कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकीय गन्तव्य चिनाउन ‘क्यूआर कोड’

प्रकाश बराल

बागलुङ — बागलुङ घुम्न निस्कँदै हुनुहुन्छ ? अब यहाँ आउँदा कस्ता गन्तव्य छन् भनेर अलमलिनु पर्दैन । घरमै बसेर पनि ती गन्तव्यबारे विस्तृत विवरण प्राप्त गर्न सकिने भएको छ । यहाँका ११ गन्तव्यलाई क्यूआर कोडमार्फत अध्ययन गर्न सकिने भएको हो । ‘क्यूआर हेरिटेज म्यापिङ तथा स्टोरी टेलिङ’मार्फत अध्ययन गर्न सकिने बनाइएका हुन् ।

पर्यटकीय गन्तव्य चिनाउन ‘क्यूआर कोड’

बागलुङ नगरपालिका र नगर पर्यटन विकास समितिको अगुवाइमा यहाँका गन्तव्यलाई क्युआर कोर्डमार्फत अध्ययन गर्न सकिने गरी व्यवस्थापन मिलाइएको छ । ‘क्यूआर हेरिटेज म्यापिङ तथा स्टोरी टेलिङ’मार्फत ती गन्तव्यको अवस्था, इतिहास, भौगोलिक दूरी, त्यहाँसम्म पुग्ने सडकलगायतको जानकारी समावेश गरिएको छ । नेपाली र अंग्रेजी भाषामा ती क्षेत्रको विस्तृत विवरण क्यूआरमा समावेश छ ।

यसरी सूचना लिँदा पर्यटकले आफ्नो समय समेत व्यवस्थापन गरेर मात्रै भ्रमणमा निस्कन सक्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । ‘कुन स्थानमा घुम्ने, त्यसको महत्त्व के हो भन्ने कुरा पर्यटकले क्युआर कोर्डबाटै जान्न सक्ने भएका छन्,’ खड्काले भने, ‘अब एउटा गन्तव्यमा पुगेको पर्यटकले त्यसको इतिहास बुझेपछि अर्कोको दूरी हेरेर आफैं अर्को गन्तव्य घुम्न जान सक्छन् ।’ त्यसका लागि बागलुङबाट पाइने सार्वजनिक यातायातको अवस्थाबारे समेत जानकारी पाउन सकिन्छ ।

बागलुङ कालीका भगवती मन्दिर क्यूआर कोडको पहिलो सूचीमा छ । समितिको नाम सूचीकरण गर्न बनेको उपसमितिले ती गन्तव्यको इतिहास, महत्त्व र त्यहाँ पुग्ने पर्यटकको संख्याका आधारमा पहिलोदेखि ११औं नम्बरसम्ममा सूचीकरण गरेको थियो । सबैभन्दा धेरै भक्तजन र पर्यटक पुग्ने भएकाले कालीका मन्दिर पहिलो सूचीमा परेको हो । त्यसपछि बलेवास्थित कालभैरव स्थान, शालीग्राम संग्रहालय, पञ्चकोट, मालिका र सिगानास्थित रानीभूमे मन्दिरसमेत सूचीकरण गरिएको हो ।

अन्तर्राष्ट्रिय कृष्ण भावनामृत केन्द्र (इस्कोन), भकुण्डेस्थित बराह ताल, यहाँको गौरीधाम शिव मन्दिर, रायडाँडामा रहेको बौद्ध गुम्बा र तित्याङमा रहेको मनकामना मन्दिरसमेत क्युआर कोडमा सूचीकरण गरिएको हो । ‘क्यूआर कोडमार्फत अध्ययन गरेपछि कतिपयले ती स्थानमा पुग्ने योजना बनाउन सक्छन्, यो निकै राम्रो अवधारणा हो,’ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘अब पर्यटक पनि स्मार्ट बन्नुपर्छ भन्ने यो सन्देश हो ।’ नगरभित्रका पर्यटकीय गन्तव्यको सूचीकरणमा तीन दर्जनभन्दा बढी स्थान सूचीकृत भएको समेत उनले बताए । नगर प्रमुख श्रेष्ठले मंगलबार उक्त क्यूआर कोडको शुभारम्भसमेत गरेका छन् । पहिलो चरणमा भएका ती स्थानको प्रचारप्रसारपछि क्रमशः अन्य स्थानको पनि क्यूआर कोड बनाइनेछ ।

सारङ सर्भिस प्रालिले यो क्यूआर कोड बनाएको हो । टिम लिडर दिवाकर रिजालको नेतृत्वमा आएको प्राविधिक टोलीले ती सबै गन्तव्यमा पुगेर तस्बिर र भिडियो खिच्नुका साथै ती गन्तव्यको इतिहास, भौगोलिक अवस्था, हालसम्म भेटिएका तथ्य र प्रमाण लगायतको सामग्री संकलन गरेको थियो । ती सबै सामग्री क्यूआरमार्फत पढ्न सकिन्छ । क्यूआरभित्र नगरपालिकाको नक्सा र गन्तव्यबारे थप जानकारी दिने गरी दुई वटा खण्ड राखिएको छ । प्रचारप्रसारका लागि कागजी रूपमा ब्रोसर पनि बनेको छ । ब्रोसरमा समेत क्यूआर कोड राखिएको हो ।

केही समय अघिदेखि होटल व्यवसायी संघले पनि पर्यटकीय गन्तव्यको सूचीकरण गर्न माग गरेको थियो । ‘पोखरामा आएका पर्यटकलाई बागलुङसम्म ल्याउन यो अभियानले साथ दिनेछ,’ नेपाल होटल व्यवसायी महासंघ, गण्डकीका अध्यक्ष अर्जुन चोखालले भने, ‘पोखराका महत्त्वपूर्ण गन्तव्यमा पनि ती ब्रोसर पठाउने व्यवस्था गर्छौं ।’ डिजिटल जमाना भएकाले प्रविधियुक्त बनाउँदा प्रचारप्रसार समेत बढ्ने उनले बताए ।

प्रकाशित : चैत्र ६, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?