कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

रौतहटको जन्म, रोल्पाको कर्म

पहाडको कमाइले रौतहटमा बाआमा पाल्दै, काठमाडौंमा छोराछोरी पढाउँदै
काशीराम डाँगी

रोल्पा — गर्मीमा लस्सी पिउनु पर्‍यो वा बाह्रै महिना मिठाईका परिकार खरिद गर्नु पर्‍यो भने रोल्पामा मेघु साहलाई नसम्झने कमै छन् । लिबाङको मुख्य बजारमा रहेको उनको मिठाई पसलमा सधैं भीड लाग्छ । ४७ वर्षीय मेघुले दुई दशकदेखि चलाएको न्यु चन्दन मिठाई पसलको चर्चा जिल्लाका कुना कन्दरासम्मै फैलिएको छ ।

रौतहटको जन्म, रोल्पाको कर्म

मध्य तराईको रौतहटमा जन्मेका मेघु पहिलो पटक २०५३ सालमा रोल्पा आएका थिए । सुरुमा उनी आफन्तको मिठाई पसलमा काम सघाउन आइपुगेका हुन् । अन्ततः उनी यतै मिठाई पसल चलाएर बसे । जन्मजात मैथिली र भोजपुरी भाषा बोल्ने उनलाई नेपाली र मगर भाषा बोल्न पनि रमाइलो लाग्छ । ‘सुरु सुरुमा मगर भाषा बोल्ने ग्राहकसँग सवालजवाफ गर्नै समस्या थियो,’ उनले भने, ‘तर, पछि सिक्दै गएपछि सजिलो भयो ।’ लिबाङ बजार मन परेर मात्रै होइन, यहाँका मगर समुदायको सहज व्यवहार बुझेपछि यतै बस्ने सोच पलाएको उनले सुनाए । रोल्पाको कमाइबाटै उनले रौतहट र वीरगन्जमा घडेरी किनेका छन् । लिबाङ दुईवटा घडेरी जोडेका छन् ।

जीवनको आधा उमेर यतै बिताउन पाउँदा खुसी लागेको उनले बताए । ‘यता कमाएर रौतहटमा रहेका बाआमा र काठमाडौंमा पढ्ने छोराछोरीको खर्च पुर्‍याएको छु,’ उनले भने, ‘आफ्नो त कामै यही हो ।’ आफ्नो कमाइको भरमा रौतहटमा रहेका बाआमा र राजधानीमा राम्रो विषय लिएर अध्ययन गरिरहेका सन्तानको खर्च जुटाउन उनलाई उति साह्रो दुःख र समस्या छैन । अस्ताउँदो जुनझैं वृद्धावस्थामा पुगेका बाआमाको स्वास्थ्य उपचार उनले महिनैपिच्छै गर्नुपर्छ । ‘आफूलाई जन्म दिने बाआमालाई कसले बिर्सन सक्छ ?,’ उनले भने, ‘बाआमा वृद्ध अवस्थाका भए भनेर माया मार्न त भएन नि, कि कसो ?’ विवाह गर्ने उमेरका तीन सन्तानलाई उच्च शिक्षा दिलाएर विवाह गरिदिने योजना पनि उनी बुनिरहन्छन् । आफूले पढ्न नपाए पनि दुई छोरी र एक छोरालाई उनले लिबाङमा राम्रो विद्यालयमा पढाए ।

मेघु लिबाङमा आउँदाताका माओवादी सशस्त्र द्वन्द्व चर्कंदो थियो । दैनिक रूपमा मानिसहरू मारिइरहेको समाचार सुन्नुपर्थ्यो । ‘कि माओवादीले प्रहरी र कर्मचारीलाई मारेको समाचार सुन्न पाइन्थ्यो कि त सुरक्षाकर्मीले यति जना माओवादीलाई मारेको भन्ने समाचार रेडियोले सुनाउँथ्यो,’ उनले त्यसबेलाको डरालाग्दो अवस्थाको पुनःस्मरण गरे । माओवादीले रोल्पाबाटै सुरु गरेको सशस्त्र द्वन्द्वको ठूलो असर पनि रोल्पामै थियो । त्यस द्वन्द्वले मानवीय एवं भौतिक क्षति निम्त्याइरहने भएकाले रोल्पा नै राजनीतिको मुख्य केन्द्र बनेको थियो । अन्ततः माओवादीको उक्त युद्धका कारण रोल्पाले नै ठूलो मानवीय क्षति बेहोर्नुपर्‍यो । सशस्त्र द्वन्द्व सुरु भएदेखि शान्ति प्रक्रियासम्म अइपुग्दा यहाँ करिब १ हजार मानिसले ज्यान गुमाए । अझै पनि त्यसबेलाका घाइते, अपांग र असहायहरूलाई भेट्न सकिन्छ ।

चर्कंदो माओवादी सशस्त्र द्वन्द्वको छिटाले राजनीतिक एवं प्रशासनिक केन्द्र रहेको लिबाङलाई निकै नै प्रभावित बनाएको थियो । माओवादी विरुद्ध सैनिक कारबाही थाल्ने र योजना निर्माण गर्ने मुख्य थलो लिबाङमा सैनिक गतिविधि बाक्लो हुने क्रममा थियो भने त्यसविरुद्ध माओवादी आक्रमण कतिबेला हुने हो भन्ने त्राससमेत व्यापक मात्रामा भइरहन्थ्यो । लिबाङमा दुवै पक्षबाट आफ्नो सक्रियता र उपस्थिति देखाउन हरेक रात गोली पड्काउने चलन थियो । कहिलेकाहीं रातभर गोलीका आवाज सुनिरहनु पर्थ्यो । ‘गोली नचलेको दिनमा निद्रा समेत लाग्दैनथ्यो । गोली नचल्दासम्म अब केही बढी हुने हो कि भन्ने आशंका मनमा लागिरहन्थ्यो,’ पत्रकार महासंघका पूर्वअध्यक्ष खेमबहादुर बुढामगर ती क्षणको स्मरण गर्छन्, ‘तैपनि माओवादीबाट सदरमुकाममाथि कहिल्यै आक्रमण भएन । त्यसकारण हामी बाँच्न सफल भयौं ।’

गोलीको आवाज सुनेरै मेघुले मिठाई बनाउने सीप सिके । सुरुमा उनलाई द्वन्द्वका कारण बाँच्न मुस्किलझैं लाग्थ्यो । ‘म यहाँ आइपुग्दा माओवादीबारे सबैले भित्रभित्रै कुरा गरेको सुनिन्थ्यो । त्यसरी देख्दै नदेखेका लडाकुबारे कुरा सुन्दा डर लाग्थ्यो,’ उनी स्मरण गर्छन्, ‘म पनि अरू जसरी बजारभित्र प्रहरीले लगाएको नयाँ नियम पालना गरेर बसेँ । पछि पछि त सामान्यजस्तै लाग्यो ।’ चर्कंदो सशस्त्र द्वन्द्वको बीचमै उनले आफ्नै पसल खोले । मगर समुदायको बाक्लो बसोबास रहेको रोल्पामा बस्न पाउँदा र यहाँको संस्कार बुझ्न पाउँदा खुसी मिलेको उनले सुनाए ।

यतिबेला मेघु फरर नेपाली बोल्न सक्छन् भने केही मात्रामा स्थानीय मगर भाषा पनि बुझ्छन् । ‘कर्मथलो यहीं भयो । भाषा त जान्नै पर्‍यो,’ उनी भन्छन्, ‘अर्को कुरा यहाँका मानिसहरू निकै सहयोगी छन् । त्यसैले म यो ठाउँ छोड्दिनँ ।’ मिठाई र खाजाका विविध प्रकारका परिकार बनाउने उनी सामाजिक कार्यमा पनि उत्तिकै लागिपर्छन् । लिबाङमा हुने मेला, पर्व र समारोहमा निःशुल्कै खाजा खुवाउन र सहयोग गर्न पछि पर्दैनन् । ‘मलाई यस्तो काम गर्न पाउँदा आनन्द लाग्छ,’ उनले भने । सामाजिक सेवा गरेबापत प्राप्त प्रमाणपत्र उनले पसलको भित्तैभरि लहरै सजाएका छन् ।

धर्मकर्म र दुःखीलाई सहयोग गर्ने उनको रुचि र बानी छ । ‘मेरो यो बानी सानैदेखिको हो । तराईमा जन्मेर पनि मैले पढ्न पाइनँ,’ उनले भने, ‘तैपनि, मेरा सन्तानलाई उच्च शिक्षा दिलाउने योजना छ । पढेर मात्रै अरू काम गर्न सकिन्छ भन्ने बुझेको छु ।’ विद्यालयबाट औपचारिक शिक्षा प्राप्त नगरे पनि काम, व्यवहार र हिसाबकिताब गर्न उनी पछि पर्दैनन् । काम गर्दै जाँदा अक्षर चिन्न र लेख्न उनले जबरजस्ती सिकेका हुन् । छोराछोरीको पढाइप्रति असाध्यै चासो र जिम्मेवारीबोध हुने उनी सुनाउँछन् । ‘उच्च शिक्षा जति पढे पनि मेरा सन्तानलाई पढाउन सक्ने पैसा कमाएको छु,’ उनले भने, ‘उनीहरूले पढ्न सक्नु पर्‍यो ।’

आफ्नो विगत चुनौतीपूर्ण र कठोर संघर्षबाट गुज्रेको मेघुले सुनाए । ‘तराईमा जन्मे पनि काम खोज्ने क्रममा म नुवाकोट, काठमाडौं र अन्य ठाउँसम्म पुगेको छु । भौंतारिएको छु,’ उनले भने, ‘भगवान्प्रति अगाध आस्था छ । गलत कर्म नगरे असल नतिजा प्राप्त हुने रहेछ ।’ मेघुको जीवन संघर्षपूर्ण रहेको उनलाई पहिल्यैदेखि चिन्दै आएका स्थानीय बुद्धिजीवी एवं स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताए । ‘तैपनि, मिठासपूर्ण बोली, हँसिलो अनुहार र प्रेमपूर्ण व्यवहारले उनीप्रति सबैको आकर्षण छ,’ उनले भने । सामाजिक भावनाले प्रेरित मेघु स्थानीय मठमन्दिर र धर्मशाला निर्माण गर्ने योजनामा अघि सरिहाल्छन् । ‘जग्गा प्राप्त गर्न सके लिबाङमा एउटा मन्दिर र धर्मशाला निर्माण गर्ने सपना छ,’ उनले भने, ‘सामाजिक कार्य गर्दा बेग्लै आनन्द अनुभव हुन्छ ।’

जन्मगाउँ रौतहटमा मन्दिर निर्माण गरेको उनले बताए । सामाजिक कार्यहरूमा आर्थिक सहयोग गर्दै आएका उनका भाइ विकासले पनि लिबाङमै मिठाई पसल खोलेका छन् । ‘पहिले दाइ आउनुभयो, पछि म आएँ,’ उनले भने, ‘अहिले हामी दुवै खुसी र सन्तुष्ट छौं ।’

प्रकाशित : असार २५, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?