कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बुटवल–गोरूसिंगे सडक खण्ड विस्तारका लागि बोलपत्र आह्वान

अमृता अनमोल

बुटवल — ३४ अर्ब रुपैयाँ लागतको बुटवल-गोरुसिंगे चन्द्रौटा सडकअन्तर्गत बुटवल–गोरूसिंगे खण्ड विस्तारका लागि बोलपत्र आह्वान भएको छ । पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिंगे ५० किलोमिटर विस्तारका लागि बोलपत्र आह्वान भएको हो ।

बुटवल–गोरूसिंगे सडक खण्ड विस्तारका लागि बोलपत्र आह्वान

सडक विभागअन्तर्गत वैदेशिक महाशाखाले डेडिकेटेड चारलेनका लागि टेण्डर आह्वान गरेको हो । ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।

विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई त्रिलोकनाथ घिमिरेले बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटरसम्को डिजाइन सम्पन्न भएर ठेक्का आह्वान गरिएको बताए । जसको ४ वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन गरिएको थियो । अहिले पनि एडीबीसँगको समन्वयमा डीपीआरको काम सम्पन्न भएको हो ।

आयोजनाले पहिलो खण्डलाई पनि दुई खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाएको हो । ५० किलोमिटरको दुरीमा दुई खण्डमा गरी ठेक्का आह्वान भएको छ । पहिलो खण्डको सडक विस्तारमा करिब ३० वटा सानाठूला पुलहरु पनि निर्माण हुने छन् । विभिन्न स्थानहरुमा १ सय ५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु निर्माण हुनेछन् । सडक विस्तारका लागि सरकारले यसवर्ष ३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

बुटवल-गोरुसिंगे चन्द्रौटा सडक विस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । पारवहनमा सहजता ल्याउँदै व्यापार व्यवसाय प्रवर्द्धनका लागि भन्दै अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एशिया नेपाल फेज १ अन्तर्गत निर्माण अघि बढाउन लागिएको हो । पहिलो चरणको ठेक्कालगत्तै दोस्रो चरणको गोरुसिंगे चन्द्रौटा १९ किलोमिटर सडकमा काम गर्ने योजना छ । एक सय किलोमिटर प्रतिघण्टाको गति सवारी साधन गुड्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने सीडीई घिमिरेले बताए ।

प्रकाशित : पुस ६, २०८० २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?