स्ववियु निर्वाचन : बाँकेका ४ क्याम्पसमा मतदान जारी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ववियु निर्वाचन : बाँकेका ४ क्याम्पसमा मतदान जारी

रुपा गहतराज

नेपालगन्ज — बाँकेका चार वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मतदान जारी छ । पूर्व निर्धारित तालिकाअनुसार क्याम्पसहरुमा स्ववियुको नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको हो ।

कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ्ग क्याम्पस, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र जन सिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा निर्वाचन हुनेछ ।

स्ववियुको चुनाव हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बाँकेका चारवटै क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सबै क्याम्पसहरुमा आवश्यकताको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले निर्वाचनको लागि सुरक्षा व्यवस्था मिलाइएको बताए ।

मतदाता नामावलीमा नाम रहेका विद्यार्थीहरुले दिउँसो ४ बजेसम्म आफ्नो क्याम्पसमा पुगेर मतदान गर्न पाउनेछन् । निर्वाचन हुन गइरहेका क्याम्पसमा विद्यार्थी संगठनहरु कतै सहकार्य र कतै प्रतिस्पर्धा गर्नेगरी चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरु आफू अनुकूल हुनेगरी गठबन्धन गरेर समेत चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्लामा स्ववियु निर्वाचन हुन गइरहेका पाँच क्याम्पसमध्ये चारबाट त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पस रहेका छन् । यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत्र ८ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रकाशित : चैत्र ५, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्

सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेकर्ड, पुग्यो १ लाख १० हजार

किन महँगियो ? 
कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । डेढ महिनाअघिको उच्च मूल्य रेकर्ड तोड्दै आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य रेकर्ड बनेको थियो । 

अघिल्लो कारोबार दिनको तुलनामा आइतबार एकै दिन प्रतितोला २ हजार ९ रुपैयाँले सुनको भाउ बढेको हो । गत शुक्रबार प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा नेपालमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य बिहीबारको तुलनामा ३.४७ प्रतिशतले बढेर प्रतिऔंस १९८८ डलर कायम भएको छ । जसको प्रभाव आइतबार नेपाली बजारमा परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा किन महँगियो सुन ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार यसअघि नै अमेरिकाका दुई बैंक बन्द भएयता सुनमा लगानीकर्ताको विश्वास बढ्न गई माग बढेकाले मूल्य बढ्दै गएको थियो । पछिल्लो समय स्वीटजरल्याण्डको अर्को बैंकमा पनि समस्या देखिएपछि सुनको मूल्य अझ उकालो लाग्न पुग्यो । 'विश्वका प्रमुख स्टक मार्केट पनि ओरालो लागेका छन्, आर्थिक मन्दी छाउने विभिन्न रिपोर्टहरुले बताइरहेका छन् यसले गर्दा पनि सुनप्रति लगानी बढ्दा मूल्य बढेको हो' शाक्यले भने ।

रुस र अमेरिकाबीच थप द्वन्द्व बढ्ने संकेतले पनि पछिल्लो पटक सुनको मूल्य थप बढेको हो । 'अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व बढ्ने संकेत देखिँदा नै सुनको माग बढ्न जान्छ, लगानीकर्ता मात्रै नभई राज्यले नै सुनको माग बढाउँछन्, यसले स्वभाविक रुपमा मूल्य बढ्छ' शाक्यले भने ।


हालै द हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । युक्रेनसँग युद्ध अपराधमा जिम्मेवार ठहर गर्दै अदालतले पुटिनलाई पक्राउ पुर्जी जारी गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वागत गरेका छन् । यद्यपि रुसले हेगको अदालतलाई कुनै मान्यता दिएको छैन । हेग अदालतले पक्राउ पुर्जी जारी गर्दैमा पुटिनलाई कुनै असर नपरे पनि अमेरिका र रुसबीचको आर्थिक तथा वैचारिक द्वन्द्व बढ्ने संकेतले सुरक्षित लगानीका लागि सुनमा आकर्षण बढेको व्यवसायी बताउँछन् ।


प्रकाशित : चैत्र ५, २०७९ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×