कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ वर्षदेखि विषयगत शिक्षक नहुँदा  पुस्तक नपढी परीक्षा दिन बाध्य

नपढी परीक्षा दिँदा पनि विद्यालयले उत्तीर्ण गराइदिँदा समस्या परेको विद्यार्थीको गुनासो 

सल्यान — जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका ४ गर्चेस्थित जय नेपाल आधारभूत विद्यालयका ६ देखि ८ कक्षासम्मका विद्यार्थी पुस्तक भए पनि विषयगत शिक्षकको अभावमा गत तीन वर्षदेखि पाठयपुस्तक नपढी परीक्षा दिन बाध्य भएका छन् । 

३ वर्षदेखि विषयगत शिक्षक नहुँदा  पुस्तक नपढी परीक्षा दिन बाध्य

पहिला पढाउँदै आएका निजी स्रोतबाट भर्ना गरेका शिक्षकले छाडेका र पछि सम्बन्धित निकायले गणित र अंग्रेजी विषयगत शिक्षक भर्ना गर्नेमा चासो नदेखाएपछि विद्यार्थीहरू किताब नपढी परीक्षा दिन बाध्य भएका हुन् ।

पुस्तक भए पनि अंग्रेजी र गणित विषयको परीक्षा दिनु/नदिनु बराबर भएको कक्षा ८ का छात्र विक्रम बुढाथोकीले बताए । विद्यालयले उपलब्ध गराएको गणित र अंग्रेजी विषयका पुस्तक आफूले पढे पनि धेरै प्रश्नको उत्तर लेख्न नसकेर त्यत्तिकै कापी बुझाउनु परेको उनले जानकारी दिए । ‘गणित र अंग्रेजी विषयको परीक्षा दिन सजिलो होस् भन्ने उद्देश्यका साथ गाइड किनेको थिए । त्यसको केही काम भएन,’ उनले भने, ‘पढेको कुरा प्रस्ट बुझ्न नसक्दा आफूले थाहा पाएजति लेखेर त्यत्तिकै कापी बुझाउन पर्‍यो । गाइड किन्दा पैसा मात्र खर्च भयो ।’

पुस्तक पढाउने शिक्षक नै भएका कारण परीक्षाको समय ३ घण्टा भए पनि १ घण्टामै नामलगायत केही जानेका कुरा लखेर परीक्षा हलबाट बाहिर निस्कनुपरेको कक्षा ७ की छात्रा सुष्मा बुढाथोकीले बताइन् । किताब नपढेरै परीक्षा दिएका विद्यार्थीलाई विद्यालयले कक्षा पास गराए पनि उपलब्धिमुलक नहुने उनले जानकारी दिइन् । उनले भनिन्, ‘शिक्षक भर्ना गर्न बारम्बार माग राखेका थियौं कसैले सुनेनन् । जसका कारण खाली कापी बुझाउनुपर्ने बाध्यता आइलाग्यो ।’ विषयगत शिक्षक भर्ना नगर्दा सम्बन्धित निकायले बालबालिकाको पढ्न पाउने अधिकारमात्र नभई भविष्यमाथि खेलवाड गरेको उनको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर रावतले निजी स्रोतबाट भर्ना गरेका एक शिक्षकले तलबको अभावमा विद्यालय छाडेपछि सम्बन्धित निकाय तथा पालिकामा गएर विषयगत शिक्षकको माग राख्दै आए पनि त्यसलाई वास्ता नगर्दा विद्यार्थीले पुस्तक नपढी परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

विद्यालयले २०७६ देखि विषयगत शिक्षकको अभाव झेल्दै आएको छ, जसकारण विद्यार्थी संख्या घट्दै जाने समस्या देखिएको उनले जानकारी दिए । ‘विद्यालयसँग पर्याप्त बजेट छैन, विद्यार्थी भर्नालगायत अन्य शुल्क उठाउन प्रतिबन्ध लगाइएको छ । शिक्षकलाई दिने तलब हुँदैन, सम्बन्धित निकाय मौन बस्छ । हामीले कसरी विषयगत शिक्षक भर्ना गर्ने,’ उनले भने । विषयगत शिक्षक नभएकै कारण बालबालिकाहरू पढ्न पाउने अधिकारबाट समेत वञ्चित हुनुपरेको उनको भनाइ छ ।

उनका अनुसार कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयमा १ सय ८४ विद्यार्थी रहेका छन् । ६ देखि ८ सम्मका ५५ देखि ६० जना विद्यार्थी प्रभावित हुँदै आएका छन् । स्थानीय अभिभावक तथा विद्यार्थीले बेलाबेलामा आन्दोलन मार्फत् दबाब सिर्जना गर्दै आए पनि हामीले केही गर्न सक्ने अवस्था छैन । पुस्तक पढ्न नपाउँदा बालबालिकाको भविष्यमा असर पर्ने मात्र देखिएको छैन । विद्यालयको शैक्षिक गुणस्तरमा समेत चुनौती थपिएको छ । पटक–पटक माग राख्दै आए पनि राजनीतिक खिचातानीकै कारण विद्यालयले शिक्षक पाउन नसके पनि आउने शैक्षिक सत्रका लागि शिक्षक भर्ना गर्न छलफलको तयारी भइरहेको उनको भनाइ छ ।

पटक–पटक दबाब सिर्जना गर्दै आए पनि कुनै फाइदा नभएको र विद्यालय तथा पालिकाले शिक्षक भर्ना गर्न नसकेको अभिभावकहरूले आरोप लगाएका छन् । शिक्षक नभएकै कारण आफना बालबालिकाको भविष्य अन्धकार भएको अभिभावक चित्रबहादुर रोकाले बताए । ‘घर नजिकै विद्यालय भएकाले सबै कुरामा सजिलो होला भनेर पढाइयो । शिक्षक नभएकाले बालबालिकाको पढाइ झनै धरापमा परेको छ,’ उनले भने ।

प्रकाशित : चैत्र ८, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?