कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

मूर्ति विसर्जन सुरक्षाका लागि भारतीय नाका बन्द

रुपा गहतराज

बाँके — मूर्ति विर्सजनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि बाँकेमा नेपाल-भारत नाका बन्द गरिएको छ । दुर्गा मूर्ति विसर्जनमा शान्ति सुरक्षामा खलल पुग्ने कार्य नहोस् भनेर बाँके जिल्ला प्रशासनले भारतसँगको नाका बन्द गरेको जानकारी दिएको छ । 

मूर्ति विसर्जन सुरक्षाका लागि भारतीय नाका बन्द

हिन्दूहरूको ठूलो चाड दसैंको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरू धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि बुधबार एक दिनका लागि भारतसँगको जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा बुधबार राति ८ बजेसम्मका (मूर्ति विसर्जनको कार्य नसकिएसम्म) लागि उक्त नाका बन्द गरिएको बताए । एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायत ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरूबाहेक अन्य सबैलाई भारतबाट नेपाल प्रवेशमा रोक लगाइएको उनले जानकारी दिए ।

नेपालगञ्जमा दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीमा चहलपहल भएको थियो । नेपालगञ्जका सडकहरूमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्र्याक्टरहरूसहितको धार्मिक र्‍याली निकालिएका छन् ।

मूर्ति विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरि नै सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरिक्षक सुभाषचन्द्र बोहराले जानकारी दिए ।

त्यस्तै, मूर्ति विसर्जनका क्रममा सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा पूर्व तयारीका लागि उद्धार टोली खटिएका छन् ।

दुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुनसक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनका अनुसार कतिपय ठाउँमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटना भइरहेकाले सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको हो ।

प्रकाशित : कार्तिक ८, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?