कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

लुम्बिनी चिनी मिलले प्रदूषण गरेको भन्दै स्थानीय बासिन्दाको प्रदर्शन

नवीन पौडेल

नवलपरासी पश्चिम — लुम्बिनी चिनी मिलले प्रदूषण नियन्त्रण नगरेको भन्दै पश्चिम नवलपरासीको सुनवलका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।  उद्योगबाट निस्कने प्रदूषण नियन्त्रण गर्न उद्योग प्रशासनलाई पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । 

लुम्बिनी चिनी मिलले प्रदूषण गरेको भन्दै स्थानीय बासिन्दाको प्रदर्शन

अघिल्लो वर्ष स्थानीय र उद्योग प्रशासनबीच चार बुँदे सहमति भए पनि उद्योग प्रशासनले चासो नदिएको लुम्बिनी चिनी मिलबाट सिर्जित प्रदूषण न्यूनीकरण संर्घष समितिका सचिव प्रदीप अर्यालले बताए । ‘हामीले वर्षौंदेखि प्रदूषण नियन्त्रणका लागि उद्योग प्रशासनलाई आग्रह गर्दै आएका छौँ । तर, अहिलेसम्म सुनुवाइ भएको छैन, ’अर्यालले भने,‘प्रदूषण र गन्धले सुनवल आक्रान्त बन्दै गएको छ भने चिनी मिल सञ्चालन हुँदा धुलोका कणले श्वासप्रश्वासमा नै समस्या हुने गरेको छ ।’

अघिल्लो वर्ष उद्योगमा तीन दिनसम्म तालाबन्दी भएपछि भएको सहमति पनि उद्योग प्रशासनले बेवास्ता गरेको भन्दै अहिलेको आन्दोलन निर्णायक हुने संर्घष समितिको दाबी छ । उद्योगको गन्ध र प्रदूषणको कारण स्थानीय आजित छन् । यसअघि उद्योग सञ्चालनमा रहँदा भुस डढाएर वरपरका बस्तीमा प्रदूषण फैलँदा श्वासप्रश्वासमा गम्भीर असर पुगेको भन्दै भुस विस्थापित गरेर नयाँ प्रविधि जडान गर्न स्थानीयले आग्रह गरेका थिए तर उद्योग प्रशासनले पटक–पटक बेवास्ता गर्दै आएको थियो ।

प्रदूषण न्यूनीकरणको काम भइरहेको र केही महिनामा नै उपकरण जडान गर्ने लुम्बिनी चिनी मिल प्रशासनले जनाएको छ । लगातार घाटामा गएपछि वार्षिक ४२ लाख १२ हजार भाडा लिने गरेर २०६२ सालमा एचपी अग्रवाल गु्रप अफ कम्पनीलाई ३० वर्षका लागि लिजमा दिइएको हो ।

प्रकाशित : मंसिर १२, २०८० १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?