कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पूर्वी नवलपरासीमा धान बालीमा सेतो पुतलीको प्रकोप

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा धान बालीमा सेतो पुतली फैलिएको छ । धान पसाउने बेला पुतली देखिएर बोट रोगाउन थालेपछि किसानमाझ चिन्ता बढेको छ । 

पूर्वी नवलपरासीमा धान बालीमा सेतो पुतलीको प्रकोप

धानमा सेतो किरा लाग्दा पहेलो हुने र बोट नसप्रने समस्या देखापरेको छ । जिल्लाको कावासोती, मध्यविन्दु, विनयी त्रिवेणी, देवचुली र गैंडाकोट क्षेत्रमा यस्तो समस्या देखिएपछि धानको उत्पादन घट्न सक्ने अनुमान भइरहेको छ ।

विशेष गरेर सावित्री र हाइब्रिड जातका धानका बोटमा किराको प्रकोप बढी देखिएको छ । सेतो पुतली लाग्दा धानका बोट पहेँलो हुँदै विस्तारै सुक्ने अवस्थामा पुगेको कावासोती-१७ का किसान नारायण पौडेलले बताए । ‘सुरुवातमा एकाध बोटमा देखिए पनि अहिले खेतभरी सेतो पुतली फैलियो‚’ उनले भने, ‘पात र डाँठ खाइदिएर बोट नै सुक्ने अवस्थामा पुर्‍याउने रहेछ । समयमा नै समाधान नगरेमा धान उत्पादन नहुने भो । ’

कृषि ज्ञान केन्द्र नवलपुरका बालीविद् मिरा चौधरीले सेतो पुतलीले धानमा क्षति पुर्‍याएको बताइन् । प्राविधिकको सल्लाहविना नै धान हरियो बनाउन युरिया मल राख्दा प्रकोप थप बढ्न सक्ने जोखिम रहेको उनको भनाइ छ । रोग लागेको थाहा पाएपछि कृषि प्राविधिकलाई खबर गरेर मात्र औषधि र रासायनिक मल हाल्नुपर्ने उनको सुझाव छ ।

किराको प्रकोप बढेको पनि कति क्षेत्रफलमा रोग फैलिएको छ भन्ने बारे यकीन तथ्यांक सरकारी निकायसँग छैन । किसान भने छिटोभन्दा छिटो प्रकोपको समाधान खोजिदिन स्थानीय तह र कृषि ज्ञान केन्द्रलाई आग्रह गरिरहेका छन् ।

चालु वर्ष पूर्वी नवलपरासीमा १८ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । ७६ हजार ९ सय ५६ मेट्रिक टन धान उत्पादन हुने अनुमान थियो । बोटमा रोग लागेपछि उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०८० २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?