कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

असार सकिँदा लुम्बिनीमा ६४ प्रतिशतमात्र रोपाइँ

सन्जु पौडेल

तिलोत्तमा — असार सकिँदा लुम्बिनी प्रदेशमा ६४ प्रतिशतमात्रै रोपाइँ भएको छ । ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने प्रदेशमा यस वर्ष धान रोपाइँमा कमी आएको छ । असार मसान्तसम्म १ लाख ९९ हजार ३४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले जानकारी दिए ।

असार सकिँदा लुम्बिनीमा ६४ प्रतिशतमात्र रोपाइँ

असार १५ गतेसम्म यहाँ ११ प्रतिशतमात्रै रोपाइँ भएको थियो । मरासिनीका अनुसार प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ कपिलवस्तु र सबैभन्दा कम रुकुमपूर्वमा हुने गरेको छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने रुकुमपूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । जसमध्ये कपिलवस्तुमा अहिलेसम्म ४५ हजार ५४६ हजार हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ भएको छ भने रुकुम पूर्वमा १ हजार २७७ हेक्टर अर्थात् ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । त्यस्तै रुपन्देहीमा अहिलेसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६२३ हेक्टरमा रोपाइँ भएको छ ।

त्यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३० प्रतिशत र बर्दियामा ७४ प्रतिशत रोपाइँ सकिएको छ । दाङमा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ११ हजार २२९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टरमा अर्थात ७४ प्रतिशत रोपाइँ सकिएको छ । बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म १४ हजार ८५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य ४५ प्रतिशत मात्रै हो ।

पश्चिम नवलपरासीमा धान रोपाइँ हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये १४ हजार ३५० हेक्टर अर्थात् ७० प्रतिशतमात्रै रोपाइँ भएको प्रवक्ता मरासिनीले बताए । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ६०.५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने असार सकिँदा ५ हजार २०२ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ ।

पाल्पामा ६ सय ५६८ हेक्टर क्षेत्रफल अर्थात् ८० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । यता प्यूठानमा ९७ प्रतिशत रोपाइँ सकिएको छ भने अर्घाखााचीमा ७० प्रतिशत रोपाइँ भएको छ ।

प्यूठानमा ६ हजार ३२९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा अर्घाखाँचीमा ५ हजार ६३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । प्यूठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यसका साथै रोल्पामा ९६ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान रोपाइँ हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्य ४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

यस वर्ष समयमा नै पानी नपर्दा गत वर्षभन्दा कम मात्रामा धान रोपाइँ भएको मन्त्रालयका प्रवक्ता मरासिनी बताउँछन् । ‘सिँचाइको क्षेत्र बढाउन सकिएको नसक्दा र आकासे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘यो वर्ष पानी पर्न केही ढिला भयो, यसको असर रोपाइँमा पर्‍यो ।’

प्रकाशित : श्रावण २, २०८० १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?