कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला सहकारी संघका अध्यक्ष पाण्डेयमाथि सांघातिक आक्रमण 

माधव अर्याल

पाल्पा — सहकारी मर्जरका विषयमा विवाद हुँदा जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डेयमाथि सांघातिक आक्रमण भएको छ । मंगलबार अपरान्ह सूर्योदय कृषि सहकारी र तालपोखरा कृषि सहकारीका प्रतिनिधिबीच छलफल हुँदा आक्रमण भएको जिल्ला सहकारी संघले जनाएको छ । 

जिल्ला सहकारी संघका अध्यक्ष पाण्डेयमाथि सांघातिक आक्रमण 

सामान्य हुँदै विवाद बढ्दै गएको र एक अर्काबीच हात हालाहालको स्थिति सिर्जना भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । जिल्ला सहकारी संघका अध्यक्ष पाण्डेय घाइते भएका हुन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । उनको ढाड तथा करङमा चोट देखिएको अस्पतालले जनाएको छ ।

सूर्योदय कृषि सहकारीका अध्यक्ष बुद्धिराज गौतमले बुधबारको साधारणसभाका विषयमा छलफल भइरहेको अवस्थामा सहकारीका सल्लाहकार सदस्य रुद्रनारायण श्रेष्ठ र सोमबहादुर सेनले मर्जरका विषयमा असन्तुष्टि जाहेर गरेका थिए । सामान्य छलफल हुँदा विवाद बढेको र हात हालाहालको अवस्था सिर्जना भएको अध्यक्ष गौतमले बताए । पाण्डेयलाई रामपुर अस्पतालमा तत्काल उपचार गरी तानसेन मिसन अस्पताल ल्याइएको छ ।

सहकारी अभियन्ता पाण्डेयमाथि भएको आक्रमणको घटनालाई लिएर जिल्ला सहकारी संघ र जिल्ला बचत संघले दोषीमाथि कारबाहीको माग गरेका छन् । सहकारी संघका सचिव कृष्ण भुसाल र बचत संघका अध्यक्ष जगदीश भट्टराईले सांघातिक आक्रमणको घटनाले सिंगो सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने नारालाई सार्थक बनाउन रामपुरको सूर्योदय सहकारी र ताल पोखरा कृषि सहकारीबीच एकीकरणका विषयको छलफलका क्रममा सुनियोजित रुपमा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डेय माथि सांघातिक आक्रमणको निन्दा गर्दै कानुनबमोजिम कारबाहीको माग गरेका छन् । पाण्डेयले सेन र श्रेष्ठलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा किटानी जाहेरी दिएका छन् ।

प्रकाशित : चैत्र १४, २०८० १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?