कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा १० वर्षमा साढे ६२ हजार जनसंख्या बढ्यो 

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा १० वर्षको अवधिमा जम्मा ६२ हजार ६७० जनसंख्या वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रदेशस्तरीय नतिजा मंगलबार सार्वजनिक गर्दै उक्त जनसंख्या पनि सहरकेन्द्रित वृद्धि भएको जनाएको हो ।

गण्डकीमा १० वर्षमा साढे ६२ हजार जनसंख्या बढ्यो 

जनगणना २०७८ अनुसार गण्डकीको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ रहेको छ । यसमा पुरुष ११ लाख ७० हजार ८ सय ३३ (४७.४७ प्रतिशत) र महिला १२ लाख ९५ हजार ५ सय ९४ (५२.५३ प्रतिशत) रहेका छन् । २०६८ को जनगणनामा प्रदेशको जनसंख्या २४ लाख ३ हजार ७ सय ५७ रहेको थियो । १० वर्षको अवधिमा ०.२५ प्रतिशत वार्षिक जनसंख्या वृद्धि भई २.६१ प्रतिशतले जनसंख्या थपिएको हो । यो अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो ।

जनगणनाको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका जनसंख्या निर्देशक ढुण्डिराज लामिछानेले गण्डकीमा लैंगिक अनुपात अर्थात् प्रति एक सय महिलामा पुरुषको संख्या ९०.३७ रहेको जनाए । केन्द्रमा यो अनुपात ९५.५९ रहेको छ । उनका अनुसार २०६८ मा यो अनुपात गण्डकी प्रदेशमा ८३.०८ थियो ।

गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा ६ लाख ५१ र कम मनाङमा ५ हजार ६ सय ५८ मात्रै जनसंख्या रहेको छ । यसैगरी गोरखामा २ लाख ५१ हजार २७, मुस्ताङमा १४ हजार ४ सय ५२, म्याग्दीमा एक लाख ७ हजार ३३, लमजुङमा एक लाख ५५ हजार ८ सय ५२, तनहुँमा ३ लाख २१ हजार एक सय ५३, पूर्वी नवलपरासीमा ३ लाख ७८ हजार ७९, स्याङ्जामा २ लाख ५३ हजार २४, पर्वतमा एक लाख ३० हजार ८ सय ८७ र बागलुङमा २ लाख ४९ हजार २ सय ११ जनसंख्या रहेको छ । तथ्यांकअनुसार गोरखामा ७१ हजार ८ सय २६, मनाङमा एकहजार ५ सय ७२ र मुस्ताङमा ३ हजार ६ सय ७४ परिवार संख्या छन् ।

यसैगरी म्याग्दीमा २८ हजार ८ सय ३०, कास्कीमा एक लाख ६० हजार ६ सय ५१, लमजुङमा ४४ हजार एक सय ७०, तनहुँमा ८८ हजार ५ सय ८३, पूर्वी नवलपरासीमा ९३ हजार ९ सय २५, स्याङ्जामा ६८ हजार ९ सय ५९, पर्वतमा ३६ हजार एक सय ३७ र बागलुङमा ६४ हजार एक सय ५३ परिवार संख्या छन । परिवारको औसत आकारमा गोरखा ३.४९, मनाङ ३.६०, मुस्ताङ ३.९३, म्याग्दी ३.७१, कास्की ३.७४, लमजुङ ३.५३, तनहुँ ३.६३, पूर्वी नवलपरासी ४.०३ स्याङ्जा ३.६७, पर्वत ३.६२ र बागलुङ ३.८८ रहेको छ ।

सबैभन्दा धेरै जनघनत्व कास्कीमा २ सय ९५ जना प्रतिवर्गकिलोमिटर र सबैभन्दा कम मनाङमा ३ जना रहेका छन् । गोरखामा ७०, मुस्ताङमा ४, म्याग्दीमा ४७, लमजुङमा ९२, तनहुँमा २ सय ८, पूर्वी नवलपरासीमा २ सय ६५, स्याङ्जामा २ सय १७, पर्वतमा २ सय ६५ र बागलुङमा एक सय ४० रहेको तथ्यांकमा छ ।

प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी वार्षिक बृद्धिदर कास्कीमा १.९० प्रतिशत र कम मनाङमा माइनस १ दशमलव ३९ प्रतिशत रहेको छ । गोरखामा माइनस ०.७४, मुस्ताङमा ०.६९, म्याग्दीमा माइनस ०.५७, लमजुङमा माइनस ०.७०, तनहुँमा माइनस ०.०६, पूर्वी नवलपरासीमा १.८६, स्याङ्जामा माइनस १.२८, पर्वतमा माइनस १.०९ र बागलुङमा माइनस ०.७२ प्रतिशत वार्षीक जनसंख्या वृद्धिदर रहेको छ ।

प्रदेशका ८५ स्थानीय तहमध्ये सबैभन्दा कम जनसंख्या मनाङको नार्पाभूमी गाउँपालिकामा जम्मा ३ सय ९६ छ । मनाङकै चामे गाउँपालिकामा १२ सय ७६, नांसो गाउँपालिकामा १६ सय ७१ र मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १२ सय ९२ र लोमन्थाङ गाउँपालिकामा १४ सय ३० जनसंख्या रहेको छ । सबैभन्दा बढी पोखरा महानगरपालिकामा ५ लाख १३ हजार ५ सय ४ जनसंख्या रहेको छ ।

तनहुँको व्यास, पूर्वी नवलपरासीका कावासोती र गैंडाकोट तथा बागलुङको बागलुङ नगरपालिकामा पनि सबैभन्दा बढी जनसंख्या रहेको छ । गोरखाका ११ स्थानीय तहमध्ये ९, मनाङमा ४ मध्ये ३, मुस्ताङ ५ मा ४, म्याग्दीका सबै ६ वटैमा वार्षीक जनसंख्या वृद्धिदर ऋणात्मक छ । यसैगरी कास्कीका ५ मध्ये २, लमजुङका ८ मध्ये ७, तनहुँ १० मा ६, पूर्वी नवलपरासीका ८ मा २, स्याङ्जाका ११ मा सबै, पर्वतका ७ मा सबै र बागलुङका १० स्थानीय तहमध्ये ९ वटामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको तथ्यांकले देखाएको छ ।

गण्डकीमा ७ लाख ७६ हजार ६ सय ८६ घर रहेकोमा ५ लाख ४२ हजार ६ सय ५६ (६९.९ प्रतिशत) आवासीय छन । यसैगरी २२ हजार ४३५ व्यापारिक, २५ सय ६७ सरकारी, ९५ सय ३६ शैक्षिक, १५ सय ८ स्वास्थ्यजन्य, २८ सय ४६ उद्योग कलकारखाना, ७ सय ९६ बैंक तथा वित्तीय संस्था, ६ हजार ५३ संस्थागत, ५ हजार ८८ होटल तथा लज रहेका छन् । त्यस्तै ८५ हजार २ सय ८० गोठ, धन्सार, अन्य ३७ हजार ८ र ६० हजार ९ सय १३ घर खाली रहेको तथ्यांकमा छ ।

प्रदेशमा औसत परिवार सदस्य संख्या ३.७२ रहेको र यो ७ प्रदेशमा सबैभन्दा कम रहेको लामिछानेले बताए । जिल्लागतरुपमा सबैभन्दा बढी पूर्वी नवलपरासीमा ४.०३ र कम गोरखामा ३.४९ जना औसत परिवार संख्या रहेको छ । गण्डकीमा ४०.९८ प्रतिशत परिवारमा महिला घरमूली रहेका छन् । नेपालभर भने ३१.५५ प्रतिशत छन् । प्रदेशमा २ लाख ८६ हजार ५ सय ९३ जना (१३.१ प्रतिशत) व्यक्ति परिवारमा अनुपस्थित (अधिकांश विदेशमा) रहेका छन् ।

गण्डकीको साक्षरता दर ८१.७ प्रतिशत रहेकोमा पुरुष ८८.३ र महिला ७६.० प्रतिशत साक्षर रहेका छन । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा ८७.७३ प्रतिशत र कम गोरखामा ७२.३७ प्रतिशत साक्षरता दर रहेको छ ।

गण्डकीमा जन्मस्थान र हालको बसोबास एउटै पालिकामा भएका व्यक्ति ६५.८ प्रतिशत रहेका छन । यसमा पुरुष ७४.० र महिला ५८.४ प्रतिशत छन् । कुल जनसंख्याको ११.४ प्रतिशत व्यक्तिको जन्मस्थान सम्बन्धित जिल्लाको अर्को पालिका, २०.९ प्रतिशत जनसंख्याको अर्को जिल्ला र १.७ प्रतिशतको जन्मस्थान विदेश रहेको छ । प्रदेशमा बसाइँ सर्नुको कारणमा काम/रोजगारी, व्यापार, व्यवसाय, अध्ययन, विवाह, आश्रित, प्राकृतिक प्रकोप, कृषि, घर फर्किएकोलगायत छन् ।

नेपालको कुल जनसंख्याको २.२ प्रतिशत अपांगता भएको तथ्यांक रहदा गण्डकीमा भने २.९ प्रतिशतमा कुनै न कुनै अपांगता देखिएको छ । यसको कारण खोजी गर्नुपर्ने कास्की जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।

प्रदेशका १० वर्ष भन्दामाथि उमेरका २० लाख ९५ हजार ४ सय ७४ व्यक्तिमध्ये १३ लाख २० हजार १ सय ९४ जनाले जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् । त्यसमा ४१.९ प्रतिशतले ६ महिना वा सो भन्दा बढी समय, २१.१ प्रतिशतले ६ महिना भन्दा कम समय र ३७ प्रतिशले कुनै पनि आर्थिक काम नगरेको तथ्यांकमा छ । प्रदेशका १३ लाख ७६ हजार ३ सय ९६ (६५.७ प्रतिशत) जना आर्थिक रुपले सक्रिय रहेको पाइएको छ । जनगणनाको नतिजाअनुसार महिलाको नाममा घर, जग्गा वा घरजग्गा दुवै रहेका परिवारको संख्या गण्डकीमा २८.३ प्रतिशत रहेको छ ।

जनगणनाको नतीजा पुस्तक सार्वजनिक गर्दै गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले जनगणनाको नतिजा आधिकारिक भएकाले यसलाई आधार बनाएर नीति, योजना र कार्यक्रम बनाउने प्रतिबद्धता जनाइन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलियाले तथ्यांकलाई आधार बनाएर अघि बढ्न प्रदेश र स्थानीय सरकारसमक्ष अनुरोध गरे ।

प्रदेश सचिव बद्रीनाथ अधिकारी र तथ्यांक कार्यालय कास्कीका प्रमुख जगुलाल बस्यालले जनसंख्याको अवस्थाले कुनै पनि राष्ट्र वा त्यहाँका प्रशासनिक इकाइको अल्पविकसित, विकासोन्मुख र विकसित अवस्था झल्किने बताए । कार्यालयले केही समयअघि मात्रै नेपालको जनसख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको जनाएको थियो ।

प्रकाशित : जेष्ठ ९, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?