संघ सरकारले अधिकार नदिँदा संघीयता कार्यान्वयन जटिल : मुख्यमन्त्री चौधरी

वीरेन्द्र केसी

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा उल्लेख भए अनुरुप प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकारलाई संघ सरकारले नदिँदा संघीयता कार्यान्वयनमा समस्या देखा पर्न थालेको बताएका छन् ।

संघ सरकारले अधिकार नदिँदा संघीयता कार्यान्वयन जटिल : मुख्यमन्त्री चौधरी

प्रदेशलाई अधिकार नदिँदा संघीयता विफल भए त्यसको कारण संघ सरकार नै हुने मुख्यमन्त्री चौधरीको भनाइ थियो ।

दाङको भालुवाङमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले शुक्रबार आयोजना गरेको कार्यविस्तृतिकरण परियोजनामा स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।

यस क्रममा मुख्यमन्त्री चौधरीले संघीयतालाई पूर्ण रुपमा लागू गर्न प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका थिए ।

‘संघले तल्लो तहमा अधिकार दिन खोज्दैन । जसले गर्दा कार्यसम्पादनमा असर परेको छ । त्यसको असर संघीयतामा पर्ने देखिन्छ,’ उनले भने ।

संविधान बमोजिमका अधिकार संघ सरकारले प्रदेश र स्थानीय तहलाई नदिँदा जनतामा संघीयताप्रति नकारात्मक कुरा उठ्न थालेको उनले चिन्ता व्यक्त गरेका थिए । साथै संघ सरकारकै कारण संघीयताविरोधी स्वरहरु उठ्न थालेको उनले टिप्पणी गरे । संघले संविधानमा उल्लेख भएका अधिकार दिए मात्रै संघीयता पूर्ण रुपमा कार्यान्यवन हुने र जनताको नजिकको प्रदेश सरकारको औचित्य पुष्टि हुने चौधरीले बताए ।

जनताको जीवनस्तर बदल्न अब आर्थिक समृद्धिका योजनाहरु लुम्बिनी प्रदेशका १२ जिल्लाका सबै स्थानीय तहहरुमा सञ्चालन गरी जनताको आयस्तर वृद्धि गर्नुपर्ने जिम्मेवारी रहेको पनि उनले बताए ।

प्रकाशित : भाद्र २९, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?