विद्यालयमा बाँसका ‘डस्टबिन’- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयमा बाँसका ‘डस्टबिन’

सम्झना रसाइली

तनहुँ — विद्यार्थीलाई स्थानीय श्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन विद्यालयमा बाँसबाट निर्मित डस्टबिन लगायतका सामग्री प्रयोग गर्न थालिएको छ ।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई स्थानीय स्तरमै उपलब्ध श्रोतसाधनको अधिकतम् उपयोग गरी कसरी लाभ लिन सकिन्छ भन्ने शिक्षा दिन बाँसको डस्टबिन प्रयोगमा ल्याएको हो ।

गाउँघरमा सहजै उपलब्ध हुने बाँसबाट डोको तथा शैक्षिक सामग्रीहरु तयार गरी विद्यालयमा प्रयोग गर्न थालेको प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले बताए । ‘हामीले बाँसबाट डोको बुनेका छौं, सोही डोकोलाई प्रत्येक कक्षाकोठा, कार्यालय, विद्यालय प्रांगणका ठाउँठाउँमा राखेर डस्टबिनका रुपमा प्रयोग गर्न थालेका छौ’, उनले भने, ‘गाउँमै उपलब्ध बाँसबाट अभिभावकहरु वीरबहादुर गुरुङ र आश बहादुर गुरुङले विद्यालयका लागि डस्टबिनका रुपमा प्रयोग गर्न डोको बनाइदिनु भएको छ ।’

प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयबाट अभिभावकलाई सामान्य खाजाखर्च मात्र उपलब्ध गराइएको छ । यसरी बाँसको डोकोलाई डस्टबिनका रुपमा प्रयोग गर्दा प्लाष्टिकजन्य वस्तुको प्रयोग हटेको छ । उनले भने, ‘प्लाष्टिकजन्य वस्तुको प्रयोग नगरी वातावरणमैत्री स्थानीय स्तरमै पाइने वस्तुको प्रयोग गर्दा आर्थिक भार पनि कम भएको छ ।’

प्लाष्टिकको डस्टबिनभन्दा बाँसको डस्टबिन बढी टिकाउ र विद्यालयमा उपयुक्त पनि भएको गणित विषयका शिक्षक विकास गुरुङले बताए । ‘२/३ सय रुपैयाँ खर्चेर प्लाष्टिकको डस्टबिन ल्यायो, केही समयमै फुटेर पटकपटक फेर्नुपर्थ्यो’, उनले भने, ‘डोको प्रयोग गर्दा विद्यार्थीहरुलाई गाउँघरमै पाइने यस्ता वस्तुको प्रयोग गरी कसरी लाभ लिन सकिन्छ र वातावरणमैत्री क्रियाकलापका विषयमा पनि सिकाउन सहज भएको छ ।’

यस्तै, शिक्षकहरुले विद्यार्थीलाई सामाजिक कार्यमा कसरी सहभागी बनाउन सकिन्छ भन्ने शिक्षा दिन आफैंले विद्यालय भवनका जीर्ण भर्‍याङ, ढोका, भवनका भित्ता, खेलमैदान सरसफाई, मर्मतसुधार तथा रङ्गरोगन पनि गर्दै आएका छन् । प्रधानाध्यापक गुरुङले भने, ‘बिदाको समयमा हामीले विद्यालयको भौतिक संरचनाको रेखदेख गर्दै आएका छौं । गत फागुनको पहिलो हप्ता जीर्ण बन्दै गएको भर्‍याङ सरसफाई गरी सिमेन्ट लगाएर प्लास्टर गर्‍यौं र विद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा कसरी सहभागिता जनाउन सकिन्छ भन्ने जानकारी पनि गरायौं ।’

आँबुखैरेनी गाउँपालिकाको विकट क्षेत्रमा रहेको यस विद्यालयमा विशेषगरी जनजाति समुदायका करिब १३२ जना विद्यार्थी अध्ययनरत छन् । यीमध्ये अधिकांश विद्यार्थीहरु डेढ/दुई घण्टा हिँडेर विद्यालय आउनेजाने गर्छन् ।

विद्यार्थीहरु घण्टौं समय खर्चा गरी विद्यालय आउजाउ गर्नुपर्ने भएपछि आँबुखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रबाट विद्यालयमा स्कुल बसको व्यवस्थापन गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘ग्रामीण क्षेत्रको यो विद्यालयमा विद्यार्थीहरु घण्टौं खर्चिएर अध्ययन गर्न जाने गरेको हुँदा उनीहरुको शिक्षामा सहज पहुँच पुर्‍याउने उद्देश्यले विद्यालय बसको अवधारण अगाडि ल्याएका छौं’, उनले भने, ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको छ ।’

प्रकाशित : चैत्र ४, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दल एकै ठाउँमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता साझेदार १० दलबीच आइतबार संघीय संसद्‌मा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको १० दलका शीर्ष नेताहरुको बैठकले संसद्मा प्रस्तुत गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको हो । यस्तै प्रतिनिधिसभामा सोमबार सरकारले विश्वासको मत लिने कार्यक्रम छ । त्यसका लागि पनि १० दल एकै ठाउँमा उभिने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

एमाले, राप्रपालगायत पार्टीले समर्थन फिर्ता लिएपछि दाहालले पुन: विश्वासको मत लिन लागेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

शनिबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत छन् ।

प्रकाशित : चैत्र ४, २०७९ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×