कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको भैरवस्थान नजिकै डढेलो, बस्ती जोखिममा

माधव अर्याल

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानको ढिकुलडाँडा तल्लो भेगमा आइतबार बिहानदेखि भीषण डढेलो लागेको छ ।

पाल्पाको भैरवस्थान नजिकै डढेलो, बस्ती जोखिममा

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर अपराह्न ४ बजेसम्म तीनमध्ये दुई वटा बस्तीमा डढेलो सर्ने जोखिम टरेको छ । एउटा बस्ती अझै डढेलोको जोखिममा रहेको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले बताए ।

भैरवस्थानको ढेकुलडाँडा मुहाझिर सामुदायिक वन क्षेत्रमा आइतबार बिहानदेखि लागेको डढेलो बस्ती नजिकै आएपछि प्रहरी, प्रशासनमा जानकारी दिएको स्थानीय यमबहादुर कार्कीले बताए । उनका अनुसार ढेकुलडाँडा र मुहाझिर बस्तीको जोखिम हटे पनि ओखलढुंगा टोलमा अझै जोखिम रहेको छ ।

स्थानीय बासिन्दाले कोदाली, बेल्चा, स्याउला लिएर निभाउने प्रयास गरिरहेको उनले बताए । जंगलको बाहिरी क्षेत्रमा लक्ष्मण रेखा बनाएर डढेलो माथिल्लो बस्तीमा फैलिन नदिने प्रयास गरिएको स्थानीय कार्कीले बताए ।

प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद बास्तोलाले सुरक्षाका सबै निकाय साथै डिभिजन वन कार्यालयमा खबर गरिएको र डढेलो नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । प्रहरी उपरीक्षक हेरम्ब शर्माले बस्ती नजिकै डढेलो आइपुगेको खबर पाउनासाथ सुरक्षाकर्मी खटाइएको बताए । केही दिनयता गर्मी बढेसँगै पुनः डढेलो लाग्ने क्रम बढेको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?