२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

बेनी–जोमसोम सडकको भीरकाटेमा ३ सय ८४ मिटर सुरुङ बनाइने

घनश्याम खड्का

म्याग्दी — निर्माणाधीन कालीगण्डकी करिडोर अर्न्तगत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकको भीरकाटेमा ३ सय ८४ मिटर डबल लेनको सुरुङ निर्माण हुने भएको छ ।

बेनी–जोमसोम सडकको भीरकाटेमा ३ सय ८४ मिटर सुरुङ बनाइने

कालीगण्डकी नदी किनारको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरनजिक भीरकाटेमा बर्खामा सधैं सडक बगाउने गरेको थियो ।

सडकको डिजाइन परिवर्तन गरेर सुरुङ मार्ग बनाउन लागिएको हो । यसका लागि इष्टिमेट तयार गरेर स्रोत सुनिश्चितताका लागि सडक विभागमार्फत अर्थ मन्त्रालयमा पेश भएको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

‘भीरकाटे खण्डमा सडक कालीगण्डकी नदी किनारामै रहेकोले बर्षेनी बर्खामा कालगीगण्डकी नदीले बगाएर यातायात अबरुद्ध हुने गर्छ कुनापट्टि अग्लो ओढार र कडा पहाड छ, विष्फोटन वा अन्य विधिबाट काटेर सडकको लेभलमा ल्याउन सम्भव छैन । सुरुङ मार्गनै उत्तम विकल्प हो,’ मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख ध्रुवकुमार झाले भने, ‘टनेलको डिजाईन इष्टिमेट भइसकेको छ । बजेट टुंगो भए यही आवभित्र टेण्डर गर्ने योजनामा छौं ।’

सडकको दायाँ तर्फ अग्लो ओढार सँगै कडा पहरा र बायाँ किनारामा कालीगण्डकीले निरन्तर कटान भैरहेको तथा सडक नदी सतहभन्दा तल झरेकोले सुरुङ मार्गको विकल्प रोज्नु परेको हो । टनेल प्रस्ताव गरिएको ठाउँ भन्दा करिब २ सय मिटर तल अर्को टिम्मुरेभीरमा भने करिब ८० मिटर लामो अर्ध सुरुङ (अंग्रेजी अक्षरको सी आकार)मा सडक निर्माण हुने छ ।

उक्त खण्डमा सडकको देब्रे किनारामा कालीगण्डकी साँघुरो भएर बगेको र दायाँ भागमा अग्लो पहाड भएकोले विष्फोटन गरी पूरै भीर काट्न असम्भव भएकोले भीर कोपेर बनाएको अर्धसुरुङ आकारको घोडेटो बाटोलाई विस्तार गरी सडक बनाइएको छ ।
आयोजना प्रमुख झाका अनुसार भीरकाटेमा डबल लेन सुरुङमार्ग बनाउन भ्याटबाहेक ८८ करोड बढी लागत अनुमान छ ।

मालढुङ्गा–बेनी–जोमसोम–कोरोला १ सय ९९ किलोमिटर सडक मध्ये म्याग्दीमा पर्ने बेनी (गलेश्वर)–घाँसा खण्डको बिभिन्न १५ किलोमिटर क्षेत्र अति कठिन छ । अर्को विभिन्न खण्डगरी २ किमी सडक क्षेत्र भने पहिरोग्रस्त छन् ।

‘आयोजना अर्न्तगत म्याग्दी खण्डमा पर्ने गलेश्वर–घाँसा क्षेत्रका केही ठूला पहिरोले यो खण्डको स्थायित्व कायम हुन सकेको छैन । भूगर्भविद् समेतबाट स्थलगत अध्ययन गराएका छौं । अब ड्रोनबाट पनि अध्ययन गर्ने योजना छ,’ आयोजना प्रमुख झाले भने, ‘बैंसरी क्षेत्र, खामभित्ता र काप्रेभीरसमेत गरी सानाठूला १० वटा पहिरा चुनौतिपूर्ण बनेका छन् ।’

आयोजना कार्यालयका अनुसार ०७६ मंसिरमा सम्पन्न भैसक्नु पर्ने गरी ठेक्का लागेको सडकको चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७५ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तिय प्रगति भएको छ ।

सडक मध्ये हालसम्म जम्मा ४५ किलोमिटर मात्र कालोपत्रे भएको छ । बाँकी १ सय २२ किलोमिटर सडक ग्राभेल स्तरमा बनेको छ । बाँकी निर्माणाधीन छ ।

प्रकाशित : माघ १२, २०८० १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?