कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के हुन्छ गण्डकी सरकार ?

कांग्रेस, एमाले र माओवादी यतिबेला दुई सांसद रहेको राप्रपालाई फकाउन कसरत गरिरहेका छन् ।
मन्त्रालय फुटाएर भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री
प्रतीक्षा काफ्ले

कास्की — फागुन २३ मा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले चैत २२ सम्म विश्वासको मत लिइसक्नुपर्ने छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेशसभाको अहिलेको जोड–घटाउ अनुसार विश्वासको मत जुटाउन राप्रपालाई फकाउने कोशिषमा छन् ।

के हुन्छ गण्डकी सरकार ?

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनाएपछि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपालाई फकाउन कसरत गरिरहेका छन् । चैत ५ मा मन्त्री बनेका मनाङे त्यसअघि एकीकृत समाजवादीमा थिए । उनले अघिल्लो दिन पार्टी परित्याग गरी संसद सचिवालयमा स्वतन्त्र सांसदको हैसियत मागेका हुन् ।

गण्डकीमा सरकार गठनका लागि मुख्य निर्णायक रहेको राप्रपा अहिले कांग्रेस, एमाले र माओवादीको तानातानमा छ । पर्यटकीय राजधानी घोषणा गर्न पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ४ गते बिहान राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङलाई भेटेर नयाँ गठबन्धनलाई सघाउन आग्रह गरेका थिए । यस्तै, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि पूर्वमन्त्रीसमेत रहेका गुरुङसँग भेट गरेर गण्डकीमा सघाउन आग्रह गरेको स्रोतको भनाइ छ ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार बनाउनको लागि ३१ जना आवश्यक पर्छ । २२ सांसद रहेको एमाले र सभामुखसहित ८ सांसद रहेको माओवादी केन्द्रले मात्र नयाँ गठबन्धन अनुसार सरकार बनाउन पुग्दैन । त्यसैले एमाले–माओवादी गठबन्धन दुई सांसद रहेको राप्रपाको साथ खोजिरहेको हो ।

राप्रपाका नेता गुरुङले चैत २७ गतेअघि कुनै पनि निर्णय नगर्ने बताए । ‘त्यसपछि प्रदेश सरकारमा सहभागी हुने या नहुने केन्द्रिय बैठकले निर्णय गर्छ,’ उनले भने, ‘हिन्दु राष्ट्रसहित हाम्रा ४० बुँदे माग जसले सम्बोधन गर्छ हाम्रो साथ उसैलाई हुनेछ ।’

चैत २७ सम्म राप्रपाको निर्णय नहुने भएपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त हुने तयारीमा छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यहाँसम्म राप्रपाको निर्णय आउने र माओवादीको चुनाव चिन्ह लिएर गोरखाबाट चुनाव लडेका नेसपाका सांसद देवकोटालाई फकाएर विश्वासको मत प्राप्त गर्ने योजना रहेको कांग्रेसका एक सांसदले बताए । ‘यस विषयमा पनि छलफल भइरहेको छ,’ ती सांसदले भने, ‘फणिन्द्रजीले हामीलाई साथ दिन्छु भन्नुभएको छ ।’

संसदमा कांग्रेसको २७, राप्रपा २, स्वतन्त्र एक र नेसपाको एक सांसदले सरकार गठनमा बहुमत पुग्छ । भौतिक मन्त्रालयको जिम्मेवारी मनाङेलाई दिइसकेका छन् भने राप्रपाका दुवै सांसद र देवकोटालाई मन्त्री बनाउने गरी मुखयमन्त्री छलफलमा जुटेका छन् । स्रोतका अनुसार बुधबार बिहान गण्डकीमा सरकार बारे कांग्रेस सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला र बाबुराम भट्टराई बीच छलफल समेत भएको छ ।

अहिले गण्डकी प्रदेश प्रमुख एमालेका डिल्लीराज भट्ट छन् । राजनीतिक जोड–घटाउका बेला प्रदेश प्रमुखले लामोसमय दिएर सरकार गठन गर्न आहृवान गर्छन् कि भन्ने आशंका धेरैलाई छ । संविधानको धारा १८६ को उपधारा २ अनुसार सरकार बन्न नसके प्रदेशसभाको पहिलो दलको हैसियतमा कांग्रेस नेतृत्वको सरकार बन्छ । विश्वासको मत नलिई राजीनामा दिए प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आहृवान गर्नेछन् । अहिलेसम्म भइरहेको अभ्यासअनुसार बढीमा ७ दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले समय दिनसक्ने अनुमान कांग्रेसको छ । यता, एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले एमालेकै नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । विभिन्न फोरममा बोल्दै उनले केही दिनमा नै एमाले नेतृत्वको सरकार गठन हुने बताए ।

प्रकाशित : चैत्र १४, २०८० २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?