२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

लमजुङको खुदीखोलाले बगाएर स्कुले बालिका बेपत्ता

आश गुरुङ

लमजुङ — लमजुङमा खुदीखोलाले बगाएर एक स्कुले बालिका बेपत्ता भएकी छन् । मर्स्याङदी गाउँपालिका ३ र ९ को बीचबाट बग्ने खुदीखोलामा पुरानो पुलभन्दा मुनि पौडी खेल्ने क्रममा वडा नं. ३ की १२ वर्षीया रोश्नी तामाङलाई मंगलबार अपराह्न खोलाले बगाएको प्रहरीले जनाएको छ ।

लमजुङको खुदीखोलाले बगाएर स्कुले बालिका बेपत्ता

खुदीको अमर माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययरत तामाङ खुदीखोलाले बगाएर बेपत्ता भएको र खोजी गरिरहेको विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर बस्नेतले बताए ।

स्थानीयका अनुसार पौडी खेल्न गएका तीन जनामध्ये तीनै जनालाई खोलाले बगाएको थियो । तर एक जना आफैं उत्रिएका थिए भने एक जनालाई माछा मार्नेहरुले बचाएका थिए ।

तामाङलाई भने बचाउने प्रयास गर्दागर्दै खुदीखोलाले बगाएर मर्स्याङदीमा पुर्‍याएको स्थानीयले बताए । मर्स्याङदीको दोभानबाट करिब १ सय मिटर माथि पर्ने खुदीखोलाको रहमा उनीहरू पौडी खेलिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बेपत्ता बालिकाको खोजी भइरहेको बताए । खोजीका लागि अहिले खुदी प्रहरी चौकीका प्रहरी र स्थानीयहरू खटिएका छन् ।

प्रकाशित : असार २६, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?