कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

१२ किमि दूरीमा ४ जलविद्युत्

मोदी, कुश्मा र फलेवास नगरहुादै बग्ने मोदी खोलामा १ सरकारीसहित ३ निजी क्षेत्रका आयोजना निर्माण
अगन्धर तिवारी

पर्वत — जलविद्युत्‌मा एकपछि अर्को फड्को मारिरहेको अवस्थामा जिल्लाको एक खोलाको झन्डै १२ किलोमिटरको दूरीमा ४ जलविद्युत् आयोजना निर्माण भएका छन् । मोदी, कुश्मा र फलेवास नगरपालिका हुँदै बगेको मोदीखोलाको छोटो दूरीमै यी आयोजना बनेका हुन् । 

१२ किमि दूरीमा ४ जलविद्युत्

एक सरकारी स्वामित्वको र अरू ३ निजी क्षेत्रका जलविद्युत् आयोजना निर्माण भएका हुन् । हालै मात्र चौधरी ग्रुपको स्वामित्वमा १८ मेगावाटको मध्यमोदी जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै मोदीमा उत्पादित विद्युत्को क्षमता ६२ मेगावाट पुगेको हो । त्यसबाहेक मोदीमा अरु दुई आयोजनासमेत निर्माणको चरणमा रहेका छन् ।

मोदीकै पुरानो नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५७ देखि उत्पादन दिइरहेको छ । त्यस्तै निजी क्षेत्रको युनाइटेड मोदी जलविद्युत् आयोजना (१० मेगावाट) ले पनि २०६९ देखि उत्पादन दिइरहेको छ । गतवर्षदेखि मनाङ ट्रेड लिंकको तल्लो मोदीखोला जलविद्युत् आयोजना (२० मेगावाट) ले उत्पादन दिइरहेको छ ।

धौलागिरिकै लाइफ लाइनका रूपमा पोखरा–बाग्लुङ राजमार्ग २०४६ पछि सञ्चालनमा आएसँगै मोदी खोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको थियो । पोखरा–बागलुङ सडक सञ्चालनमा आएको केही वर्षमै नेपाल विद्युत् प्राधिकरणले मोदीमा पहिलो विद्युत् आयोजना निर्माण शुरु गरेको थियो । २०५३ देखि निर्माण सुरु गरेको आयोजनाले मोदीकै पहिलो १४ मेगावाटको मोदी खोला जलविद्युत् आयोजना २०५७ देखि उत्पादन थालेको थियो । त्यसको १० वर्ष नपुग्दै मोदीमै निजी क्षेत्रले उत्पादन सुरु गर्‍यो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् २०६९ देखि उत्पादन दिइरहेको छ । मोदीखोलामै निजी क्षेत्रको युनाइटेड मोदी–२ (१० मेगावाट) र विद्युत् प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८.२ मेगावाटको अपर मोदी आयोजना निर्माण गर्न लागेको छ । युनाइटेड मोदीले नयाँ आयोजना निर्माणको मिति अन्योलमा परे पनि वातावरणीय प्रभाव मूल्यांकनलगायत आयोजनाका लागि आवश्यक काम अघि बढिरहेकाले आयोजना निर्माण हुनेमा कुनै आशंका नरहेको जनाएको छ । ‘हामीले त्योभन्दा अलि ठूलो आयोजना गर्ने कि भन्ने सोच बनाएका छौं,’ युनाइटेड मोदीका सञ्चालक उपेन्द्र गौतमले भने, ‘अहिले म्याग्दीमा एउटा आयोजना बनाउँदै छौं । त्यसलगत्तै अर्को ठूलो आयोजना खोजेर त्यसमै केन्द्रित हुने हो । युनाइटेड मोदी–२ का लागि जुटाएको लगानीबाट १५ मेगावाटको मेवाखोला आयोजना सुरु गरेका छौं ।’ उनका अनुसार युनाइटेड मोदी–२ आयोजना निर्माणको प्रक्रिया अघि बढाउन सञ्चालक समितिले नयाँ प्रक्रिया साथ अघि बढ्ने गरी केही समयका लागि रोक्ने निर्णय गरेको छ । प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८.२ मेगावाटको अपर मोदी जलविद्युत् आयोजना निर्माणको काम भने अघि बढाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले अपर मोदी ‘ए’ बाट निस्केको पानीलाई सिधै अपर मोदीमा पठाएर दुई आयोजना सँगै निर्माण गर्ने तयारी गरेको छ ।

प्रकाशित : वैशाख ८, २०८० ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?