कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

लुम्बिनी प्रदेशसभाका ७ संसदीय समितिमा सभापति निर्वाचित

देउखुरी, दाङ — लुम्बिनी प्रदेशसभाका सातवटा  संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सबै पदमा एकल उम्मेदवारी परेपछि बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । 

लुम्बिनी प्रदेशसभाका ७ संसदीय समितिमा सभापति निर्वाचित

यसअघि प्रदेशसभामा ६ वटा समिति थिए । दलीय भागबन्डा मिलाउन विशेष अधिकार समितिलाई थपेर ७ वटा बनाइएको छ ।

एमालेका तर्फबाट अर्थ उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र १ (१) का सांसद राजु श्रेष्ठ, भौतिक पूर्वाधार समिति सभापतिमा अर्घाखाँची निर्वाचन क्षेत्र २ (२) का सांसद रामजीप्रसाद घिमिरे र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका गिरीधरीलाल न्यौपाने निर्वाचित भएका छन् ।

कांग्रेसबाट सार्वजनिक लेखा समिति सभापतिमा बाँकेकी माया पुन र कृषि, वन तथा वातावरण समितिको सभापतिमा नवलपरासी निर्वाचन क्षेत्र १ (१) का सांसद विश्वप्रेम पाठक निर्वाचित भए ।

माओवादीबाट प्रदेश मामिला तथा कानुन समितिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा र सामाजिक विकास समितिको सभापतिमा गुल्मीका यमबहादुर नेपाली सार्की निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशसभा सचिवालयले निर्वाचित घोषणा गरेलगत्तै सभापतिहरूलाई सभामुख तुलाराम घर्ती मगरले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । संसदीय विषयगत समितिले सरकारका काम कारबाहीबारे छानबिन गर्ने, अनुगमन गरी खबरदारी गर्ने र सदन नचलेका समयमा समेत काम गर्न पाउँछन् ।

मिनी संसद्का रूपमा रहेका समितिमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने गरेर विभिन्न विषयमा दफावार छलफल गर्ने गरे पनि नेतृत्व १७ महिनादेखि सभापति चयन भएको थिएन ।

प्रकाशित : वैशाख ५, २०८१ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?