२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्थानीय जातका कुखुरा पालनमा किसान

फिक्कल (सिन्धुली) — फिक्कल गाउँपालिका-४ आलेगाउँकी लिलामाया मगरलाइ स्थानीय जातका कुखुरा स्याहारेर फुर्सद नै हुदैन । आम्दानी मनग्ये हुने भएपछि गोठमा कोठा बारेर स्थानीय जातका कुखुरा पालन गर्न उनी हौसिएकी छन् । कुखुराको चल्लालाई खोरबाट बाहिर निकाल्दा लाग्ने लाइन होस् वा चारो दिँदा हुने तछाड-मछाड, आफूलाई रमाइलो लाग्ने उनी बताउँछन्।

स्थानीय जातका कुखुरा पालनमा किसान

स्थानीय जातका (लोकल) कखुराको व्यवसायिक पालन गरेको लिलामायाको यो दोस्रो पटक हो । अघिल्लो पटकमा लगानीको दोव्बर आम्दानी लिएपछि उनले हौसिएर यतिखेर दोस्रो लटमा एकसय ५० चल्ला हालेकी छिन् । कखुरापालनमा उनलाई श्रीमान मीनबहादुर र सासु मैयाँले साथ दिएका छन् ।

'आम्दानी राम्रै भएर पहिला पालेको भन्दा ५० वटा थप गरेर चल्ला हालेकी छु,' उनले भनिन्, ‘पहिलो लटमा एकलाख ५० हजार जति आम्दानी भयो, दोस्रोमा के हुन्छ, हेरौं ।’ स्थानीय जातका कुखुरा उनको घरमा पहिला पनि हुन्थ्यो । तर बिक्रीको लागि हुँदैनथ्यो ।

'चाडबाड र कोसीपारे पुजामा सबै सकिन्थे । कुखुरा खोज्न आउनेलाई पनि बिक्रीमा छैन भनेर फर्काउनु पर्थ्यो,' लिलामायाले पुराना दिन सम्झिइन् । उनी आले गाउँकी महिला स्वयंसेविका पनि हुन् । उनले यसबारे तालिमनै लिएकी छन् । तालिमपछि लिलामाया लगायत आले गाउँका डेढ दर्जन किसानले व्यवसायिक स्थानीय जातका कुखुरा पालेका छन् । पहिलो लटको आम्दानीले ती किसानलाई कुखुरा पालनमा जाँगर पलाएको छ ।

गाउँभरि नै कुखुरा भएपछि बिक्रीको भने समस्या हुने गरेको लिलामायाको अनुभव रहृयो । यो गाउँमा कुखुरा पाइन्छ भनेर थाहा नहुँदा ग्राहक आएनन्, जिल्ला सदरमुकाम र काठमाडौं पुर्‍याएर विक्री गरियो, तिनै लिलामायाले दुखेसो पोखिन् । लिलामायाकी सासु मैंयाँ छोराबुहारीले कुखुरा हालेपछि दंग छिन् । बुढेसकालमा चारोपानी गरेपछि हुने कुखुरा स्याहार्न आफुलाई सुहाउँदो काम भएको उनले बताइन् ।

आले गाउँकै सिता रोक्काले ८० वटा स्थानीय जातका चल्ला हालेकी छिन् । पहिलो पटक ४० वटा पालन गरेकी रोक्काले यो पटक दोव्वर बनाइन् । आम्दानी हुने देखेर नै चल्ला थपेकी हुँ, उनले भनिन्, ‘खर्च कटाएर एकलाख लिन सकिन्छ की ।’ पहिलो पटकको कुखुरा विक्रीबाट उनले ५० हजार आम्दानी लिएकी थिइन् । स्थानीय जातका कुखुरा पालन गर्ने तालिम पाइयो, तर औषधि गर्न नजान्दा चल्लामा नै मर्ने गरेको रोक्काले दुखेसो पोखिन् । पशुसेवा कार्यालयबाट बेलाबेलामा आएर औषधिमुलो गरिदिए किसानलाई हौसला मिल्ने उनले सुझाइन् ।

मोटरबाटो भर्खरै पुगेको विकट आलेगाउँमा लोकल कुखुरा पाइन्छ भनेर प्रचार भएमा ग्राहक घरमै आउने उनीहरुको ठम्याइ छ । चारदेखि ६ महिना भित्रमा कुखुरा विक्री गर्न लायक हुने किसानहरु बताउँछन् ।

'चार महिनामा दुई किलोको हुन्छ,' अर्की किसान भोजकुमारी आलेमगरले भनिन् ,‘भाले सात सय रुपैंयाँ किलोमा जान्छ, पोथी ६ सयमा बिक्री हुन्छ ।बजारको दिन कखुरा च्यापेर गए भइगयो ।’ चल्लामा औषधिको व्यवस्थापन गर्न सके थप जाँगर चल्ने उनको भनाइ छ ।

अबको तीन महिनापछि आले गाउँमा विक्रीका लागि स्थानीय जातका दुइ हजारभन्दा बढी कुखुरा हुने भएकाले काडमाडौंका व्यापारीलाई नै सम्पर्क गर्न सके सहज हुने अर्का किसान अनिल मगरको भनाइ छ । संस्थाले तालिम दिएर पहिलो लटको चल्ला अनुदान दिएपछि कुखुरा पाल्न आफूहरुलाई प्रेरणा मिलेको उनले बताए ।

पोषण तथा उत्थान जीविकोपार्जन कार्यक्रम मार्फत आले गाउँमा स्थानीय जातका कुखुरा, बंगुर, खसीबाख्रा, गाइभैंसी किसानले पालन गरेका छन् । आलेगाउँको ६१ घर नै व्यवसायिक पशुपंक्षी पालनमा लागेको सिड्स नेपालका अध्यक्ष दिपक घिमिरे बताउँछन् । भन्छन्, ‘आम्दानीसँगै किसानहरुले समूह बनाएर बचत गर्न पनि थालेका छन् ।’

प्रकाशित : चैत्र १९, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x