्डे नगरपालिकाको च्युरास्थित स्वास्थ्यचौकीले नियमित रुपमा भिडियो एक्सरे सेवा सञ्चालन गरेपछि मिसन अस्पताल चौरजहारी, सुर्खेत, नेपालगन्ज जानु नपरेको २६ वर्षीया कमला रोकाले बताइन् । पालिकाले भिडियो एक्सरे सेवा सञ्चालन गरेपछि गर्भवती महिलाले आफ्नो गर्भको बच्चाको अवस्था केकस्तो छ, सुरक्षित छ कि छैन भने सजिलै थाहा पाउने गरेको उनले बताइन् ।

‘पहिला लामो समय गाडीमा यात्रा गर्दा कच्ची सडक भएकाले धेरै गाह्रो हुन्थ्यो । उस्तै परे गर्भ तुहिने डर हुन्थ्यो, रक्तश्रावका कारण गर्भवती महिलाको ज्यान खतरामा पर्थ्यो,’ उनले भनिन्, ‘अहिले धेरै सहज भएको छ ।’ सबै वडा मार्फत उक्त सेवाको व्यवस्था मिलाए गर्भवती महिलालाई धेरै सहज हुने उनको भनाइ छ ।

विगतमा मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्यान बाहेक अन्यत्र कहीँ पनि भिडियो एक्सरे सेवा नहुँदा र आर्थिक अभावका कारण जान नसक्दा दुई पटक पनि गर्भ परीक्षण गराउन नपाएको र घरमै सुत्केरी भएको दार्माकी पिमकली बुढाको अनुभव छ । अहिले धेरै सजिलो भएको र सुरुदेखि नै गर्भमा रहेको बच्चाको अवस्था कस्तो छ भनेर थाहा पाउन सकिने भएकाले सहज भएको उनले बताइन् ।

घरमै बसेर आराम गर्नुपर्ने समयमा गर्भ परीक्षणका लागि लामो समय यात्रा गरेर जिल्ला बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य गर्न र गाउँघरमै सेवा दिन अहिले लुहामको स्वास्थ्यचौकी मार्फत सेवा सुरु गरेको र प्रत्येक वर्ष यसलाई विस्तार गर्दै सबै वडामा सञ्चालन गर्ने लक्ष्य रहेको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य संयोजक प्रभातकुमार श्रेष्ठले बताए ।

‘वर्षमा पालिका भित्र ३/४ सय महिला गर्भवती हुने गरेका छन् । गत वर्षसम्म गर्भ परीक्षण गर्न सबै बाहिर जान बाध्य थिए । अब नजिकैको स्वास्थ्यसंस्थाभन्दा कहीँ जानु पर्दैन,’ उनले भने । भिडियो एक्सरे सेवाले अकालमै हुने नवजात शिशु र मातृ मृत्यु घटाउने उनको भनाइ छ ।

कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलीले पालिकामा अहिले एउटा मात्र मेसिन रहेको र उक्त मेसिन धनबाङ स्वास्थ्यचौकीमा भएकाले त्यहीँबाट स्वास्थ्यकर्मी विभिन्न स्वास्थ्यचौकीमा खटिएर सेवा दिइरहेको बताए । आगामी वर्षमा सबैलाई पायक पर्ने गरी स्वास्थ्यचौकीमा मेसिन राखेर सेवा दिने उनले जानकारी दिए ।

गर्भमा रहेको बच्चा र आमाको स्वास्थ्य अवस्था बुझ्नको लागि पछिल्लो समयमा भिडियो एक्सरे अति आवस्यक भएकाले गर्भवती महिला तथा नवजात शिशुले अकालमै ज्यान गुमाउन नपरोस् भनेर स्वास्थ्यचौकी मुलखोला मार्फत सेवा सञ्चालन गरिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलले बताए ।

उनले आगामी वर्षमा देवस्थल स्वास्थ्यचौकी लगायत अन्यबाट सेवा दिने तयारी गरेको उनले जानकारी दिए । ‘एक पटक गर्भ परीक्षणको लागि ५ सय रुपैयाँ खर्च गर्दै आएका र गाडीबाट आउजाउ गर्दा भाडा लगायत अन्य गरी २/३ हजार खर्च गर्न बाध्य भएका महिलाले अब कत्ति खर्च गर्न पर्दैन । आर्थिक अभावका कारण अब कोही पनि सेवाबाट वञ्चित हुनु पर्दैन,’ उनले भने ।

दार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादुर बस्नेतले विगतमा वर्षमा घुम्ती शिविरका बेला वर्षम एक पटक गर्भ परीक्षण गर्न भिडियो एक्सरे सेवा सुरु गरे पनि त्यसबाट सबै गर्भवती महिला लाभान्वित हुन नसकेकै कारण अहिले नियमित रुपमा सेवा दिँदै आएको बताए । पालिकाभित्र सात स्वास्थ्यचौकी रहेकामा अहिले सबैलाई पायक पर्ने गरी चार स्वास्थ्य चौकीबाट सेवा दिइरहेको उनले जानकारी दिए । उनका अनुसार गत वर्षसम्म गर्भ परीक्षण गराउन जिल्ला अस्पताल सल्यान टाढा पर्ने भएकाले सबै महिला मिसन अस्पताल चौरजहारी धाउन बाध्य थिए । अहिले यहाँका गर्भवतीहरू टाढा जानु पर्दैन । पालिकामा वर्षमा झन्डै चार सय महिला गर्भवती र सुत्केरी हुने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०८० १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×