पालिका अस्पताल निर्माण अलपत्र

कान्तिपुर संवाददाता

सल्यान/जुम्ला — हरेक पालिकामा ५ देखि १५ बेडको अस्पताल स्थापनाको काम अलपत्र परेको छ । तत्कालीन सरकारले २०७७ सालमा हरेक स्थानीय तहमा अस्पताल निर्माणको काम अघि सारेको थियो । कर्णाली प्रदेशका ४१ स्थानीय तहले अस्पताल सञ्चालनका लागि भवन शिलान्यास गरे । तर अधिकांश अलपत्र छन् । 

पालिका अस्पताल निर्माण अलपत्र

आर्थिक वर्ष २०७६/०७७ मा पालिका अस्पताल निर्माण गर्न संघीय सरकारले सल्यानका ९ स्थानीय तहमा १८ करोड बजेट विनियोजन गरेको थियो । त्यसपछिका वर्षहरूमा भने बजेट घट्दै गएपछि अस्पताल निर्माणको काम अलपत्र परेको हो । कपुरकोट, छत्रेश्वरी, कालीमाटी र सिद्धकुमाख गाउँपालिकामा अस्पतालको काम डेढ वर्षदेखि रोकिएको छ । दार्मा र कुमाख गाउँपालिकामा अस्पताल निर्माणको काम जारी रहे पनि ढिलासुस्ती भएको छ । अहिलेसम्म कुनै पनि स्थानीय तहले ४० प्रतिशतभन्दा बढी काम गर्न सकेका छैनन् । छत्रेश्वरी गाउँपालिकामा भने १० प्रतिशत काम पनि पूरा भएको छैन ।

जग्गाको अभावमा बन्गाडकुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकामा बल्ल काम सुरु हुन थालेको छ । जग्गा नहुँदा बाग्चौर नगरपालिकाले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएको छैन । २०७७ मंसिर १५ गते एकैसाथ ८ वटै पालिकामा भवन निर्माणका लागि शिलान्यास गरिएको थियो ।

गाउँमा अस्पताल नबन्दा सामान्य उपचारका लागि पनि एक दिन हिँडेर जिल्ला अस्पताल जानुपर्ने बाध्यता भएको छत्रेश्वरी गाउँपालिका–५ का नन्दराम बुढाले बताए । कालीमाटी गाउँपालिका–१ का सुन्दर भण्डारीले स्थानीय सरकारको बेवास्ताले सामान्य उपचार पाउनबाट पनि वञ्चित भएको बताए । कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत ओलीले २ वर्षमा अस्पताल निर्माणको करिब २५ प्रतिशत काम पूरा भएको बताए । झन्डै ४ करोड रुपैयाँको काम भएको मा बजेट अभावमा ठेकेदारले २ करोड भुक्तानी लिएका छन् । छत्रेश्वरी गाउँपालिकाका इन्जिनियर प्रदीप चन्दले भवन निर्माणका लागि फाउण्डेसनको काम मात्र भएको बताए ।

प्रकाशित : फाल्गुन ११, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?