कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

लुम्बिनीका ३ सय स्थानमा डढेलो

वन नजिकका बस्तीमा डढेलो पस्दा २ सय ३९ घरमा क्षति
सन्जु पौडेल

लुम्बिनी — गहुँको नल जलाउन लगाएको आगो हावाहुरीका कारण बस्तीमा पस्दा शनिबार रूपन्देहीको रोहिणी गाउँपालिका–४, ५ र ६ का ५० घरमा क्षति पुगेको छ । स्थानीयको बस्तुभाउ, अन्न, लत्ताकपडा र अन्य सामान जलेर नष्ट भएका छन् । प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

लुम्बिनीका ३ सय स्थानमा डढेलो

पीडित परिवारलाई आइतबार गाउँपालिकाले राहतस्वरूप तीन हजार रुपैयाँ र खाद्यान्न उपलब्ध गराएको पालिका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

गुल्मीका विभिन्न स्थानमा तीन दिनदेखि डढेलो फैलिएको छ । इस्मा–१ मा डढेलो निभाउने क्रममा १९ वर्षीय हिमाल राना र मुसिकोट–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरूको हातखुट्टा र अनुहार जलेको छ भने पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू खतरामुक्त रहेको जिल्ला प्रहरी गुल्मीका प्रवक्ता डीएसपी शंकरप्रसाद पोखरेलले बताए । इस्मा गाउँपालिका–२ सिदुङखामा हावाहुरीका कारण बस्तीमा पुगेको डढेलोले शनिबार मात्र ६७ घरगोठ जलेको पालिका अध्यक्ष भगतसिं खड्काले जानकारी दिए ।

...........................................................................................................................................................................................

बासस्थान बिथोलिएपछि चुरे सर्दै वन्यजन्तु

रौतहट । चैतयता रौतहटका जंगलमा लागेको डढेलोले बासस्थान बिथोलिएपछि वन्यजन्तु चुरे सर्न थालेका हुन् । बासस्थानको खोजीमा चुरे क्षेत्र र नदी भएको स्थानमा वन्यजन्तु जान थालेको डिभिजन वन प्रमुख शैलेन्द्र मिश्रले बताए । ‘डढेलोले हरिण, बँदेल, खरायो, जरायो, चितुवाजस्ता वन्यजन्तु छटपटिएर राजमार्गभन्दा उत्तरको जंगलतिर लागेका छन्,’ उनले भने, ‘जहाँ डढेलो लागेको छैन वा पानीजन्य क्षेत्र छ, त्यहाँ उनीहरू बस्न खोज्छन् । बासस्थान बिथोलिएपछि वन्यजन्तु संकटमा परेका छन् ।’

चन्द्रपुर–६ स्थित लमाहादेखि दक्षिणतर्फ रहेको तुरतुरेधारा, डाबरी, हातेमालो सामुदायिक वन, गैंडाटार, बलरी, जुडीबेला, मैरा क्षेत्र वन्यजन्तुको बासस्थानका रूपमा परिचित छ । यिनै ठाउँमा अहिले भीषण डढेलो लागेको छ । डढेलो र सिकारीबाट वन्यजन्तु जोगाउनै मुस्किल भएको वन कर्मचारी बताउँछन् । २९ हजार हेक्टर वन क्षेत्रमध्ये आधाजसोमा डढेलो लागेको डिभिजन वन कार्यालयको भनाइ छ । वन्यजन्तु सुरक्षित बासस्थानको खोजीमा भौंतारिँदा सिकारीको सक्रियता पनि बढेको छ ।

...........................................................................................................................................................................................

अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार आगलागीबाट ४३ घरगोठ नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि डढेलो नियन्त्रणमा आएको छैन ।

आइतबारसम्म लुम्बिनी प्रदेशका करिब ३ सय स्थानमा डढेलोले ११ हजार ४ सय ४८ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रदेशस्थित वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सूचना अधिकारी डिलाराम पौडेलले बताए । आगलागीमा सबैभन्दा बढी गुल्मीमा क्षति भएको र प्रदेशका सबै जिल्लाको विवरण संकलन भइरहेको उनले बताए । प्रदेशअन्तर्गतका १४ वटा वन डिभिजनमा डढेलो लाग्न सक्ने र लागिरहेका स्थानमा कर्मचारी खटिएर नियन्त्रणको प्रयास भइरहेको उनले बताए ।

...........................................................................................................................................................................................

दलित बस्तीमा आगलागी, २४ घर जले

राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–५ पडेमारास्थित दलित बस्तीमा आइतबार आगलागी हुँदा २४ घर जलेका छन् । स्थानीय लालमोहन सरदारको गोठमा बालेको चुलोबाट दिउँसो ३ बजेतिर आगो सल्किएको हो । मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराज, हनुमाननगर कंकालिनी र कञ्चनरूप नगरपालिकाको वारुणयन्त्र, स्थानीय र नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार अत्यधिक गर्मी र हावाहुरीले आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।

...........................................................................................................................................................................................

डढेलो नियन्त्रणका लागि लुम्बिनीमा बर्सेनि विभिन्न कार्यक्रम हुँदै आए पनि प्रभावकारी हुन सकेको छैन । पछिल्लो समय बढ्दो आगलागी र डढेलोले सरकारी प्रयास निष्प्रभावी देखिएको छ । लुम्बिनीमा चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा मात्रै ७ सय डढेलो तथा आगलागीका घटना भएका छन् । गत साउनदेखि चैतसम्म प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा भएका आगलागीमा परी ६ बालबालिकासहित २५ जनाको मृत्यु भएको छ । ९२ जना घाइते भएका छन् । यस अवधिमा आगलागी तथा डढेलोमा परी प्रदेशमा २ सय ३९ घरमा क्षति पुगेको छ । प्रहरीका अनुसार आगलागीबाट ५६ घरधुरीका १ सय ८९ परिवार विस्थापित भएका छन् ।

प्रकाशित : वैशाख ९, २०८१ २२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?