उपमहानगरहरूको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै


बुटवल — देशभरका उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन बुटवलमा आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन माघ २१ र २२ गते आयोजना गर्न लागेको हो ।

सम्मेलनमा उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकालिने छ ।
बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अनुभव आदानप्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।
सम्मेलनमा उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुनेछन् । साथै उनीहरूले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने छन् ।
सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने अन्य शत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुनेछ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले सम्मेलनले स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताइन् ।
प्रकाशित : माघ १८, २०७९ २०:०५