कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

व्यवहारिक ज्ञान सिकाउँदै दुर्गमका सामुदायिक विद्यालय

तत्कालीन सशस्त्र द्वन्द्वका कारण लामो समय शैक्षिक अवस्था कमजोर रहेका दुर्गमका कतिपय सामुदायिक विद्यालयले सफल र सक्षम नेतृत्वका कारण अवस्था बदल्दैछन्

रोल्पा — पश्चिमी गाउँ जिनाबाङको एउटा कुनामा छ, सिद्धार्थ नमुना माध्यमिक विद्यालय । विकासका दृष्टिकोणले अति दुर्गममा रहेको उक्त विद्यालयमा शैक्षिक गतिविधि भने लोभलाग्दो बनेको छ । यहाँ नियमित रुपमा नयाँ तरिका र उपायबाट विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढ्नुका साथसाथै अन्य कार्यप्रति ध्यानमग्न बनाइन्छ ।

व्यवहारिक ज्ञान सिकाउँदै दुर्गमका सामुदायिक विद्यालय

व्यवहारिक ज्ञान र सीप सिक्न विद्यार्थीलाई पनि भ्याइनभ्याइ छ । विद्यार्थीहरु कहिले खेतीपातीमा व्यस्त हुन्छन् भने कहिले गीतसंगीत सिर्जना गर्न तल्लीन भेटिन्छन् । ‘विद्यालयलाई नमुना बनाउने मात्रै होइन, विद्यार्थीलाई सक्षम नागरिक बनाउने योजना हो,’ नमुना विद्यालय अभियानका संयोजक शिक्षक प्रेमबहादुर वली भन्छन्, ‘साधनस्रोतले भ्याएसम्म विद्यार्थीलाई बढीभन्दा बढी सीप सिकाउने र सक्षम नागरिक बनाउने कार्यमा लागेका छौं ।’

विद्यालयका तर्फबाट कृषि उत्पादनमा र अतिरिक्त क्रियापकलाप अन्तर्गत नौमती पञ्चे बाजा बजाउने र सिर्जना लेखन कार्यमा केन्द्रित गर्न धेरै पटक प्रशिक्षण कार्यक्रम संचालन गरियो । कक्षाकोठामा दिइने पाठ्यक्रमभित्रको ज्ञानका अतिरिक्त सामाजिक रुपमा अघि बढ्न व्यवहारिक ज्ञान समेत सिकाउने उद्देश्य छ । त्यसैले विद्यालयमा केही वर्षदेखि ‘बुक फ्रि वर्क’ अर्थात् पाठ्यक्रम बाहेकका कार्यमा व्यस्त बनाउने अभियान पनि चलाइएको हो ।

विद्यार्थीलाई अतिरिक्त ज्ञान दिन नौमती पञ्चे बाजा बजाउने प्रख्यात गुरुलाई नै विद्यालयमा ल्याएर सुरुमा ११ जना छात्रछात्रालाई सीप सिकाइयो । साताव्यापी कार्यक्रममा गीत र संगीतले विद्यालय र गाउँलाई नै रमाइलो बनाइयो । ‘विद्यालयमा संगीत र बाजाका गुरुलाई नै बोलाएर विद्यार्थीलाई सीप सिकाउन पाउँदा राम्रो लाग्यो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबी गुरुङले भने ।

त्यसै मौकामा स्थानीय जनजागरण आमा समूहका सदस्यले समेत उक्त सीप सिक्ने अवसर पाए । ‘नयाँ खालका बाजागाजा पहिलो पटक देखेर बजाउने सीप सिक्ने मौका पनि मिल्यो,’ आमा समूहकी सदस्य पार्वती वलीले भनिन् । सनाही, नरसिंगा, ढोलक, दमाहा, टेम्की, झ्याली, मादल र कर्नाललगायतका बाजा विद्यालयमै बोकेर आएका गुरुले विद्यार्थीलाई बजाउन पनि सिकाए । विद्यार्थीलाई पहिलोपटक बाजा देख्दा र १० दिनसम्म समाउन–सिक्न पाउँदा सबै खुशी समेत भए ।

यस्तै विद्यालयले साहित्य र संगीत क्षेत्रको सीप सिकाउन ३ दिनसम्म सिर्जना लेखन कार्यक्रम पनि संचालन गर्‍यो । नेपाली साहित्यका प्रसिद्ध साहित्यकार डा देवी नेपाललाई काठमाडौंबाट रोल्पाको जिनाबाङमै बोलाइयो । साहित्यकारले सबै विद्यार्थीलाई कविता, गीत र गजल सिर्जना गर्ने तरिका सिकाए । साथै ती सिर्जना वाचन गर्ने सीप समेत सिकाइयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङ भन्छन्, ‘यस्तो गर्दा विद्यार्थीमा आन्तरिक प्रतिभाको प्रष्फुटन हुनेरहेछ । साहित्य र संगीतप्रति रुचि भएका विद्यार्थीलाई अगाडिको बाटो तय गर्न थप मद्दत मिल्ने रहेछ ।’ उनले हरेक शुक्रबार विद्यालयमा प्रतिभा बृद्धि र प्रस्फुटन गराउने खालका कार्यक्रम संचालन गदै आएको बताए ।

त्यसबाहेक ३/४ वर्षदेखि विद्यालयले जग्गा भाडामा लिएर कृषि उत्पादनमा विद्यार्थीलाई समावेश गराउने गरेको छ । ‘कमाउँदै पढ्दै’ कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षकको अगुवाईमा आलु, टमाटर, केराउ, गोभी र फलफूलको संयुक्त खेती गरिएको छ । विद्यार्थीलाई आर्थिक नाफातर्फ उन्मुख गराउन यस्तो अभियानले सहयोग मिलेको छ ।

अघिल्लो वर्ष लगाइएको आलु बिक्री भएपछि एकातिर विद्यालयको कोषमा रकम थप भयो भने अर्कातिर विद्यार्थीलाई कृषि उत्पादनमा सीप बृद्धि भयो । खासगरी माथिल्लो कक्षाका विद्यार्थीको नेतृत्वमा विभिन्न समूह बनाएर खेती गर्दा तल्ला कक्षाका विद्यार्थीलाई पनि प्रेरणा मिल्छ । अघिल्लो वर्ष ४६ विद्यार्थी सम्मिलित विद्यार्थी कृषि समूहले आलु खेती गर्दा साढे ३ लाख कमाइ भयो ।

त्यस्तै ३७ जनाको समूहले बंगुर पालन, ८० जनाको समूहले लसुन खेती र ७१ जनाको समूहले कुखुरा पालन गरेका थिए । यस्तै व्यक्तिगत रुपमा पनि अभिभावकसँग मिलेर घरमै व्यवसाय गर्ने विद्यार्थी पनि बढेका छन् । यसरी विद्यार्थीले व्यवसाय गरी आर्थिक लाभ गरेपछि विद्यालयले मूल पुजी कटाएर नाफा रकम विद्यार्थीलाई नै बाँड्ने गरेको छ ।

जसबाट विद्यार्थीले कापीकलम, पोशाक र खाजा खर्च जुटाउँछन् । विद्यालयले विपन्न र कमजोर विद्यार्थीलाई यसरी नै आत्मनिर्भर बनाउने योजना बनाएको हो । विद्यालयको यस्तो योजना बनाउन सहयोग गर्दै आएको गंगादेव गाउँपालिका–३ का वडा अध्यक्ष लोकमान वलीले बताए ।

‘पढाईका साथै विद्यार्थीले कमाइ गरेको देख्दा खुशी लाग्छ’, नमुना विद्यालय अभियानका संयोजक शिक्षक वली भन्छन्, ‘आफ्ना सन्तानको यस्तो काम र मेहनत देखेर बाआमा पनि निकै खुशी छन् । ‘पढ्दै कमाई गर्दै’ गर्दा विद्यार्थीमा आत्मनिर्भर बन्ने आँट र साहस बृद्धि हुने रहेछ ।’

पर्याप्त स्रोत र साधन भएमा सबै विद्यार्थीलाई यस्तो कार्यमा जोड्ने योजना भएको उनले बताए । विद्यालयलाई नमुना बनाउने र शैक्षिक गुणस्तर समेत बृद्धि गर्ने अभिप्रायले साथ र सहयोग गर्न स्थानीयले आर्थिक र भौतिक सहयोग गरेको उनले बताए ।

२०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिलेसम्म शिक्षक दरबन्दी पूरा छैन । कक्षा १२ सम्म साढे ५ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा मावि तहको शिक्षक दरबन्दी शून्य छ । विद्यालयका प्रअ बीरबहादुर घर्तीका अनुसार माविमा गाउँपालिकाले २ र शिक्षा विभागले २ शिक्षकलाई अनुदान कोटामा पठाएका छन् । आधारभूत तहमा पनि ३ जना शिक्षकको राहत दरबन्दी छ भने प्राविमा मात्रै ४ शिक्षकको दरबन्दी छ । विद्यालयमा अन्य ५ जना शिक्षकलाई भने निजी स्रोतका भरमा भर्ना गरिएको छ । विद्यालयले नयाँ भवन बनाउन केही वर्षअघि सहयोग जुटाउन चन्दा संकलन अभियान नै चलाएको थियो । त्यस क्रममा विदेशमा रहेका सहयोगीले आर्थिक सहयोग गरेका थिए ।

यस्तै थबाङमा रहेको बीर बलभद्र माविले पनि विद्यार्थीलाई कक्षा कोठामा दिइने ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान सिकाउँदै आएको छ । त्यस विद्यालयमा संचालित ‘पढाउँदै सिकाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई कृषि कर्ममा केन्द्रित गर्ने गरिएको छ । विद्यालयका प्रअ कुलबहादुर वलीले च्याउ खेती, तरकारी र फलफूल खेती गरेर विद्यार्थीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए ।

‘यस्तो गर्दा विद्यार्थीको व्यवहार परिवर्तन गर्न र आत्मनिर्भर बनाउन सहयोग पुग्ने रहेछ । सफल र सक्षम नागरिक उत्पादनमा यस्ता गतिविधिले टेवा पुर्‍याउने विश्वास छ ।’ उनले भने ।

विद्यार्थीलाई यसरी अतिरिक्त क्रियाकलाप मार्फत सीप र ज्ञान सिकाउने विद्यालयमा रोल्पा नगरपालिका–६ धाबाङको आधारभूत विद्यालय पनि पर्छ । त्यस विद्यालयले विद्यार्थीलाई डोको, नाम्लो, दाम्लो, मान्द्रो, झोला र अन्य घरेलु अत्यावश्यक सामान बुन्न सिकाउँदै आएको छ । ‘यस्तो गर्नाले एकातिर विद्यार्थीको प्रतिभाको विकासमा सहयोग पुग्छ भने अर्कातिर परम्परागत सीप सिकाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छ ।’ प्रअ विशाल केसीले भने ।

विद्यार्थीलाई घरेलु सीप सिकाउने रोल्पाको अर्को विद्यालय हो, त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ गाङमा रहेको वीरेन्द्र माध्यमिक विद्यालय । उक्त विद्यालयले पनि विद्यार्थी र अभिभावक समेतलाई जोड्न ‘पढ्दै कमाउँदै’ कार्यक्रम चलाएको छ । कमजोर आर्थिक अवस्थाका विद्यार्थीको छनौट गरी उनीहरुका अभिभावकलाई समेत आवद्ध गरेर व्यवसाय चलाउन सिकाएको छ । यसका लागि विद्यालयले नै आर्थिक सहयोग जुटाइदिन्छ ।

विभिन्न समूहमा आवद्ध गरेर विद्यार्थीलाई नगद बाँड्ने गरिएको छ, जसबाट बाख्रापालन, कुखुरापालन, माछापालन, बंगुरपालन, तरकारी खेती लगायतका काम गर्छन् विद्यार्थी । ‘विद्यार्थीको आर्थिक अवस्था हेरेर रकम दिन्छौं र व्यवसाय गर्न प्रेरित गर्छौं । परिवारसँग मिलेर व्यवसाय गर्दा सबैको अपनत्व हुनेरहेछ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर झाँक्री भन्छन्, ‘यो काम प्रभावकारी भएको छ । यसबाट एकातिर विद्यालयमा विद्यार्थी नियमित आउँछन् भने अर्कातिर उनीहरु पनि व्यवसायी बन्छन् ।’

भैलो खेलेर, सहयोग जुटाएर र गाउँपालिका र संघ–संस्थाले प्रदान गरेको रकम संकलन गरेर विद्यालयले विद्यार्थीमा लगानी गर्ने गरेको उनले बताए । २०३४ सालमा स्थापना भएको उक्त विद्यालयलाई नमुना बनाउने अभिभावक र शिक्षकले अझै पनि नयाँ योजना ल्याउने तयारी गरेको प्रअ बरमान बुढामगरले बताए । त्यहाँ हाल ‘संस्कारसहितको शिक्षा’ कार्यक्रम समेत चलाइएको छ ।

यसरी सीमित स्रोत र साधनमा पनि विद्यालयहरुले सिर्जनात्मक रुपमा अघि सारेका यस्ता नयाँ कार्यक्रमबाट दुर्गमका सामुदायिक विद्यालयका विद्यार्थीलाई नयाँ नयाँ ज्ञान र सिप हासिल गर्न पनि सजिलो भएको छ । जिल्लाका सबै विद्यालयमा सिर्जनात्मक गतिविधि गर्न सके समानता आउने शैक्षिक अभियानकर्मी सन्दीप थापा मगरले बताए । जिल्लाका १० स्थानीय तहमा ४ सय भन्दा बढी विद्यालय छन् ।

प्रकाशित : चैत्र ५, २०८० २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?