कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आन्तरिक पर्यटकको रोजाइमा चंखेली

चंखेली लेक आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि स्थानीय उत्पादनले पाए बजार
राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका–१४ स्थित बामगाउँको चंखेली लेक आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सार्वजनिक बिदामा दैनिक ५० जनासम्म आन्तरिक पर्यटक लेखमा घुमघामका लागि जाने गरेका छन् ।

आन्तरिक पर्यटकको रोजाइमा चंखेली

ग्रामीण पहुँच कार्यक्रमले गमगढी हुँदै हुम्ला दार्मसम्मको सडक निर्माण गरेको छ । सडक निर्माणपछि आन्तरिक पर्यटकहरू जिप, मोटरसाइकल र गाडी चढेर समुद्र सतहदेखि ४२ सय मिटर उचाइमा रहेको चंखेलीलेक चढ्न जाने गरेका छन ।

विगत वर्षहरूमा बामगाउँका स्थानीय गाईभैंसी र भेडाबाख्रा चराउन मात्र चंखेली लेक उक्लिने गर्थे । सडक बनेपछि जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, शिक्षक, विद्यार्थी, व्यापारी र स्थानीय बिदा र फुर्सदको समय सदुपयोग गर्न चंखेली लेक पुग्ने गरेको छायानाथरारा नगरपालिका–१४ का वडाध्यक्ष जुनबहादुर खड्काले बताए । उनका अनुसार नयाँ वर्षको दिनमा करिब ३ सय आन्तरिक पर्यटक चंखेली लेक उक्लेर हिमाल अवलोकन गर्न गएका थिए । उनका अनुसार गाडीमा गमगढीदेखि चंखेली लेकको फेदीसम्म झन्डै ३ घण्टा लाग्छ  ।

चंखेलीको फेदीमा सवारी साधन छोडेर माथि चुचुरामा पुग्न आन्तरिक पर्यटकलाई थप ३ घण्टा समय लाग्ने गरेको हेरेण्डेकका कर्मचारी बिष्णु रावतले बताए । उनका अनुसार चंखेली लेकको टुप्पोमा पुगेपछि सैपाल हिमाल, रारा ताल, मुगुको ऋणीमोक्ष र छायानाथ र हुम्ला, बाजुरा, जुम्लालगायतका अग्ला हिमश्रृङ्खला र हिमालको दृष्यावलोकन गर्न पाइन्छ । चंखेली लेकको फेददेखि चुचुरोसम्म गत वर्ष वडा कार्यालयले पदमार्ग निर्माण गरेपछि आन्तरिक पर्यटकलाई उक्लिन सहज भएको छ । चंखेलीको चुचुरामा शिवजीको मूर्ति स्थापना गरेपछि धार्मिक महत्वसमेत बढेको स्थानीय कमल खड्काले बताए । चैतदेखि बेशाख अन्तिमसम्म सदरमुकामबाट सडकको तलमाथि लालीगुराँस फूल ढकमक्क फुल्ने गरेकाले यात्रा निकै आनन्दित हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार साउन–भदौंमा बाम, दख्यालबाडा, फोइपाटालगायत गाउँका स्थानीयले गाईभैसी चंखेलीको फेदीतिरको खर्कमा लैजाने भएकोले त्योबेला पनि पर्यटकले फरक अनुभूतिसहित यहाँका यात्रा गर्न सक्छन् । आसपासका गाउँहरूमा लटरम्मै स्याउ पाक्ने भएकाले त्यसबेला पनि पर्यटकले आनन्दित यात्रा गर्न सक्ने बताए । चंखेली लेक आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि मुगु कर्णाली नदी र लुमखोलाका माछा, स्थानीय उत्पादन स्याउ, सिमी , चुली, आरुले पनि बजार पाइरहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×