२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सल्यानका किसानको बारीमै सुक्यो बन्दा

बिचौलियाले भारतबाट सस्तोमा तरकारी आयात गरेकाले स्थानीय किसान मर्कामा
विप्लव मर्हजन

सल्यान — गत वर्ष २५ रुपैयाँ प्रतिकिलो बिक्री भएपछि शारदा नगरपालिका–२ जोगदेखोलाका कृष्ण श्रेष्ठले यस वर्ष ६ रोपनी बारीमा बन्दा लगाए । बन्दा राम्रै फले पनि बजारको अभावमा बारीमै सुकेको छ । गत असोज र वैशाखमा उत्पादन भएको बन्दा नबिकेपछि उनले ६ लाखभन्दा बढीको नोक्सानी बेहोर्नु परेको छ ।

सल्यानका किसानको बारीमै सुक्यो बन्दा

यस्तै त्रिवेणी गाउँपालिका–१ काभ्राका वीरबहादुर रावतले चैतमा तीन रोपनी जग्गामा ४ हजार बोट बन्दा लगाएका थिए । सुरुसुरुमा उनले १५ रुपैयाँ प्रतिकिलोका दरले दुई क्विन्टल जति बिक्री गरे । त्यसपछि उनले भाउ पाएनन् । अहिले सबै बन्दा बारीमै सुकेको छ । सुक्न दिनुभन्दा गाईवस्तुलाई खुवाउनु नै राम्रो मान्न थालेका छन् उनी ।

यी दुई मात्र होइन, सल्यानका अन्य किसानले पनि बारीमा फलेको बन्दा बेच्न पाएका छैनन् । पहाडी जिल्ला सल्यानमा समेत भारतीय तरकारी छ्यापछ्याप्ती भित्रिएपछि स्थानीय किसान मारमा परेका हुन् । भारतीय तरकारीमा सस्तो मूल्यमा भित्रिएपछि स्थानीय तरकारी बिक्री नभएको हो ।

पछिल्लो समय त ५ रुपैयाँ प्रतिकिलो बन्दा बेच्न खोज्दा पनि नबिकेको जोगदेखोलाका कृष्ण श्रेष्ठको गुनासो छ । ‘बन्दा बेच्न बुटवलका केही व्यापारीलाई फोन गरेँ । उनीहरूले प्रतिकिलो ४ रुपैयाँ दिन्छौं भने । ४ रुपैयाँमा बेच्दा त गाडीभाडा पनि नउठ्ने भयो, उल्टै घाटा बेहोर्न मैले लगिनँ ।’

शारदा नगरपालिका–१, श्रीनगरका किसान मानवीर रोका पनि ४० हजार रुपैयाँबराबरको बन्दा कुहिएको बताए । स्थानीय निकायले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र भण्डारण गर्न सहयोग नगर्दा आफूहरू मारमा परेको उनको गुनासो छ ।

त्रिवेणी गाउँपालिका–६ सल्लेखोलाका किसान भोलाप्रसाद बुढाथोकीले २ रोपनी जग्गामा लगाएको बन्दा पनि सुकेर खेर गएको छ । पछिल्लो समय त टमाटर पनि सोचेअनुसार बिक्री नभएको उनको भनाइ छ । ‘बेमौसमी तरकारी उत्पादन गरेर सल्लेखोला आसपासका किसानले प्रत्येक वर्ष ३ देखि ५ लाखसम्म कमाइ गर्दै आएका थिए ।

उत्पादित तरकारी बिक्री गर्न कृषि विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा हाटबजार सञ्चालन गरेपछि सल्लेखोला आसपासबाट मात्र वार्षिक एक करोडभन्दा बढीको तरकारी बाहिर जाने गर्थ्यो । भारतीय तरकारीकै कारण अहिले उत्पादित अन्य तरकारीसमेत बिक्री गर्न गाह्रो भएको छ,’ उनले भने । कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेसमबहादुर बस्नेत भने किसानको खेतमै बन्दा सुकेकोबारे आफू जानकार नभएको बताउँछन् ।

प्रकाशित : असार २, २०८० १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?