कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकी करिडोर : पर्वत खण्डमा ट्य्राक खोल्नै सकस

२ वर्षभित्रै कालोपत्र सकिने दाबीसहित शिलान्यास गरिएको खण्डमा नै खुलेको छैन ट्य्राक
अगन्धर तिवारी

पर्वत — दुई वर्षअघि २०७७ फागुन १६ मा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धुमधामका साथ फलेवास–६ देवीस्थानस्थित ढिकमा आयोजित कार्यक्रममा कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको सडक कालोपत्रको सुरुवात गरे ।

कालीगण्डकी करिडोर : पर्वत खण्डमा ट्य्राक खोल्नै सकस

पर्वत खण्ड २ वर्षभित्रै कालोपत्र सकिने दाबी गरेका तिमिल्सिनाले शिलान्यास गरेको सोही खण्डमा हालसम्म ट्र्याकसमेत पूरै खुलेको छैन । तत्कालीन आयोजनाप्रमुख सुबोध देवकोटाले पर्वत खण्डको काम दुई वर्षभित्रै सक्ने दाबी गरेका थिए ।

तर तिमिल्सिना र देवकोटाले घोषणा गरेको समयसीमा सकिँदासम्म उक्त खण्डमा मापदण्डअनुसारको ट्र्याकसमेत खुल्न सकेको छैन । दक्षिण पर्वतकै लाइफलाइन रहेको उक्त खण्डको ट्र्याकसमेत नखुल्दा जिल्लाका ४ पालिकावासीलाई कुश्मा हुँदै अन्यत्र पुग्न निकै सकस हुने गरेको छ ।

शिलान्यास कार्यक्रममै भेला भएका स्थानीय जानकारले समेत बजेटको सुनिश्चिततासमेत नभई सडक शिलान्यासको जात्रा गरेको भन्दै टिप्पणी गरेका थिए । उक्त टिप्पणीको उत्तिबेलै तत्कालीन सत्तापक्षीय राजनीतिक नेतृत्व र आयोजना प्रमुखले खण्डन गरेका थिए । तर शिलान्यास गरेको सडकको करिब १५ किलोमिटर खण्डको ट्र्याक अझै पनि पूरा भएको भने छैन ।

आयोजनाको गैंडाकोट–रामदी–मालढुंगा सडकको पाल्पास्थित कार्यालयका प्रमुख शंकर पौडेलका अनुसार पर्वतको फलेवास ढिक–अर्मादी खण्डको ट्र्याकसमेत मापदण्डअनुसार खुल्न सकेको छैन । ‘अहिले भइरहेको काम ट्र्याक ओपनको मात्रै हो,’ उनले भने, ‘त्यो सकिएपछि कालोपत्रको डीपीआर गर्ने, बजेटको व्यवस्था गर्ने काम अघि बढ्छ ।’

उक्त सडकको सबैभन्दा जटिल मानिएको मुडिकुवा–अर्मादी खण्डको ट्र्याक ९ मिटर चौडा हुनुपर्ने हो । तर, हालसम्म मुस्किलले एकतर्फी सवारी आउजाउ गर्न मिल्ने बनेको छ । २ वर्षअघि ट्र्याक खुलाउने क्रममा कुश्मा–५ मोदीवेणीघाट नजिकै कालीगण्डकी नदी किनारमा एक्स्जाभेटर खसेपछि ट्र्याक खुलाउने काम डेढ वर्ष रोकियो । सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्र्याक गएको केही महिनायता खुलाउने काम भइरहेको छ । ट्र्याक खुलाउने जिम्मा लिएका व्यवसायी दीपक रैसवालका अनुसार अब केही प्रतिशत काम बाँकी छ । ‘हामीले कठिन काम सकिसकेका छौं,’ उनले भने, ‘यतिबेला मुडिकुवातर्फको काम भइरहेको छ । माथिबाट ढुंगा खसेर केही अवरोध गर्‍यो । केही दिनमै हामीले मापदण्डअनुसारको काम सक्ने तयारीमा छौं ।’

आयोजना कार्यालयले भने चालु वर्ष ढिक–अर्मादीको १४ किलोमिटरबाहेक पर्वत खण्डमा पर्ने २८ किलोमिटर सडक कालोपत्र सकिने दाबी गरेको छ । ‘अब बल्ल कालोपत्रको मौसम सुरु भयो,’ आयोजना प्रमुख पौडेलले भने, ‘अरू फाउन्डेसन तयार गर्दा कालोपत्रको काम रोकिएको हो । असारभित्रै कुर्घासम्मको काम सकिन्छ ।’ ढिक–अर्मादीको १४ किलोमिटर सडकको ट्र्याकको मापदण्ड पूरा भएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनलगायत काम सकेर बजेट माग गरिने आयोजना कार्यालयले जनाएको छ ।

उक्त काम आगामी वर्ष मात्रै सुरु हुने पौडेलले बताए । फलेवास खण्डमा रोकिएको काम अघि बढाउन आयोजना प्रमुख र व्यवसायीलाई पटकपटक आग्रह गरिएको फलेवासका नगरप्रमुख गंगाधर तिवारीले बताए । ‘अन्यत्रको काम सकिएर फलेवासकै मुख्य क्षेत्रको काम रोकिनुले फलेवासवासीकै अपमान भएको छ,’ उनले भने, ‘मैले यस विषयमा सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख, व्यवसायी सबैलाई घचघच्याएको छु ।’

पर्वतका मुख्य बस्ती समेट्ने यो सडकले दक्षिणका एक नगरपालिका र ३ गाउँपालिकाको बस्ती जोड्छ । २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै रेखांकन गरिएको करिडोर ०६४ मा बाग्लुङ सरेको थियो । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बाग्लुङ पुर्‍याइएको भन्दै स्थानीयले विरोध गरेपछि करिडोरको पर्वतमा ‘कालीगण्डकी लोकमार्ग’ नामकरण गरी समानान्तर शाखा विस्तार गरिएको थियो ।

हाल उक्त सडकको बागलुङ र पर्वत खण्डलाई समान प्राथमिकताका साथ विस्तार गरिएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको पर्वतखण्डअन्तर्गत रोकिएको काम पूरा भए दक्षिण पर्वत पुग्ने दूरी करिब १५ किलोमिटर छोटिन्छ ।

प्रकाशित : चैत्र ४, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?