कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

करारका डाक्टरले साउनदेखि पाएनन् तलब

कास्की — छात्रवृत्ति करारका डाक्टर तथा स्वास्थ्यकर्मीले मासिक रूपमा प्राप्त गर्ने पारिश्रमिक नपाएको बताएका छन् । चालु आर्थिक वर्ष (साउनदेखि) सुरु भएदेखि नै तलब नपाएपछि गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा निवेदन दिँदै उनीहरूले पारिश्रमिक माग गरेका छन् ।

करारका डाक्टरले साउनदेखि पाएनन् तलब

तलब नपाउँदा दैनिक गुजारा चलाउनसमेत गाह्रो भएको भन्दै मातृशिशु मितेरी अस्पताल कास्कीमा कार्यरत डा. गरिमा देवकोटा, डा. कृष्ण तिमिल्सिना, डा. नवीन रेग्मी, डा. रविरमण न्यौपानेलगायत १५ जनाको टोलीले हस्ताक्षर गरी मन्त्रालयमा निवेदन बुझाएका हुन् । मंसिर २४ गते निवेदन दिए पनि उनीहरूले पुस लागिसक्दासमेत तलब नपाएको बताएका छन् ।

छात्रवृत्ति करारका डाक्टरका लागि संघीय सरकारले ससर्त अनुदानमा ३ करोड रुपैयाँ एकमुष्ठ पठाएको छ । अबण्डा बजेट भएका कारण बाँडफाँटमा समस्या हुँदा तलब दिन नसकिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका सचिव बलराज रिज्यालले अबण्डा बजेट बाँडफाँटका लागि अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालयले पत्राचार नगर्दा ढिलाइ भएको बताए । उनले चिकित्सकको लागि आएको अबण्डा बजेट सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट पत्राचार नआउँदासम्म अर्थ मन्त्रालयमा बजेट टुक्य्राउने अधिकार नरहने बताए ।

‘स्वास्थ्य सचिवसँग पत्र माग गरेको छु अब छिट्टै तलब पठाउँछौँ,’ उनले भने । यस विषयमा जानकारी लिनका लागि स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मालाई टेलिफोन सम्पर्क गर्दा उनको फोन उठेन ।

प्रकाशित : पुस ३, २०८० १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?