थालेसेमिया रोक्न विवाह गर्दा रगत जाँच

रुपा गहतराज

नेपालगन्ज — सामान्यतया विवाह गर्दा चिना हेर्ने चलन छ तर थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने बाध्यता छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्विकार्न जरुरी रहेको भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले बताए  । 

‘अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मिएको बच्चामा रोग सर्न सक्नेलाई ‘वाहक’ भनिएको हो । उनले भने, ‘थालेसेमिया रोक्नका लागि विवाह गर्दा नै ध्यान पुर्‍याउनुपर्छ । थालेसेमिया भएका महिला र पुरुषबीच विवाह नगर्दा यो रोग बच्चामा सर्दैन । एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्छ । बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग विवाह गरिदिनुपर्छ ।’

डा.पाण्डेका अनुसार थालेसेमियाको उपचारभन्दा पनि यो संक्रमण हुन नदिन विवाहमै ध्यान दिनुपर्ने डा. पाण्डेको सुझाव छ । यतिबेला बाँकेका थारू गाउँहरूमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँड्न थालिएको छ । सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने सिकलसेल, थालेसेमिया रोगका स्रोत व्यक्ति डा. पाण्डेले बताए ।

५० प्रतिशत बिरामी र ५० प्रतिशत वाहकले पनि विवाह गर्न नमिल्ने बताइएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहकका बीचमा विवाह गर्दा पनि विचार गर्नुपर्ने डा. पाण्डेले बताए ।

नेपालगन्ज भेरी अस्पतालमा कार्यरत फिजिसियन डा. पाण्डेका अनुसार प्रत्येक महिना १५ जना थालेसेमियाका विरामी बच्चाहरु अस्पताल आउने गरेका छन् ।

‘हिजोआज भेरीमा ठूला बिरामीभन्दा पनि बच्चाहरू आउने गरेका छन् । हामीसँग भएको डाटाअनुसार अहिले प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चाहरू अस्पताल आउने गरेका छन्,’ उनले भने, ‘अहिले हामीले हप्तामा २ देखि ३ जना बच्चाको नियमित नयाँ डाइग्नोसिस गरिरहेका छौं ।’

थालेसेमियाका बिरामीमा ८० प्रतिशत थारु समुदाय र २० प्रतिशत अन्य समुदायका रहेका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले बिरामी र वाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताइन् । उनका अनुसार बाँकेको थारू बाहूल्य गाउँमा यतिबेला बिरामी र वाहक पत्ता लगाउने काम भइरहेको र जाँच पनि भइरहेको छ । यो रोगको उपचारमा धेरै खर्च लाग्ने हुँदा यसका बिरामी तथा आफन्तहरूको भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधिको व्यवस्था गर्नुपर्ने माग छ । सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याको रुपमा परिभाषा गर्दै एक लाखसम्मको औषधि निःशुल्क दिने गरेको छ ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुलगायत जिल्लाका थारू समुदायमा यो रोगको समस्या देखिएको छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकाले यस रोगबाट ग्रसित बिरामीहरूको बिमा गर्ने अभियान सुरु गरिसकेका छन् । सरकारले अत्यावश्यक औषधिको सूचीमा सिकलसेल र थालेसेमिया रोगीको औषधि पनि राखेको छ ।

वंशाणुगत रोगको रुपमा रहेको थालासेमिया थारू समुदायमा बढी देखिन्छ । थालेसेमिया सिकलसेल एनिमियाजस्तै रोग हो ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:०५
प्रतिक्रिया
पठाउनुहोस्

भेरी अस्पतालमा जेठ १५ भित्रै ‘इमर्जेन्सी कक्ष’ पूर्णरुपमा सञ्चालन हुने

रुपा गहतराज

काठमाडौँ — भेरी अस्पताल नेपालगन्जमा जेठ १५ भित्रै ‘इमर्जेन्सी कक्ष’ पूर्णरुपमा सञ्चालन गर्नेगरी तयारी थालिएको छ । नयाँ ओपीडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालन गर्ने र इमरजेन्सी वार्ड भने पूर्ण रुपमा सञ्चालन गर्ने तयारी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए ।

अहिलेको इमर्जेन्सी कक्षमा एमआरआई सेवा सञ्चालनको तयारी छ । चारतले नयाँ भवन अझै पूर्णरुपमा हस्तान्तरण हुन नसकेपछि ओपीडी सेवा आंशिक र आपत्कालीन सेवा पूर्ण रुपमा सञ्चालन गर्ने तयारी थालिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चापागाईंले हाल पुरानो भवनबाट सेवा प्रवाहमा कठिनाइ भएकाले नयाँ भवन हस्तान्तरण नभए पनि स्तरोन्नतिसहित इमर्जेन्सी वार्ड सञ्चालनको तयारी गरिएको बताए ।

‘जेठ १५ भित्र नयाँ भवनबाट इमर्जेन्सी वार्ड पूर्णरुपमा सञ्चालन गर्ने तयारी छ । अब सञ्चालन गरिँदा पूर्ण रुपमा सुविधासम्पन्न शय्याको व्यवस्था गरिएका छन्‚’ डा. चापागाईंले भने, ‘इमर्जेन्सी कक्ष हाल १६ शय्याको रहेकोमा ३० शय्याको हुनेछ ।’

भेरी अस्पतालमा १५० शय्याको स्वीकृति भए पनि पुरानो भवनबाट १६२ शय्यामा बिरामीको उपचार भइरहेको छ ।

भेरी अस्पतालमा निर्माण भइरहेको ओपीडी भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भएपछि उक्त अस्पताल करिब पाँच सय शय्या क्षमताको हुने बताइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×