कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारमा सहभागी भएपछि हानेपामा विवाद चर्कियो

हानेपाले वाग्मती प्रदेश सरकारमा मुख्यमन्त्री पाए मात्र सहभागी हुने अन्यथा प्रतिपक्षमै बस्ने निर्णय गरेको थियो । तर शैलेन्द्रमान बज्राचार्य पार्टीको निर्णयविरुद्ध मन्त्री बनेसँगै विवाद सतहमा आएको हो ।
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा सरकारमा सहभागी भएसँगै हाम्रो नेपाली पार्टी (हानेपा) मा विवाद चर्किएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्ने प्रतिबद्धतासहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेसँगै पार्टीभित्र विवाद उत्पन्न भएको हो ।

सरकारमा सहभागी भएपछि हानेपामा विवाद चर्कियो

हानेपाले वाग्मती प्रदेश सरकारमा मुख्यमन्त्री पाए मात्र सहभागी हुने अन्यथा प्रतिपक्षमै बस्ने निर्णय गरेको थियो । तर, हानेपाका नेता बज्राचार्यले पार्टीको निर्णयविरुद्ध सरकारमा सहभागी भएर मन्त्री बनेसँगै विवाद सतहमा आएको हो ।

सदनमा निर्णायक मतमा रहेका हानेपा सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले पुनः बहुमत प्राप्त गरेको थियो । । मंगलबारमात्र यस दलले हालको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको थियो । जसका कारण वर्तमान माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको थियो । एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएसँगै वाग्मतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । हानेपासँग दुई सांसद रहेका छन् ।

शुक्रबार हानेपाका अध्यक्ष अनन्तराज घिमिरेले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफ्नो सांसदलाई कारबाहीको चेतावनी दिएका छन् । ‘एमाले र माओवादीले हाम्रो सांसदलाई राजनीतिक रूपमा अपहरण गरेर मन्त्री बनाएका छन् । यो सरकारलाई हामीले समर्थन गरेका छैनौं । हाम्रो सांसद हाम्रो सम्पर्कमा हुनुहुन्न,’ उनले भने । सरकारलाई आफ्नो पार्टीले विश्वासको मत नदिने घिमिरेको भनाइ छ । मुख्यमन्त्री जम्कट्टेल छिट्टै नै विश्वासको मत लिने तयारीमा छन् ।

घिमिरेले आफ्नो पार्टीका दुई सांसदमध्ये एक जना नियमित सम्पर्कमा रहेको र बज्राचार्य मात्र सम्पर्कविहीन भएर बसिरहेको बताए । ‘हाम्रो दलको चैत ३ र ३ गतेको केन्द्रीय समितिले गरेको निर्णयअनुसार सरकारमा सहभागी नहुने भएका हौं । दलको निर्णयभन्दा माथि सांसद हुँदैनन्, ’ उनले भने । सांसद बज्राचार्यलाई कारबाहीका लागि कानुनी परामर्श लिइरहेको उनको भनाइ छ ।

गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ । वाग्मतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हानेपाको समर्थन सरकारलाई आवश्यक परेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । राप्रपा र नेमकिपा सरकारमा सहभागी नहुने प्रस्ट पारिसकेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र १६, २०८० ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?