३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

लुम्बिनीका अधिकांश स्थानीय तहले ल्याए बजेट

केही स्थानीय तहको नीति कार्यक्रम र बजेट एकैसाथ पेस, केहीले ल्याउनै बाँकी
अधिकांशको बजेट कृषि र पूर्वाधारमै, रूपन्देहीको तिलोत्तमाले ल्यायो प्रदेशकै ठूलो आकारको बजेट

रूपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटाले आइतबार आगामी आव २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले आन्तरिक विवादका कारण आइतबार बजेट पेस गर्न सकेनन् । तीनवटै तहमा बजेट बाँडफाँटको विषयमा सहमति नजुटेपछि बजेट पेस हुन नसकेको हो । रोल्पाको एक र अर्घाखाँचीको एक स्थानीय तहले बजेट ल्याउन सकेन । गुल्मीका दुई स्थानीय तहले आइतबार नै नीति कार्यक्रम र बजेट एकैसाथ पेस गरेका छन् ।

लुम्बिनीका अधिकांश स्थानीय तहले ल्याए बजेट

बुटवल उपमहानगरपालिकाले २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरले आन्तरिक स्रोतबाट ९१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको नगर उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । उनले बजेटमा शिक्षातर्फ विद्यालय सुधार कार्यक्रम र स्वास्थ्यमा वडा तहमा १५ बेडका २ अस्पताल सञ्चालन गर्ने लक्ष्यसहितको बजेट पेस गरेकी छन् । बजेटमा राजस्व बाँडफाँटबाट ३१ करोड ८५ लाख, आन्तरिक आय ९१ करोड र चालु वर्षको बचत २६ करोड ३८ लाख हुने अनुमान छ । कर असुलीका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गरेर अघि बढ्ने पनि उपमहानगरको बजेटमा उल्लेख छ ।

दाङका १० वटै स्थानीय तहले बजेट ल्याएका छन् । दुई उपमहानगरपालिका रहेको दाङका स्थानीय तहले कृषि उत्पादकत्व वृद्धि, शिक्षा, स्वास्थ्य, पर्यटन र स्वरोजगारलाई प्राथमिकता दिएर बजेट ल्याएका हुन् । घोराही उपमहानगरपालिकाले २ अर्ब १५ करोड ५४ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख हुमाकुमारी डीसीले आइतबार बजेट प्रस्तुत गर्दै चालु वर्षको भन्दा ७ दशमलव ४५ प्रतिशतले घटाएको जानकारी दिइन् ।

संघ र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, रोयल्टी र आन्तरिक आयबाट १ अर्ब ३४ करोड १७ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ७९ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख स्यानी चौधरीका तर्फबाट प्रवक्ता माधव वलीले पेस गरेको बजेटमा आन्तरिक स्रोतबाट २१ करोड, स्थानीय तह राजस्व बाँडफाँट तथा मालपोत रजिस्ट्रेसनबाट १२ करोड, ढुंगागिट्टीबाट ३ करोड र विज्ञापन कर १५ लाख गरी आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको वलीले बताए ।

राजस्व बाँडफाँटबाट २३ करोड २ लाख ७१ हजार, खानी र वन रोयल्टीबाट १५ लाख गरी १ अर्ब १९ करोड १३ लाख ७१ हजार रुपैयाँ आम्दानी गर्ने उपमहानगरको लक्ष्य छ । उपप्रमुख चौधरी विदेशमा रहेकाले वलीले बजेट पेस गरेका थिए । यसैगरी नगर विकास कोषबाट ऋण ११ करोड, युनिसेफबाट अनुदान ४५ लाख, सडक बोर्ड नेपालबाट १ करोड, यूएसएआडी र जिटूजीमार्फत ३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान छ ।

बाँकेका आठ स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ५६ लाख रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । सभामा पेस गरेको बजेट चालु आवको भन्दा ४ करोडले बढी हो । उपमहानगरले आगामी वर्ष आन्तरिक स्रोतबाट १८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अन्य आम्दानीको भार केन्द्रीय र प्रदेश सरकारकै रहेको छ । आन्तरिक राजस्वका दायरा र स्रोतको वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइने पनि उनले बताए ।

उपमहानगरपालिकाले आगामी दुई वर्षभित्र १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गर्ने उल्लेख गरेको छ । उपमहानगरले चालु वर्षकै धेरै कार्यक्रम र योजनालाई निरन्तरता दिएको छ । जनप्रतिनिधि नयाँ आए पनि नीति र कार्यक्रम पुरानै रहेका छन् । अधिकांश स्थानीय तहले स्रोतको खोजी र राजस्व संकलनमा जोड दिएका छैनन् । चालु वर्षकै कर र दरलाई निरन्तरता दिंदै संघ र प्रदेशकै अनुदानमा भर परेर बजेट सार्वजनिक गरेका छन् ।

स्थानीय शासनविज्ञ मीन मल्लले सबै स्थानीय तहले आशालाग्दो भन्दा पनि जनतालाई निराश बनाउने बजेट ल्याएको बताए । ‘समयमा बजेट ल्याएर स्थानीय तहले कर्मकाण्ड त पूरा गरेका छन् । तर, बजेटमा नयाँ योजना र भिजन देखिंदैन,’ उनले भने, ‘बजेटमा ६५ प्रतिशत प्रशासनिक खर्च, ३५ प्रतिशत पुँजीगत खर्च समेटिएको छ । यसले जनप्रतिनिधि, कर्मचारी पाल्नेबाहेक अन्य काम हुँदैन ।’ जनप्रतिनिधिको क्षमता र अनुभव कम भएकाले बजेट प्रभावकारी हुन नसकेको उनले बताए ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आवका लागि २ अर्ब ७३ करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक करका दर यथावत् राख्दै दायरा विस्तार गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् । नगरपालिकाले आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख रुपैयाँ संकलन हुने लक्ष्य राखेको छ । त्यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख प्राप्त गर्नेछ । बाँकी रकम राजस्व बाँडफाँट र चालु वर्षको बचतबाट प्राप्त हुने बजेटमा उल्लेख छ । तिलोत्तमाले संघीय सरकारबाट प्राप्त अनुदान धेरै पाएकाले बजेटको आकार बढेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिकाले झन्डै ८३ करोड, ओमसतिया गाउँपालिकाले ४७ करोडको बजेट सार्वजनिक गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले १ अर्ब ७ करोड ७४ लाख, राप्ती सोनारी गाउँपालिकाले ८० करोड ९१ लाख, जानकी गाउँपालिकाले ४६ करोड १० लाख, डुडुवा गाउँपालिकाले ४८ करोड ८४ लाख, नरैनापुर गाउँपालिकाले ४८ करोड ६२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । नरैनापुर र डुडुवाले शिक्षामा धेरै बजेट छुट्याएका छन् ।

कपिलवस्तुका स्थानीय तहले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिंदै आइतबार आगामी वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । बुद्धभूमि नगरपालिकाले १ अर्ब १८ करोड २२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शिवराज नगरपालिकाले १ अर्ब २७ करोड, कपिलवस्तु नगरपालिकाले ९२ करोड १२ लाख, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाले पनि आइतबार नै बजेट सार्वजनिक गरेका छन् ।

बर्दियाको गुलरिया नगरपालिकाले १ अर्ब ५ करोड ४९ लाख रुपैयाँको बजेट पेस गरेको छ । नगर उपप्रमुख सावित्रा गौतमले पेस गरेको बजेट आइतबार नै पारित भएको छ । नगरपालिकाले भौतिक तथा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवा सुधारमा जोड दिंदै बजेट पेस गरेको थियो ।

पश्चिम नवलपरासीका सातवटै स्थानीय तहले आगामी आवको बजेट आइतबार सार्वजनिक गरेका छन् । सुनवल नगरपालिकाले १ अर्ब १८ करोड र सबैभन्दा कम पाल्हीनन्दन गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । रामग्राम नगरपालिकाले सोलार प्लान्टमार्फत १ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि विद्युत् उत्पादन गर्न बजेट विनियोजन गरेको हो । झन्डै ८ करोडको लागतमा सोलार प्लान्टमार्फत विद्युत् उत्पादन गरिने र त्यही विद्युत् बिक्री गरेर आन्तरिक आम्दानीको स्रोत बनाउने नगरपालिकाको योजना छ ।

प्रतापपुर गाउँपालिकाले केरा र उखु उद्योग खोल्न सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम ल्याएको छ । सुनवल नगरपालिकाले मृगौला पीडित बिरामीको उपचारमा सहयोग गर्ने गरी बजेट सार्वजनिक गरेको छ । पाल्पाका दुई नगर र आठ गाउँपालिकाले कृषि तथा पशुपालन र भौतिक पूर्वाधारलाई नै जोड दिंदै आइतबार बजेट सार्वजनिक गरेका छन् । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले १ अर्ब २ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी छन् । नगरपालिकाले ९ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । रामपुर नगरपालिकाले ६९ करोड ७२ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ ।

पाल्पाका निस्दी, पूर्वखोला, रम्भा, तिनाउ, बगनासकाली, माथागढी, रिब्दीकोट र रैनादेवी गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् । बगनासकाली गाउँपालिकाले चालु वर्षमा आन्तरिक स्रोतबाट ६५ लाख आम्दानी गरेकामा आगामी वर्ष ९० लाख पुर्‍याउने लक्ष्य लिएको छ । अन्य स्थानीय तहले स्थानीय पूर्वाधारलाई नै जोड दिएका छन् ।

गुल्मी, प्यूठान र रुकुम पूर्वका सबै स्थानीय तहले बजेट पेस गरेका छन् । अर्घाखाँचीका ६ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकाबाहेक अन्य सबैले बजेट पेस गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिकाले बजेट ल्याउन सकेन । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान र रोल्पाका झण्डै एक दर्जन पालिकाले आइतबार नै नीति कार्यक्रम र बजेट एकैसाथ पेस गरेका छन् ।

प्रकाशित : असार ११, २०८० ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?